४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

अमेरिका–उत्तर कोरिया वार्ता सफल होस् : चिनियाँ राष्ट्रपति

बेइजिङ – चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेकोे वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गरेका छन्।

उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्नपनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेको समाचारमा जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो।

उनले भने– “आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल होस् र आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुन सकोस्।” राष्ट्रपति जिनपिङले सो धारणा चीन पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग मङ्गलबार राखेका हुन्। दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ सोमबार चीन पुगेका छन्। हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका चुङ दक्षिण कोरियाली विशेषदूतका रुपमा गएको बिहीबार अमेरिका पुगेको प्राप्त समाचारमा जनाइएको थियो।

उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए। उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपतिको सन्देश बोकेर अमेरिका पगेका उनी सोही प्रयोजनका लागि चीन पुगेका छन्।

उनले चिनियाँ राष्ट्रपति जिनपिङलाई भेटेर यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको भेटवार्ताका बारेमा जानकारी गराएका थिए। सो जानकारीपछि चिनियाँ राष्ट्रपति जिनपिङले अमेरिका र उत्तर कोरियाबीचको वार्ता सौहार्द होस् भनी कामना गरेका हुन्। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुनसक्ने सम्भावना रहेको हालै बताएका थिए।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताएका थिए।
साथै उनले सो वार्ताका लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग कुराकानी गरेर उनीहरुको पनि समर्थन र सहयोग लिन चाहेको खुलासा गरेका थिए।

समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ। वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको पनि बताइएको छ।

राष्ट्रपति जिनपिङले चीन पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर कामगर्न लागिपर्ने धारणा पनि राखेका थिए। उनले चीन पहिलेदेखि नै कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण रुपमा वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको र वार्तालाई सधैँ समर्थन गर्ने धारणा पनि राख्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ।    

प्रकाशित: २९ फाल्गुन २०७४ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App