८ वैशाख २०८१ शनिबार
समाज

भारतीय हस्तक्षेप रोक्न सीमामा नेपाली सेनाको गस्ती

भारतले महाकाली नदीमा नेपालको अनुमतिविनै जबरजस्ती निर्माण गरेको काठेपुल र गस्तीमा जाँदै नेपाली सेना।

दार्चुला– केही साताअघि भारतीय पक्षबाट सीमा नदी  महाकालीमा काठेपुल बनाएको र नेपाली भुमि भएर डोजर ढुवानी गरेको घटना सार्वजनिक भएपछि त्यसलाई रोक्न नेपाली सेनाले सीमा क्षेत्रमा गस्ती थालेको छ।

दार्चुला सदरमुकाम खलंगास्थित नेपाली सेनाको दुर्गादल गुल्मबाट सेनाको टोली सीमा क्षेत्रमै गस्ती गर्न निस्केको हो। सोमबार बिहान आवश्यक  बन्दोबस्तीका सामानसहित सेनाको टोली महाकाली तटीय क्षेत्र  भएर उत्तरतर्फ  गइरहेको  स्थानीयले बताएका छन्।

सीमा क्षेत्रमा छिमेकी पक्षका गतिविधी बढेको समाचार सार्वजनिक भएपछि सेनाले यस क्षेत्रको स्थलगत सुरक्षा गस्ती गर्न लागेको जिल्लास्थित सुरक्षा स्रोतले बतायो। राष्ट्रिय सञ्चारमाध्यममा महत्वका साथ सीमामा भारतीय पक्षबाट भएको संरचना निर्माणको खबर आएपछि नेपाली सेनाको समेत ध्यानाकर्षण भएको प्रतिक्रिया स्वरुप रहेको आम बुझाई छ। दार्चुलाको उत्तरी सीमामा भारतीय पक्षले बिना अनुमति भौतिक संरचना बनाएको  खबर सार्वजनिक भाएसंगै जिल्लास्थित नेपाली सेनाको गुल्मलाई माथिल्लो सैनिक तहबाट तत्काल सीमाक्षेत्रमा गस्ती गर्न निर्देशन आएको सुरक्षा स्रोतको भनाई छ। सुरक्षा स्रोतका अनुसार अधिकृतस्तरका कमाण्डरको नेतृत्वमा सेनाको टोली महाकाली नदी किनार क्षेत्रमा गस्तीमा निस्किएको छ। सेनाको करिब ५० जनाको टोली व्यास क्षेत्रको त्रिदेशीय सीमासम्म गस्ती गर्न निस्केको हो। सेनाको नियमित कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा आफ्नो भुभागमा गस्ती कार्यक्रम हुने भएकोले पछिल्लो समय सीमामा केही गातिविधी भइरहेका सूचनाका आधारमा  हतियार र आवश्यक सामानसहित सेनाको टोली सदरमुकामबाट उत्तरतर्फ गएको बुझिएको छ।

नेपाली सेनाको टोलीले सीमाक्षेत्रमा गस्ती गर्नु सान्दर्भिक र महत्वपूर्ण पक्ष भएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताए। ‘भारतीय पक्षबाट एकतर्फी संरचना बनाएको बेला नेपाली सेनाले गस्ती गर्नु धेरै राम्रो हो’ उनले भने, ‘यसले मातृभूमिप्रति श्रद्धा र प्रेम भएका सबैलाई हौसला दिएको छ।’

सैनिक  स्रोतका अनुसार प्रत्येक वर्ष नेपाली सेनाले सीमा क्षेत्रमा लामो गस्ती गर्ने गरेको छ। गत वर्ष पनि चैत महिनाको मध्यतिर सेनाले व्यास क्षेत्रमा गस्ती गरेको थियो। गएको वर्ष गस्तीमा निस्केको सेनाको टोलीमा एक जना सुरक्षाकर्मी विरामी परेपछि कुन्तीसाउ क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। कुन्तिसाउभन्दा अगाडि हिमपातका कारण हिँड्न समस्या भएपछि सेनाको टोली फर्किएको थियो। दुई वर्षअघि भने नेपाली सेनाको टोली व्यासको छाङरु हुँदै तिंकरसम्म पुगेको थियो। आवश्यक बस्दोवस्तीका सामान र हतियारसहित सेनाको टोलीले सीमाक्षेत्रमा बर्सेनी गस्ती गर्दै आएको सुरक्षा स्रोतले बतायो। यसपटकको गस्ती टोली पनि व्यास क्षेत्रसम्म पुग्ने अनुमान छ। सेनाको टोली कम्तीमा पनि हालै भारतले बनाएका काठेपुल र सडक भएको क्षेत्रमा पुग्ने छ। 

सीमा क्षेत्रमा भारतले एकतर्फी संरचना बनाएको विषयले चर्चा पाइरहेका बेला नेपाली सेनाले गस्ती गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। दार्चुलाको उत्तरी ब्यांस गांउपालिकाको भारतीय सीमा क्षेत्रमा विगतदेखि नै सधै अनेक समस्याहरु उत्पन्न हुँदै आएका थिए। सीमा समस्याको विकराल रुप कालापानीदेखि लिपुलेक सीमासम्म अतिक्रमण भएको यस क्षेत्रमा हमेशा भारतीय पक्षको दबदवा रहँदै आएको गुनासो सुनिन्छ। नेपालको भुभागमा भारतीय पक्षले आफु अनुकुलका गतिविधिहरु संचालन गरिरहेको अवस्थामा नेपाली सेनाको क्रियाशीलताले सीमामा भारतले एकतर्फी रुपमा अन्तराष्ट्रिय मुल्य मान्यता विपरितका गतिविधिहरु अंकुश तथा त्यस क्षेत्रमा राज्यको उपस्थिति समेत देखिने  विश्लेषण रहेको छ। सीमामा भारतीय पक्षको दोहन रोक्नका लागी न त यस क्षेत्रमा कसैको बसोबास रहेको छ न त सुरक्षा निकायको उपस्थिति नै  नभएको अवस्थामा सेनाको गस्तीको राम्रै प्रभाव देखिने छ। 

हाल दार्चुलाको उत्तरी सिमानामा कुनै पनि सुरक्षा निकायको उपस्थिति रहेको छैन। ब्यांस गांउपालिका २ दुम्लिगं सम्म नेपाल प्रहरीको उपस्थिति रहेको छ। भौगोलिक विकटता र पुर्वाधार अभावमा नेपाल प्रहरीको तिंकर र सीतापुलमा रहेको चौकी दुम्लिङमा सारिएको छ। तिंकर र सीतापुलको चौकी हिउंदमा हिमपातका कारण बस्न नसकिने भएकोले गर्मी याममा मात्रै सो क्षेत्रमा प्रहरी चौकी रहने गरेको छ। उक्त क्षेत्रमा वर्षभरी प्रहरीको उपस्थितिको  भौतिक पुर्वाधारको अभाव  साथै बन्दोबस्ती सामग्रीको समेत अभाव हुने गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App