४ वैशाख २०८१ मंगलबार
समाज

‘रुममेट’ गुमाएको पीडा कसरी भनौं ?

पोखरा – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार भएको युएस बांगला एयरवेजको विमान दुर्घटनामा बंगलादेशमा एमबिबिएस अध्ययन सकेर फर्केका विद्यार्थी पनि परे । तीमध्ये केहीको मृत्यु भयो भने अरु घाइते भएर उपचाररत छन्। एमबिबिएसको अन्तिम परीक्षा सकेर घर फर्केका विद्यार्थीको मृत्युको शोकमा ती अध्ययनरत कलेजमा तीन दिन पठनपाठन बन्द गरिएको छ। 
दुर्घटनामा परेका विद्यार्थी बंगलादेशको सिलेट सहरस्थित जललावाद राजीव रबेया मेडिकल कलेजमा अध्ययनरत थिए। कलेजका १३ विद्यार्थी एमबिबिएस अध्ययन सकेर दुईमहिने बिदामा घर फर्कंदै थिए । बिदापछि कलेज फर्केर एकवर्षे इन्टर्नसिप गर्ने विद्यार्थीको तालिका थियो । पाँच वर्षभन्दा बढी समय एउटै कोठामा बसेको साथी गुमाउनुपर्दा मन थाम्नै गाह्रो भएको विद्यार्थी सुवास आचार्यले बताए। 

‘पाँच वर्ष सँगै पढ्यौं, खायौं अनि खेल्यौं, एउटै कोठामा बस्यौं । आज त्यो साथी गुमाउनुपर्दाको पीडा म कसरी भनौं ?’, आचार्यले भने, ‘पढाइ सकेर घर फर्किंदै गर्दा जुन घटना भयो, यसले हामी सबैलाई रुवाएको छ ।’ उनले साथीहरुलाई कलेजबाट केही दूरीसम्म सँगै गई बिदाइ गरेर पठाएको पनि बताए। ‘हामीले सुखद यात्राको कामना गरेर बिदा गरेका थियौं तर साथीहरुको यात्रा पूरा हुन सकेन,’ आचार्यले भने । आचार्यले आफू बुधबार नेपाल आउने तयारीमा रहेको जानकारी दिए।

पाँचवर्षे मेहनत सकेर निकै खुसीका साथ घर फर्किंदै गर्दा दुर्घटनामा सहपाठी परेपछि कलेज परिवार शोकमा डुबेको विद्यार्थीको भनाइ छ । ‘कलेज परिवार शोकमा छ,’ त्यही कलेजमा अध्ययनरत विराटनगका रञ्जीत सिंहले भने । सिंहका अनुसार विद्यार्थी दुर्घटनामा परेपछि कलेजले तीन दिनका लागि पठनपाठन बन्द गरेको छ। ‘बिहानै कलेज प्रशासनले तीन दिनका लागि बिदा गरेको भन्दै होस्टलमा सूचना पठाएको थियो,’ उनले भने, ‘पढ्न सक्ने अवस्थामा कोही छैन । नेपाली विद्यार्थी सबै शोकमा छन् । हामी पनि पढ्न सक्ने अवस्थामा छैनौ ।’ उनका अनुसार मंगलबार पनि अरु विद्यार्थी घर फर्कने तयारीमा थिए । उनीहरु यात्रा रद्द गरेर कलेजमै बसेका छन् । ‘दाइ–दिदीहरु फर्किंदै हुनुहुन्थ्यो तर जान मान्नुभएन। सबैजना होस्टलमै छन्,’ सिंहले भने। 

उनका अनुसार सोमबारको दुर्घटनामा सहपाठी गुमाएको पीडाले रातभर कोही निदाउन सकेनन् । केहीले त बेलुकी खानासमेत खाएनन्। ‘पाँच वर्षदेखि सँगै पढेका साथीको समूह गुमाउनुपर्दा सबैजना निराश छन्,’ उनले भने । उनका अनुसार त्यस कलेजमा ३ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । सबै एमबिबिएस अध्ययन गर्न गुगेका हुन्।

त्यही कलेजका अर्का विद्यार्थी विराटनगरका शशी यादवका अनुसार एमबिबिएस सकेका विद्यार्थी निकै खुसी भई घर फर्कंदै थिए। ‘पाँच वर्षको मेहनत सकेर दाइ, दिदीहरु निकै  खुसीका साथ घर फर्किंदै थिए । पाँच वर्षको कठिन अध्ययन सक्नु सबैका लागि खुसीको विषय थियो,’ उनले भने, ‘तर अब उनीहरुका परिवारले त्यो खुसी देख्न नपाउने भए। परिवारले पनि छोराछोरीको पाँच वर्षपछिको खुसी देख्न नपाउने भए।’

पाँच वर्षको कोर्स सकेका उनीहरु झन्डै दुई महिनापछि कलेज फर्किने योजनामा थिए । त्यसपछि एक वर्षको इन्टर्नसिप गर्नुपर्ने तालिका थियो। ‘घर फर्किनुभन्दा अघिल्लो दिन नै दाइ–दिदीहरुसँग भेट भएको थियो । तर होस्टलबाट निस्कने बेला हामी कक्षामा भएकाले बिदाइको हात हल्लाउन पाएनाैँ,’ यादवले भने, ‘तर अब कहिल्यै भेट नहुने भयो।’ यावदका अनुसार होस्टलबाट जहाज चढ्न ढाका पुग्नुपर्छ । सिलेटबाट ढाका पुग्न करिब ६ घण्टा गाडीमा यात्रा गर्नुपर्छ।

अझै घरमा पुगेको छैन प्रस्ट खबर
विमान दुर्घटनामा परेका पोखराका सञ्जय पौडेलको घरमा अझै सबै जानकारी पुगिसकेको छैन। सञ्जयका मामा महेश्वर पराजुलीका अनुसार छोरा सञ्जयको अवस्थाका बारेमा पोखरा जरेबरस्थित घरमा आमालाई पूर्ण जानकारी दिइएको छैन । जरेबरस्थित घरमा अहिले आमा र केही आफन्तमात्र छन् । छोराको बारेमा घरमा थाहा नहोस् भनेर छिमेकीसमेत पुगेका छैनन । आमालाई छोरा दुर्घटनामा परेको भन्ने मात्र जानकारी परिवारका अरु सदस्यले दिएका छन्। छिमेकीहरु पनि त्यसबारेमा खुलेका छैनन । घरभन्दा वरै बसेर छिमेकीले कुराकानी गरे पनि घरमा खबर पुर्याएका छैनन्।

बुबा दामोदर छोरा दुर्घटनामा परेपछि काठमाडौं गएका छन्। ‘भान्जा निकै नै सज्जन थिए। कसैलाई कहिल्यै पिरेनन,’ मामा पराजुलीले भने । पराजुलीका अनुसार पौडेल परिवार कास्कीकै धिताल गाउँका हुन्। अहिले उनीहरु पोखरामा बस्दै आएका थिए । बुबा दामोदर लेकसाइडमा ट्रेकिङका सामानको व्यापार गर्छन् । पौडेल परिवारमा दुई छोरी र एक छोरा थिए। जेठी छोरी सजनी विवाहपछि जापान थिइन् । सजनीपछिका सञ्जय हुन् । कान्छी छोरी अञ्जली पनि दाजुलाई लिन काठमाडौं पुगेकी थिइन्। भाइ पढाइ सकेर घर फर्किन थालेको भन्दै दिदी सजनी र भिनाजु अनिल पनि जापानबाटै नेपाल आउँदै थिए। 

‘जापानबाट दिदीभिनाजु, पोखराबाट बहिनी र बंगलादेशबाट सञ्जय आएपछि काठमाडौंमा भेटेर पोखरा घर पुग्ने योजना थियो,’ मामा पराजुलीले भने, ‘तर सञ्जय दुर्घटनामा परेपछि सबै योजना विफल बनेका छन् ।’ सञ्जयको अवस्थाबारेमा घरमा रहेकी आमालाई जानकारी नदिएको पनि उनले बताए । ‘अस्पतालले हामीसँग परिवारको विवरण मागेको छ, भान्जाको अवस्थाबारे केही बोलेको छैन,’ उनले भने।

प्रकाशित: ३० फाल्गुन २०७४ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App