७ वैशाख २०८१ शुक्रबार
समाज

धेरै हराउँछन्, थोरै भेटिन्छन्

काठमाडौं- काठमाडौं विश्वविद्यालयमा स्टाफ नर्स पढ्दै गरेकी प्रवीणा सेन २०६९ मंसिर ३ गते सधैंझैं कक्षा सकेर काठमाडौं आउन बस चढिन्। तर, घर पुगिनन्। परिवारले तत्काल प्रहरीमा खबर गर्‍यो। प्रहरीको आधिकारिक वेबसाइटमा उनी चार वर्षदेखि बेपत्ताकै सूचीमा छिन्।

दाङबाट २०६७ सालमा हराएका शरद केसी (१५) र २०६८ मा नेपालगन्जबाट हराएका सुरेशसिंह ठकुरी (१३) अझै घर फर्किएका छैनन्। परिवारलाई उनीहरूको अत्तोपत्तो छैन।

यी त प्रतिनिधि नाम मात्र हुन्। प्रहरीको बेपत्ता सूचीमा यस्ता हजारौं बालबालिका, युवा, प्रौढ र वृद्ध छन्, जो वर्षौं प्रयास गर्दा पनि फेला पर्न सकेका छैनन्। हराउनेहरूको सूची बर्सेनि थपिँदै जाँदा भेटिएका घटना भने विरलै छन्।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार यस वर्ष वैश्ााखदेखि असारसम्म हराएका व्यक्ति खोजी गरिदिन भन्दै २ हजार ६३ उजुरी परेका छन्। तिनमा सबैभन्दा बढी महिला १ हजार २ सय २२, पुरुष ३ सय ७१, बालक १ सय ८७ र बालिका २ सय ८३ छन्। यीमध्ये जम्मा ५ सय ३६ जना फेला परेका छन्। जसमा ८४ पुरुष, २ सय ७० महिला, ८३ बालक र ९९ बालिका छन्।

प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गत हराएका व्यक्ति खोज्न छुट्टै शाखा नै तोकिएको छ तर भेटिनेको संख्या हराउनेको तुलनामा असाध्यै न्यून छ।

मान्छे हराएको निवेदन पर्नासाथ प्रहरीले देशभरका एकाइमा हुलिया र सम्भव भएसम्म फोटोसहित सर्कुलर गर्छ। सीमावर्ती नाकामा कडाइसाथ चेकजाँच हुन्छ। परिवारको सूचनाका आधारमा सम्बन्धित व्यक्ति जान सक्ने वा कसैले लैजान सक्ने स्थानमा खोजतलास गरिन्छ। प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गत हराएका व्यक्ति खोज्न छुट्टै शाखा नै तोकिएको छ। तर, भेटिने व्यक्तिको संख्या हराएकाको तुलनामा असाध्यै न्यून छ।

विभागका प्रमुख अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा मान्छे हराएको निवेदनपछि यथासम्भव खोजीमा जुटे पनि हराउनुको कारण र यससँग जोडिएका व्यक्ति, समूह र ध्येय अझै अनुसन्धानमै रहेको बताउँछन् । उनका अनुसार हराएको निवेदन दिने तर भेटिएपछि खबर नगर्ने परिपाटीले पनि समस्या छ।

'प्राविधिक पहुँचको कमी छ, हामी त्यसमा काम गर्दै छौं, हराउनुका पछाडि रहेका धेरै सम्भावना रहेको यथार्थ नकार्न सकिँदैन,' एआइजी शर्माले नागरिकसँग भने।

बालबालिका तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोह, भारतमा सञ्चालित अवैध वेश्यालय र यौनका लागि बँधुवा मजदुर तथा अंगप्रत्यारोपण पनि व्यक्ति हराउनुका कारण हुन सक्ने शर्माले औंल्याए। 'त्यस्ता घटना प्रहरीसम्म आएका त छैनन् तर मान्छे हराउनुका पछाडि यी कारण नहोलान् भन्न सकिँदैन,' उनले भने, 'सबैमा समान सम्भावना छ।'

गत वर्ष कात्तिकदेखि पुससम्म देशभरबाट हराएका १ हजार २ सय ८३ जनामध्ये महिला ८ सय १७, पुरुष १ सय ९१, बालक १ सय २० र बालिका १ सय ६० छन्। तीमध्ये ६१ पुरुष, १ सय ३३ महिला, ३३ बालक र २ सय ६७ बालिका मात्र पेला परेका छन्।

यस्तै माघदेखि चैतसम्म १ हजार ३ सय १० जना हराएको निवेदन प्रहरीमा छ। यो अवधिमा ७ सय ५६ महिला, २ सय ५४ पुरुष, १ सय ५१ बालक र १सय ५८ बालिका हराएका हुन्।

प्रहरी अधिकारीले एकाध घटनामा बालबालिकाको तस्करी हुने गरेको सूचना पाए पनि अनुसन्धान गहिराइसम्म पुग्न सकेको छैन। प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार हराएका व्यक्तिको खोजतलासमा देखिएको नैराश्यका कारण बर्सेनि संख्या थपिँदो छ।

'महिला र बालबालिका हराएका घटनामा अझ लामो अनुसन्धानको खाँचो छ, हामीले कुरा उठे मात्र तदारुकता देखाउने गरेका छौं,' उनले भने,  'अब केही हुँदैछ भन्ने बुझेको छु।'

भूकम्पपछि झन् तीव्र

गत वर्षको विनाशकारी भूकम्पपछि हराउने बालबालिकाको संख्या बढेको प्रहरी तथ्यांकले देखाउँछ। यो अवधिमा प्रहरीले भारत लैजाँदै गरिएका बालबालिकालाई उद्धार गर्नुका साथै संलग्नलाई पक्राउसमेत गरेको छ। यी घटनाले बालबालिका भारततर्फ तस्करी गरिँदै आएको तथ्य खुले पनि त्यसको प्रयोजन प्रहरीले पत्ता लगाउन सकेको छैन। केही समयअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाली बालबालिका युरोप, अमेरिका र ब्रिटेनमा बेचबिखन हुने गरेको तथ्य खुलाएपछि सरकारले कडाइ गरेको थियो। तर, गत वर्षको तथ्यांक हेर्दा नेपालमा बालबालिका तस्करी गर्ने समूह निकै सक्रिय रहेको संकेत मिल्छ।

प्रहरीको महिला तथा बालबालिका सेलकी उपरीक्षक दुर्गा सिंह नेपाली बालबालिका भारतीय श्रमबजारका लागि तस्करी हुने गरेको बताउँछिन्। 'महिलालाई झुक्याएर, फकाएर र प्रलोभनमा पारेर विदेशका यौनबजारसम्म पुर्‍याउने गरिएको पाइन्छ,' उनले भनिन्।

भेटिँदा पनि खबर गर्दैनन् आफन्त

उजुरीकर्ताले व्यक्ति भेटिएपछि प्रहरीलाई जानकारी नदिँदा हराएका व्यक्तिको तथ्यांक अद्यावधिक राख्न समस्या देखिएको छ। विभागको वेबसाइटमा हराएको सूचीमा रहेका केही व्यक्तिले अहिले परिवारको सम्पर्कमा आई घरजम गरेर बसिसकेको फेला परेको छ।

प्रहरी सूचीमा हराएको उल्लेख रहेका काठमाडौंका सन्देश खत्री अहिले परिवारसँग छन्। हराएको एक वर्षपछि गोठाटारको गान्धी उच्च माविमा अध्ययनरत अवस्थामा २०६९ मा परिवारले उनलाई फेला पार्‍यो। तर, परिवारले प्रहरीलाई खबर गरेन। सन्देश अहिले १२ कक्षाको परीक्षा दिएर बसेको सन्देशका पिता कृतिबहादुर खत्री बताउँछन्। छोरो अझै प्रहरी सूचीमा बेपत्ता नै रहेको सुनाउँदा उनले हाँस्दै भने, 'गल्ती भयो, भेटिएपछि जानकारी दिनुपर्ने...।'

गुल्मीबाट १३ वर्षकै उमेरमा हराएकी भवा श्रीश अहिले गुल्मीमै घरजम गरेर बसेकी छन्। पिता मोती श्रीशका अनुसार गाउँकै एक युवासँग भागेर भारत गएकी भवा उतै बिहे गरेर फर्किइन्। 'हराएको केही महिनापछि नै बिहे गरेको थाह भयो, अहिले घरजम गरेर गाउँमै बसेकी छ,' उनले भने।

एसपी सिंह एउटै व्यक्तिका निवेदन थुप्रै निवेदनमा दर्ता हुने, भेटिएपछि प्रहरीलाई खबर नगर्ने र प्रहरीले पनि सोधपुछ नगर्दा संख्या बढेको बताउँछिन्।

काठमाडौंबाट सबैभन्दा बढी

महिला र बालबालिका हराउने दर राजधानी उपत्यकामा सबैभन्दा बढी पाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको खोजतलास शाखाका अनुसार यस आर्थिक वर्षको सुरुमै ४५ वटा निवेदन दर्ता भएका छन्। परिसरमा गत वर्ष यस्ता आठ सयभन्दा बढी निवेदन परेका थिए।

प्रकाशित: ५ भाद्र २०७३ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App