८ वैशाख २०८१ शनिबार
खेल

प्रतिष्ठाको लडाइँले मारमा गोल्डकप

प्रतियोगिता गर्ने भनिएको नेपालगन्जस्थित महेन्द्र रंगशाला मैदान। तस्बिरः नागरिक

बाँके – नेपालगन्जमा शनिबारदेखि हुने भनिएको तेस्रो नेपालगन्ज गोल्डकप  फुटबल प्रतियोगिता खेल पदाधिकारीहरूको जुँगाको लडाइँका कारण तोकिएको समयमा नहुने भएको छ।

आयोजक बाँके जिल्ला फुटबल संघले तोकिएको समय शनिबारबाट प्रतियोगिता गर्ने निर्णय गरिसकेको छ । खेलाउने मैदानको अवस्थाका कारण समयमा हुन नसक्ने प्रतियोगिता सारिएको आधिकारिक घोषणा भने आयोजकले केही दिनमा गर्ने एक अधिकारीले नागरिकलाई जानकारी गराए।

तुलनात्मक रूपमा फुटबलमा कमजोर रहँदै आएको मध्य तथा सुदूर पश्चिममा यो खेलको लोकप्रियता बढाउँदै फुटबल संस्कार स्थापना गर्ने उद्देश्यमा नेपालगन्ज गोल्डकप सुरु भएको थियो । दुई पटक उद्देश्यमा सफलता हासिल गर्दै सम्पन्न भएको प्रतियोगिताको तेस्रो संस्करण विभिन्न अडचनका कारण हुन सकिरहेको छैन।

‘क्षेत्रीय खेलकुद विकास समितिले तयारी राम्ररी नगरेको भन्दै फुटबल संघलाई दोष लगाउँछ । फुटबल संघ क्षेत्रले सहयोगी भूमिका निर्वाह नगरेको सोच्छ । तर वास्तविकता क्षेत्र र फुटबल संघका पदाधकारीबीचको लडाइँले प्रतियोगिता प्रभावित गरेको हो।’

प्रतियोगिता निर्धारित समयमा गर्न नसक्नुमा मैदानलाई मुख्य कारण देखाइएको छ । नेपालगन्ज रंगशालाको मैदान ‘ए’ डिभिजन स्तरको प्रतियोगिता गर्न लायक नभएको भन्दै आयोजकले सार्ने निर्णय लिएको बताइएको छ।

‘मैदान सतहमा देखिएको समस्या हो । तर प्रतियोगिता सर्नुको मुख्य कारण खेलभित्रको राजनीति हो । यही राजनीतिका कारण आयोजकले समयमा मैदान बनाउन पाएन,’ मध्य पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा स्विकार्छन्, ‘नेतृत्व तहमा रहेका पदाधिकारीको व्यक्तिगत स्वार्थ टकराएका कारण प्रतियोगिता समयमा हुन नसकेको हो।’
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली र बाँके जिल्ला फुटबल संघको नेतृत्वबीचको द्वन्द्वबाट प्रतियोगिता प्रभावित भएको उनको भनाइ थियो।

‘क्षेत्रीय खेलकुद विकास समितिले तयारी राम्ररी नगरेको भन्दै फुटबल संघलाई दोष लगाउँछ । फुटबल संघ क्षेत्रले सहयोगी भूमिका निर्वाह नगरेको सोच्छ । तर वास्तविकता क्षेत्र र फुटबल संघका पदाधकारीबीचको लडाइँले प्रतियोगिता प्रभावित गरेको हो,’ थापा भन्छन्।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले व्यक्तिगत संलग्नता र सम्बन्धका आधारमा कुनै खेललाई काखा र कुनैलाई पाखा गरेको उनको आरोप थियो । ‘फुटबल क्षेत्रीय खेलकुद विकास समितिको कोपभाजनको सिकार भइरहेको छ । क्षेत्र सबै खेलको अभिभावक भएकाले सबैलाई समान र सहयोगी व्यवहार गर्नुपर्छ,’ उनले भने।

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओली आफूमाथिका आरोप निराधार भएको दाबी गर्दै फुटबल संघसँग कुनै समस्या नभएको बताउँछन् । ‘प्रतियोगिता गर्ने फुटबल संघले हो । हामीले आवश्यक सहयोग गर्ने हो । क्षेत्रसँग भएका पूर्वाधार र स्रोत उपलब्ध गराइसकेका छौं । हामीले प्रतियोगिताका लागि प्रायोजक खोज्ने र मैदानको तयारी गर्ने होइन । त्यो काम आयोजकको हो,’ ओलीले आक्रोश पोखे, ‘व्यक्तिगत आग्रह र पूर्वाग्रहका भरमा कसैले अमूर्त आरोप लगाउन पाइँदैन । क्षेत्रले कुन कुरामा सहयोग गरेन, त्यो फुटबल संघले भन्नुप¥यो । हामी सहयोग गर्न तयार छौं । बजार हल्लाको भरमा क्षेत्रीय खेलकुद विकास समितिमाथि आरोप लगाउनु सम्पूर्ण क्षेत्रको खेलकुदका लागि दुर्भाग्यजनक कुरा हो।’

जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही पनि व्यक्तिगत स्वार्थको कारण प्रतियोगिता प्रभावित भएको अस्वीकार गर्छन् । ‘क्षेत्रीय खेलकुद विकास समितिलाई बेवास्ता गरेर हामीले प्रतियोगिता गर्न खोजेको होइन । हामी उहाँहरूको नेतृत्व र संरक्षणमा काम गर्न तयार छांै । तर हामीलाई क्षेत्रबाट आवश्यक सहयोग भइरहेको छैन । क्षेत्रले हामीलाई मानसिक रूपमा तनाव दिएको छ,’ प्रतियोगिता गर्न नसक्नुमा मैदान मुख्य कारण भएको बताउने उनी भन्छन्, ‘प्रतियोगिता गर्नु हाम्रो मात्र दायित्व होइन । यो प्रतियोगिता सारा बाँकेबासीको प्रतिष्ठासँग जोडिएको छ । तर क्षेत्रले हामीलाई सधैं अप्ठयारो मात्र पार्न खोज्छ।’

प्रतियोगिताका लागि  बाँके जिल्ला फुटबल संघले क्षेत्रीय खेलकुद विकास समितिसँग मैदानका लागि दुई महिनाअघि अनुमति लिएको थियो । तर अर्को वर्ष नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुदको तयारीका लागि पूर्वाधार निर्माणमा व्यस्त भएको बहानामा क्षेत्रले बेलाबखत बाधा सिर्जना गरिरहेका कारण मैदान बनाउन नपाएको उनको गुनासो छ । तीन वर्षदेखि नेपालगन्ज गोल्डकप भइरहेको महेन्द्र रंगशालाको मैदान आठौं राष्ट्रिय खेलकुदको सम्भावित उद्घाटन स्थल हो।

अघिल्लो साता क्षेत्रीय खेलकुद विकास समितिले रंगशाला निर्माण सुरु गर्ने भन्दै दुई पटक डोजर पठाएर पर्खाल भत्काउन खोज्यो। तर स्थानीय बासिन्दाले गोल्डकप प्रतियोगितासम्म पर्खाल नभत्काउन दबाब दिएपछि क्षेत्रले पर्खाल भत्काउने काम रोकेको थियो।

‘प्रतियोगिताको दिन नजिकिँदै गर्दा आयोजक अन्तिम चरणको तयारीमा व्यस्त हुनुपर्ने थियो । तर फुटबल र क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारीले पर्खाल भत्काउने कि रोक्ने भन्ने लडाइँमै समय खर्चिए । जसको कारण मैदान तयारी पूरा हुन सकेन,’ नेपालगन्जका एक पाका खेलकर्मीले भने, ‘प्रतियोगिताको घोषित मिति आउन एक साता मात्र बाँकी रहँदा पनि मैदानमा हिँड्न समेत नमिल्ने गरी धुलो उड्छ । मैदानको सतह त झनै डरलाग्दो छ।’

रंगशालाको मैदानमा प्रतियोगिता गर्न नसक्ने भएपछि बाँके जिल्ला फुटबल संघ वैकल्पिक मैदानको खोजीमा छ । जसका लागि संघका अध्यक्ष शाहीको संयोजकत्वमा मैदान तयारी उपसमिति बनाइएको छ । केही दिनमै वैकल्पिक मैदान वा नयाँ मिति निर्णय गरेर सार्वजनिक गर्ने आयोजकको योजना रहेको बताइएको छ।

 


 

प्रकाशित: ३० फाल्गुन २०७४ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App