६ वैशाख २०८१ बिहीबार
अर्थ

नेपालगञ्ज रेलमार्ग सर्भे सुरु

भारतीय सर्भे कम्पनी आरके टेक्नोका इन्जिनियर सन्तोष त्रिपाटी (बायाँबाट दोस्रो) र दिनेश तिवारी बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीसँग (दाया) । तस्बिरः नागरिक

बाँके – भारतीय सहर रुपैडियादेखि कोहलपुरसम्म निर्माण गर्ने भनिएको नेपालगन्ज रेलमार्ग निर्माणको सर्भेको काम सुरु भएको छ । रेलमार्गको सर्भे गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी आरके टेक्नोले मंगलबार नेपालगन्जमा आएर सर्भेको काम सुरु गरेको हो। 

नेपालगन्ज आइपुगेको सर्भे टोलीले मंगलबार नेपाल सरकारका प्रतिनिधिसँग छलफल ग¥यो । फाइनल लोकेसन सर्भेको (एफएलस) जिम्मेवारी पाएको आरके टेक्नोका दुई इन्जिनियर नेपालगन्ज आएर सर्भेको सुरुआत गरेका छन् । उनीहरुसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागका एक इन्जिनियरले सर्भे टोलीसँगै काम गर्नेछन् । फाइनल सर्भेको काम सकिएपछि टोलीले प्रतिवेदन बुझाउने छ। 

अहिले भारतीय सर्भे टोलीले रुपैडियादेखि राझा एयरपोर्टसम्म बन्ने भनिएको रेलवे मार्गको सर्भे गर्ने जिम्मेवारी भारतीय कम्पनी आरके टेक्नोले पाएको छ। 

आरके टेक्नोका इन्जिनियर सन्तोष त्रिपाटी र दिनेश तिवारीले मंगलबार दिउँसो नेपालगन्ज आएर बाँकेका प्रमुख जिल्ला अधिकारी र नेपाल सरकारको तर्फबाट सर्भेमा सहयोग गर्न बनाएको टोलीसँग छलफल गरेका थिए। 

आरके टेक्नोका इन्जिनियर त्रिपाटीका अनुसार सर्भे टोलीले मंगलबारदेखि सम्भावित क्षेत्रबारे अध्ययन गर्न सुरु गरेको छ । १० देखि १२ दिनमा सर्भेको काम सकेर भारत र नेपाल सरकारलाई बुझाउने त्रिपाटीले बताए । आफूले पाएको जिम्मेवारी अनुसार सर्भे टोलीले फाइनल लेकेसन सर्भे (एफएलएस) गरेर दुवै देशका प्रतिनिधिलाई बुझाउने त्रिपाटीले नागरिकलाई जानकारी गराए । पहिलो चरणमा सर्भेको काम सकिएपछि दुई देशका अधिकारीबीच निर्माणबारे सम्झौता भएर काम अगाडि बढ्ने छ। 

नेपाल र भारत सरकारबीच नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पाँच स्थानमा क्रस बोर्डर रेलवे लिंक निर्माणका लागि भएको सम्झौताअनुसार सर्भेको सुरुआत भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए। 

केसीका अनुसार रुपैडिया हुँदै नेपालगन्जसम्म १२.८ किलोमिटर रेलमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने सम्झौता भएको थियो । सम्झौतामा आवश्यकताअनुसार दुई किलोमिटर बढ्न वा घट्न सक्ने सर्त उल्लेख गरिएको छ ।  
नेपालगन्ज रोड–नेपालगन्ज रेलमार्ग निर्माणको फाइनल लोकेसन सर्भे र डिपिआरको काम दुवै देशका प्रतिनिधिले गर्ने बताइएको छ। 

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमणमा गएका बेला नेपाल र भारतबीच सीमा क्षेत्रमा पाँच क्रस बोर्ड रेलवे निर्माण गर्ने सम्झौता भएको थियो । भारत सरकारले रुपैडियादेखि राझा विमानस्थलसम्म रेलमार्ग निर्माणमा सहयोग गर्ने छ। 

राझादेखि कोहलपुसम्मको रेलमार्ग नेपाल सरकारले गर्ने तयारी भइरहेको बताउँछन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय रेल विभागका सूचना अधिकारी एवं सिनियर इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । उनले भने, ‘नेपाल र भारत सरकारबीचको सम्झौताअनुसार रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण कार्य अघि बढिरहेको छ। भारतीय टोलीले मंगलबारदेखि काम सुरु गर्न नेपाल आउने भएको छ । त्यसका लागि हामीले आवश्यक सहयोग गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिइसकेका छौं।’

रुपैडियाको रेलमार्ग हुँदै कोहलपुरसम्म जोड्नका लागि करिब १५ किलोमिटरको सर्भे गर्ने तयारी भएको उनले बताए। उपाध्यायका अनुसार राझादेखि कोहलपुरसम्मको करिब १२ किलोमिटर रेलमार्ग निर्माणका लागि ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । रुपैडियादेखि राझासम्म निर्माण गरिने रेलमार्गको खर्च भने नेपाली अधिकारीलाई थाहा नभएको उपाध्यायले बताए। 

नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार नेपालगन्ज रेलमार्ग निर्माण गर्नका लागि दुई देशका पदाधिकारीबीच नेपालगन्जमा पहिलोपटक फागुन २१ गते बैठक बसेको थियो । गोप्य राखिएको बैठकमा नेपाल र भारत सरकारका प्रनिनिधिले सम्भावित मार्ग, प्रक्रिया र सुरक्षा चुनौतिबारे छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए । नेपालगन्ज रेलमार्ग निर्माणको सर्भेमा सहयोग पुर्याउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभाग सिनियर डिभिजनल इन्जिनियर उपाध्यायसहित जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत गणेश शाही, जिल्ला वन अधिकृत मृगेन्द्र कुमार शर्राफ, नापी अधिकृत जनकराज ओझा, भन्सार अधिकृत परमानन्द जोशी र मालपोत अधिकृत दीर्घ पोखरेलसहितको समिति बनाएको छ ।

रेलमार्ग बनिरहँदा सुरक्षा चासोः 
नेपाल सरकारले दीर्घकालीन लक्ष्यअनुसार पूर्व–पश्चिम (मेची–महाकाली)सम्म जोडने रेलमार्ग बनाउने योजना बनाएको छ । पूर्व–पश्चिम रेलमार्गसँग जोड्नका लागि नेपालसँग जोडिएका विभिन्न पाँच सीमावर्ती सहरमा भारत सरकारले चासो देखाइरहेको छ । त्यस अनुरुप नेपालका पाँच सीमावर्ती सहर हुँदै पूर्व–पश्चिम रेलमार्गमा जोड्ने रेलमार्गको करिब आधा मार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने बताउँदै आएको छ । तर नेपाल भारतको खुला सिमानाका कारण भारतबाट सोझै नेपाली सहरमा रेलमार्ग विस्तार गर्दा सुरक्षा खतरा बढ्ने बताउँछन् नेपालगन्ज रेलवे निर्माण सर्भे समितिमा बसेर काम गरिरहेका एक अधिकारी । उनले भने, ‘भारतीय सहर रुपैडियादेखि कोहलपुरसम्म जानका लागि यातायातको समस्या छैन । भारतीय सहर नजिकै पर्ने स्थानबाट नेपालले रेल सेवाको सुरुआत गर्न सक्छ । यसबाट राजस्व संकलन र सुरक्षा खतरालाई समेत असर पर्दैन।’ 

सुरुआतमा भारतीय र नेपाली सर्भे इन्जिनियरले नेपालगन्ज जमुना चौकीको पूर्व हुँदै राझासम्मको सर्भे गर्ने बताएको छ। नेपाल सरकारले नेपालगन्ज भन्सारदेखि तीन किलोमिटर पश्चिमतर्फ एकीकृत भन्सार चौकी निर्माण गर्दैछ । त्यो बाटो भन्सार चौकी हुँदै कोहलपुर पुग्नेछ । एकीकृत भन्सार चौकी निर्माण सकिएपछि सो मार्गबाट मालवाहक सवारी साधन आवातजावत हुनेछन्। 

एकीकृत भन्सार चौकी हुँदै कोहलपुरसम्म रेलमार्ग निर्माण गर्न सके नेपाललाई फाइदा हुने बताउँछन् सर्भे टोलीका ती पदाधिकारी । उनले भने, ‘यो विषयमा बोल्ने हामी उपयुक्त ब्यक्ति होइनौं । तर रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग नेपाललाई आवश्यकता हो कि होइन भन्ने एउटा कुरा छ । यदि आवश्यकता हो भने सीमा सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षा नीतिलाई हामीले कत्तिको पालना गर्न सक्छौं भन्नेबारे अध्ययन गर्नुपर्छ । रुपैडियादेखि कोहलपुरसम्म सोझै रेलमार्ग विस्तार भए सीमामा चेकजाँचमा पनि समस्या हुन्छ । यसले केही फाइदा होला । तर सुरक्षाका हिसाबले अप्ठयारो पर्न सक्छ।’

प्रकाशित: ३० फाल्गुन २०७४ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App