६ वैशाख २०८१ बिहीबार
अर्थ

इजरायलको ५ सय केयरगिभर लैजाने तयारी

काठमाडौं – इजरायलले अबको एक वर्षभित्र ५ सयलाई रोजगारी दिन सकिने नेपाललाई जानकारी गराएको छ। 

मंगलबार इजरायली राजदूत बेन्नी ओमर, इजरायलमा आवश्यक पर्ने जनशक्ति खोज्ने जिम्मा पाएको पिबा र वैदेशिक रोजगार विभागका अधिकारीबीचको छलफलको क्रममा इजरायलले उक्त जानकारी गराएको हो।

 इजरायलले जानकारी गराएको उक्त संख्या हालसम्मकै उच्च हो । दुई वर्ष  अघि  बर्सेनि एक सय  युवायुवतीलाई केयरगिभरको काम गर्न इजरायल लैजाने दुई देशबीच सहमति भएको थियो । तर, विभिन्न कारणले हालसम्म इजरायलमा ८३ जना मात्र जान सकेका छन्।

 विभागका महानिर्देशक भुवन आचार्यले इजरायलले एब वर्षभित्र पाँच सय युवायुवतीलाई रोजगारी दिन सकिने जानकारी दिएको बताए । ‘इजरायलको  तर्फबाट पाँच सय युवायुवतीलाई लैजान सकिने सूचना आएपनि के, कसरी लैजाने हो, त्यसबारेमा ठोस निर्णय भएको छैन,’ आचार्यले भने, ‘नयाँ कोटाबारेको छलफल प्रारम्भिक भएकाले पनि केही प्रस्टता हुन आवश्यक ठानेका छौं।’ 

अहिलेको प्रावधान अनुसार इजरायलमा केयरभिगरको काममा जान २५ वर्ष उमेर  र तीन महिनाको तालिम अनिवार्य गरिएको छ । केयरगिभरमा जान खोज्नेले आवेदन दिने र त्यस्ता युवायुवतीलाई पिबाले आफूखुशी छनोट गरी एक सय जनामा झारेर परीक्षा लिने गर्छन् । पछिल्लो दुई वर्षको अवधिमा आवेदन दिएकामध्ये दुई सयलाई परीक्षा गराएर एक सय १९ छनोट गरिएको थियो । महिनामा सरदर एक लाख रुपैयाँ पारिश्रमिक पाइने र लागत खर्च पनि एक लाख रुपैयाँ भन्दा बढी नहुने भएकाले  इजरायलको रोजगारी आकर्षक मानिन्छ ।  इजरायलमा जिटुजी सम्झौता भएका कारण विभागले मात्र कामदार पठाउन पाउँछ। 

२५ अलपत्र  
इजरायली अधिकारीले एक वर्षभित्र पाँच सय कामदार लैजाने भन्दै छलफल सुरु गरे पनि यस अघि नै छनोट भइसकेका २५ जना भने अझै उड्न पाएका छैनन्।

 इजरायली रोजगारदाताबाट माग नआएको भन्दै ती इजरायल जान नसकेका हुन् ।  जसले गर्दा इजरायल जान तयारी गरिरहेका युवायुवती निराश भइरहेका छन्। 

दुई चरणमा गरी एक सय १९ जनालाई  विभागले छनोट गरेकोमा २५ जना अझै जान नसकेको निर्देशक मोहन अधिकारीले बताए । पहिलो चरणमा ५९ र दोस्रो चरणमा ६० जनालाई विभागले छनोट गरेको थियो । छनोट भएका ती सबै गत सेप्टेम्बरसम्म उडिसक्नु पर्ने कार्यतालिका थियो । पिबाका कर्मचारीले भने छनोट भएका युवायुवती चाँडै इजरायल जान पाउने बताइरहेका छन्। 

‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलमा रोजगारीका लागि जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका निर्देशक अधिकारीले भने, ‘तर, कार्यतालिका अनुसार इजरायलबाट केयरगिभरको माग नआउँदा छनोट भएका युवायुवती उड्न पाएका छैनन् ।’ 
विभाग स्रोतका अनुसार नेपालका मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग आउन नसकेको हो । विभागका एक अधिकारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयरगिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका मेनपावरको प्रलोभनमा परेर माग पठाउन नसकेको हो।’ 

केही वर्ष अघिसम्म मेनपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जिटुजी (दुवै देशका सरकारी निकायको सहभागिता) प्रक्रियाद्वारा मात्र केयरगिभर लैजाने निर्णय गरेको थियो । सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय युवायुवतीलाई केयरगिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो।

‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ अधिकारीले भने, ‘तर, उताबाट (इजरायल) माग नआउँदा तयारी अवस्थामा रहेका युवायुवतीलाई पठाउन सकिएको छैन ।’ केयरगिभरको तीन महिने तालिम लिएका युवायुवती सोही काममा लागि सक्षम हुने भएपनि केयरगिभरका लागि नर्सिङ, अनमी, अहेब अध्ययन गरेका युवायुवतीले समेत प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको केयरगिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए । इजरायलमा केयरगिभरको काम वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो। 

विभाग स्रोतका अनुसार युवायुवतीका लागि निकै आकर्षक र सुरक्षित मानिएको केयरगिभरका लागि सरकारले नै युवायुवती पठाउन थालेपछि मेनपावर सञ्चालक आत्तिएका हुन् । विभागका कर्मचारीका अनुसार ‘पाइलट प्रोजेक्ट’ सुरु हुँदा नै सरकारी तवरबाट सुरु गरिएको केयरगिभरलाई आफैं सुरु गर्ने प्रयास गरेका मेनपावरले नेपालमा गरेको प्रयासमा सफलता प्राप्त नगरेपछि इजरायलमा छनोट भएका एजेन्टसँग सम्पर्क बढाएका हुन्।

‘सुरुको सम्झौता अनुसार इजरायलका अधिकारीले त्यहाँ केयरगिभरको थुपै्र माग रहेको भनेका थिए,’ एक कर्मचारीले भने, ‘कार्यक्रम सुरु भएको अर्को वर्ष नै माग नआउनु मेनपावरको खेल हो ।’ इजरायल सरकारले त्यहाँ चार वटा एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको बताइएको छ। 

मेनपावरले युवायुवतीलाई इजरायल पठाउने हो भने ८/१० लाख रुपैयाँसम्म लिने तर सरकारी तवरबाट जाँदा एक लाख रुपैयाँ भन्दा बढी खर्च नहुने बताइन्छ । इजरायलबाट माग आउन छाडेपछि छनोट भएका युवायुवती चिन्तित भएका छन् । कतिपय भने अन्य काममा लाग्न थालेका छन्।

 विभागका निर्देशक अधिकारीका अनुसार केयरगिभरका लागि छनोट भएकामध्ये एक जना सरकारी सेवामा प्रवेश गरिसकेका छन् भने अर्का एक रोजगारीका लागि युरोप गइसकेका छन् । जिटुजी प्रक्रियामा इजरायल जान पाइने भएपछि यतिखेर बजारमा करिब १० हजार युवायुवतीले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ । पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयरगिभरका लागि छनोट भएका थिए। 

प्रकाशित: ३० फाल्गुन २०७४ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App