७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

चोलेन्द्र श्रीमानले गल्ती गरे, पराजुली श्रीमानले राजीनामा गर्दा राम्रो हुन्छः पूर्व न्यायाधीश केसी

काठमाडौं– सर्वाेच्च अदालतका पूर्व न्यायाधीस बलराम केसीले न्यायालयमा देखिएको विवादलाई मध्यनजर गरेर प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिन उपयुक्त हुने बताएका छन् ।  

सर्वाेच्च अदालतमा दुई दिन गरेर नौ जना न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीले तोकेको इजलासमा बस्न अस्वीकार गरेपछि पूर्व न्यायाधीश केसीले उक्त प्रतिक्रिया दिएका हुन् । 

आज रेडियो नागरिकसँग कुरा गर्दै पूर्व न्यायाधीश केसीले आफ्नै न्यायालयका न्यायाधीशहरुले धमाधम इजलास बस्न अस्वीकार गरेपछि न्यायालयमा संकट पैदा भएको बताए । यो संकटका कारण स्वतन्त्र न्यायालयको गरिमा प्रभावित हुने भन्दै पूर्व न्यायाधीश केसीले प्रधानन्यायाधीश पराजुलीलाई स्वेच्छिक राजीनामा दिन सुझाव दिए। उनले भने– ‘अब यो न्यायालय धेरै विवादित बन्नगयो यसलाई रोक्नुपर्छ, तर बाहिरको दबाबमा नपरी मेरै न्यायाधीशहरुले म प्रति अविश्वास गरे भनेर पदबाट राजीनामा दिंदा संस्था र उहाँको इज्जत जोगिन्छ।’

सर्वोच्च अदालतको बेञ्च बहिस्कार गरेर न्यायाधीश चोलेन्द्र शम्शेर जबराले गलत गरेको उल्लेख गर्दै पूर्व न्यायाधीश केसीले भने– ‘उहाँलाई मुद्दा हेर्दिन हेर्दिन, अलग्गिन्छु भन्ने अधिकार भएपनि चोलेन्द्र श्रीमान्ले प्रधानन्यायाधीशको उमेर हदको कुरा उठाउनु गलत भयो ।’ 

केसीले सर्वाेच्चमा देखिएको विवादको कारण भ्रष्टाचार एवं विसङ्गति भएपनि विषयवस्तुलाई अन्यत्रै मोडेर प्रधानन्यायाधीशप्रति प्रतिशोध साँध्न खोजिएकामा असन्तुष्टि जनाए । उनले भने–‘न्यायालयमा भ्रष्टाचार, विसङ्गति, विचौलिया छन्, न्यायाधीश नियुक्तिका विवादहरु छन्, सामुहिक सौदावाजी (ग्रुपिजम) पनि छ, कतिसम्मभने घाटमा मलामी जाँदापनि खुशी हुन्छन रे मानिसहरु त्यसकारण सुधार त्यहीबाट हुनुपर्छ ।’  

संसदीय सुनुवाई विशेष समितिबाट चुनिएर आएको प्रधानन्यायाधीशलाई मात्रै आरोप लगाउनु गलत भएको टिप्पणी गर्दै केसीले भने, ‘नाम चै संसदीय सुनुवाई अनि जे पठायो त्यसैलाई स्वीकृत गर्ने? ६०१ जनाले सुनुवाई गरेको व्यक्ति कसरी अयोग्य? त्यसमाथि पाँचजनाको न्यायपरिषदले सिफारिस गरेको व्यक्ति पराजुली विधिवत प्रधानन्यायाधीश त हो नि।’  

 

प्रकाशित: ३० फाल्गुन २०७४ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App