७ वैशाख २०८१ शुक्रबार
अर्थ

एटिसी–पाइलट अडियो संवाद चुहावटको अनुसन्धान सुरु

सोमवार दुर्घटनामा परेको यूएस बंगलाको जहाज । तस्बिर: दिपेन्द्र रोक्का

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेका युएस–बांगला एयरलाइन्सको विमानका क्याप्टेन अबिद सुल्तान र विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटिसी) टावरका अधिकारीहरूबीच भएको श्रव्य (अडियो) संवाद चुहावट बारे छानविन हुने भएको छ । 

अडियो चुहावट त्यसबाट जहाज दुर्घटनाबारे ‘भ्रम’ सिर्जना भएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमविपरीत काम भएको भन्दै मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उक्त अडियो चुहावटबारे छानबिन सुरु गरेका छन्। प्राधिकरण आइकाओको सदस्य हो।

जहाज ‘कमान्ड’ गरेर आएका क्याप्टेन सुल्तानसँग एटिसी अधिकारीहरूले गरेको उक्त संवाद सामाजिक सञ्जाल ‘युट्युब’ मार्फत भाइरल भएको थियो । ‘पाइलट र एटिसी अधिकारीबीचको गोप्य संवाद चुहावट भएको विषयमा प्राधिकरण र सिआइबीले छानबिन सुरु गरेका छन्,’ उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले मंगलबार सञ्चारकर्मीसँग भने, ‘आइकाओको नियमअनुसार गोप्य रहनुपर्ने सूचना प्रकाशन र प्रशारण गर्नु अपराध हो । यसमा साइबर अपराध पनि आकर्षित हुन्छ ।’ उक्त गोप्य संवाद प्राधिकरण वा त्रिभुवन विमानस्थलबाट चुहावट नभएको महानिर्देशक गौतमले दाबी गरे । आफ्नो अनुमतिबिना प्राधिकरण र विमानस्थलबाट कुनै पनि यस्ता संवाद वा दस्तावेज सार्वजनिक नहुने उनको भनाइ छ । ‘त्यही भएर हामीले अनुसन्धान सुरु गरेका हौं,’ उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले पाइलट र एटिसी अधिकारीबीच भएको संवाद, ककपिट भ्वाइस रेकर्डर (सिभिआर), फ्लाइट डाटा रेकर्डर (एफडिआर) मा रेकर्ड भएका संवाद सार्वजनिक गर्न नपाउने आइकाओको नियम रहेको जानकारी दिए । 

‘यस्ता गोप्य संवाद र दस्तावेज सार्वजनिक नगर्ने अन्तर्राष्ट्रिय मान्यता र अभ्यास छ,’ आचार्यले भने, ‘यस्ता दस्तावेज अन्य व्यक्ति वा पार्टीलाई दिन पनि पाइँदैन । यो उड्डयन नियमको बर्खिलाप हो ।’ महानिर्देशक गौतमका अनुसार पाइलट र एटिसी अधिकारीबीचको संवाद कसले उपलब्ध गरायो र कसले के कति कारण सार्वजनिक ग¥यो भन्ने विषयमा विस्तृत अनसन्धान हुने छ । युट्युबमा राखिएको उक्त अडियो संवाद हटाउन प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत आग्रह गरेको थियो । 

नेपालबाट उक्त अडियो संवाद पत्रकार कुन्द दिक्षीत र उनीबाट अर्का पत्रकार कनक दिक्षीतले साढे पाँच मिनेटको अडियो युट्युबमा अपलोड गरेका थिए । त्यसपछि अर्का पत्रकार कमलकुमारले युट्युवमा अपलोड गरेको अडियो संवाद २५ मिनेट लामो छ । यिनैमाथि उड्डयन प्राधिकरण र सिआइबीले अनुसन्धान गरिरहेका छन् । अखवारहरुका अनलाइन संस्करणमा पनि संवाद ट्रान्सक्राइव गरेर प्रकाशन गरिएको थियो ।

६ एटिसी अधिकारीको ‘ड्युटी अफ’
यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल टावरमा सोमबार बंगलादेशी जहाज दुर्घटना हँुदा ‘ड्युटी’ मा रहेका ६ जना एटिसी अधिकारीलाई ‘ड्यूटी अफ’ गरेको छ ।

‘आँखै अगाडि त्यति भयानक दुर्घटना देखेका उनीहरूलाई अर्को निर्णय नभएसम्म टावरबाट जहाजको ककपिटभित्र रहेका पाइलटसँग कुराकानी गर्न दिँदैनौं,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार उनीहरूको ड्युटी अफ गरिएको हो, जागीरबाट हटाइएको, निलम्बन गरिएको वा सरुवा गरिएको होइन ।’

गौतमका अनुसार उनीहरूले सामान्य दिनमा झैं टावरमा हाजिर गर्छन् तर, ककपिटमा चालकदलसँग कुराकानी गर्न पाउँदैनन् । टावरबाट जहाजका गतिविधि अवलोकन गर्न भने पाउँछन् । त्यसमाथि आँखै अगाडि भयानक दुर्घटना देखेका कारण उनीहरूमा मनोवैज्ञानिक असर पनि परेको हुनसक्छ । ‘असुरक्षाका कारण उनीहरूको नाम सार्वजनिक गर्न मिल्दैन,’ उनले भने, ‘यो अतिसंवेदनशील विषय हो ।’

६७ यात्रु र ४ जना चालक दलसहित ढाकाबाट सोमबार काठमाडौं आएको युएस–बांगला एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । २० जना घाइतेको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव आफन्तलाई बुझाउन केही समय लाग्ने प्राधिकरणले जनाएको छ । 

 

प्रकाशित: ३० फाल्गुन २०७४ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App