धनगढी– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले यही चैतमा धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणलाई मान्यता दिएको छ।
आइसिसीका सिनियर क्रिकेट अपरेशन म्यानेजरद्वारा प्रेषित पत्रमा आइसिसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई रुस्लान डिपिएल–२ लाई आइसिसीको मान्यता रहेको जानकारी गराइसकेको धनगढी क्रिकेट एकेडेमीद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।
एकेडेमीका अध्यक्ष सुभाष शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको मात्र नभई नेपाली घरेलु प्रतियोगिताले अन्तर्राष्ट्रियस्तरमा थप महत्व र उचाइ हासिल गरेको उल्लेख गरिएको छ।
यही चैत १७ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराह धनगढीको सहभागिता रहने जनाइएको छ।
प्रतियोगिताको तयारीस्वरुप खेलाडीको अक्सन सम्पन्न भइसकेको छ भने पिचको तयारी भइरहेको छ। नेपालमा सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले रु २५ लाख, उपविजेताले रु १० लाख, तेस्रो हुने टोलीले रु तीन लाख र चौथो हुने टोलीलाई रु दुई लाख प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ। रासस
प्रकाशित: ३० फाल्गुन २०७४ १६:२६ बुधबार