८ वैशाख २०८१ शनिबार
अर्थ

प्रधानमन्त्रीकै गृह जिल्लामा इन्धन ढुवानीमा अवरोध

ढुवानी रोकेर चालक आन्दोलनमा उत्रिएपछि नेपाल आयल निगमको झापा चारआली डिपो बाहिर तेल बोक्ने ट्यांकर । तस्बिरः दिलीप पौडेल

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम(प्रणाली) कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि ट्यांकर चालक विरोधमा उत्रिएका छन् । बुधबार इन्डियन आयल कर्पोरेसन(आइओसी) र निगमका अधिकारीबीच लकिङ सिस्टम सुरुवात गर्ने औपचारिक निर्णयसँगै चालकले विरोध गर्दै विहीवार ढुवानी राकेका छन्।

चुहावट रोक्ने निगमको योजना नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सघाए पनि ट्यांकर चालकले ढुवानीमा अवरोध गर्दै आन्दोलनमा उत्रिएका छन् । चालकको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा लगायत पूर्व क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ। त्यहाँ पूर्व क्षेत्रको लागि ५९ ट्यांकरले तेल ढुवानी रोकेका छन्।

निगमले बुधबार भारतको सिलगुडीबाट झापाको चारआली रुटमा चल्ने ट्यांकरमा लकिङ सिस्टम सुरु गरेको थियो। चालकले आइओसीको सिलगुढी डिपोबाट तेल उठाएका छैनन्। ट्यांकर चालकले डिजेल, पेट्रोल नउठाएको पूर्वाञ्चल क्षेत्रीय डिपो विराटनगरका प्रमुख भानुभक्त खनालले बताए।

विहीबार बिहान नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, निगम, पेट्रोल र ढुवानी व्यवसायीबीच वार्ता भए पनि सहमति जुट्न सकेन। मजदुरले निगमलाई बुझाएका १५ बुँदे माग सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको तोकप्रसाद दुलालले बताए । चालकको आन्दोलनलाई निगम र व्यवसायीले अराजकता भनेका छन्। 

मजदुरले अन्य माग देखाए पनि चुहावट रोक्ने निर्णयमा असहयोग गरेको निगमका अधिकारी बताउँछन् । ‘घुमाउरो ढंगले तेल चोर्न पाउनु पर्छ भन्ने माग हो,’ निगमका एक अधिकारीले भने, ‘गलत माग राखेर अवरोध सृजना गरेका छन् ।’

चालकहरूले देशभर नै पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध गर्ने चेतावनी दिएका छन्। चालकले पेट्रोलियम पदार्थको ढुवानीलाई सहज बनाउनु पर्ने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन अध्यक्ष लिलेन्द्र प्रधानले बताए ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका केही पदाधिकारीबीच भने सामान्य मतभेद देखिएको छ। केन्द्रीय नेतृत्वले लकिङ सिस्टम कार्यान्वनयमा लैजानको लागि सहयोग गर्नु पर्ने बताउँदै आए पनि केहीले कार्यविधि बनाएर मात्र कार्यान्वयन गर्ने जनाएका छन्।

निगमले तीन महिनाभित्र कार्यान्वयन गर्ने पत्र पठाए पनि निश्चित कार्यविधि बनाउनु पर्ने महासंघका उपाध्यक्ष गुणराज निरौलाले बताए । ‘निगमले मदजुरसँग सहमति गरेको रहेछ,’ निरौलाले भने, ‘त्यही माग लिएर आन्दोलित भएका छन्। त्यसमा सम्बन्धित निकाय जवाफदेही हुनुपर्यो ।’

महासंघका महासचिव विश्व अर्यालले भने चुहावट रोक्ने निगमको अग्रसरतामा पूर्ण सहयोग गर्ने बताए। ‘चालकका केही समस्या छन् भने छलफल गर्न तयार छौं,’ अर्यालले भने, ‘ढुवानीमा अवरोध गर्नु राम्रो भएन।’

अत्यावश्यक वस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध गर्न नहुने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। ‘चालकसँग छलफल गरेर सुचारु गर्ने प्रयास गरिरहेका छौं, गोइतले भने, ‘उपभोक्तालाई दुःख हुने गरी ढुवानी रोक्नु भएन।’

पहिलो चरणमा सिलगुढीबाट सुरु गरे पनि तीन महिना भित्र आइओसीका विभिन्न रिफाइनरीबाट नेपालमा तेल ढुवानी गर्ने र निगमबाट पम्पसम्म ढुवानी गर्ने सबै ट्यांकरमा लकिङ सिस्टम कार्यान्वयनमा ल्याउने सहमति भएको छ। 

भारतबाट तेल ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्ने गुनासो सुनिँदै आएको छ । ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकोले ढुवानीको क्रममा बीच बाटोमा चोरी हुने गरेकोले भारतमा यसअघि नै प्रयोगमा आएको लकिङ सिस्टम प्रयोगमा ल्याउन लागेको हो। यो प्रविधि प्रयोग गरेर निगमका कर्मचारी, चालक, व्यवसायीको मिलमतोबाट हुने चोरी रोक्न सकिने सबैको ठहर छ। 

प्रकाशित: १ चैत्र २०७४ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App