रौतहट – गरुडा नगरपालिका–५, लक्ष्मीपुरस्थित माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने प्रतीमा कुमारीले साइकल पाएपछि अन्य छात्रा पनि विद्यालयमा नियमित पढ्न आउन थालेको बताइन् । ‘समयको बचत भएको छ र बचेको समय घरमा गृहकार्यमा लगाउन सजिलो भएको छ’, साइकल पाएकी उनी भन्छिन्।
मौलापुर नगरपालिकाको सोनरनियामा रहेको माध्यमिक विद्यालयकी छात्रा सविता पटेललाई पनि विद्यालय जान अब हतार गरिरहनु पर्दैन । साइकल पाएपछि घरको काम सिध्याएर पनि समयमै विद्यालय पुग्न सजिलो भएको छ। छोरी भएपछि घरको काम पनि गर्नुपर्ने र विद्यालय पनि जानुपर्ने भएकाले साइकलले दुवै काममा सहयोग पुर्याएको बताउँदै उनले भनिन्, ‘साइकलले विद्यालयमा छात्राको उपस्थिति पनि बढाएको छ ।’ रौतहट क्षेत्र नम्बर ३ का सासद प्रभु साहले आफ्नो क्षेत्रका अधिकांश विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रालाई साइकल उपलब्ध गराइसकेका छन् । बगही, गोनाही, धरहरी, सोनरनिया, पथरा बुधराम, पसन्तपटी र पिपरिया दोस्तिया गाउँका माध्यमिक विद्यालयमा अध्ययनरत एक हजार ५०० छात्रालाई सासद साहले निशुल्क साइकल बाँडेका छन्।
यसैगरी उनले सिमरा भवानीपुर र मैढामा अध्ययनरत ४०० छात्रा तथा लक्ष्मीपुर र गरुडाका माध्यमिक विद्यालयमा पढ्ने २०० छात्रालाई साइकल प्रदान गरेका छन्।
‘रौतहटको शिक्षालाई अलिकति भए पनि माथि उठाउन आफ्नो तर्फबाट सकेको योगदान दिनुपर्छ भन्ने लागेर नै मैले कक्षा ८ देखि १० सम्म अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल प्रदान गरी पुरस्कृत गर्ने योजना बनाएको हुँ, सासद साहले भने।
साइकल प्राप्त गरेपछि विद्यालयमा छात्रा उपस्थिति बढ्दै गएको उनीहरूको पढाइमा पनि केही सुधार भएका अनुभव शिक्षकहरुको छ । मावि बगहीका प्रधानाध्यापक पवनकुमार पण्डितले छात्राहरुको उपस्थितिमा उत्साहजनक सुधार आएको बताए । उपस्थितिमा सुधार आएपछि गुणस्तरतर्फ केन्द्रित हुनुपर्ने बाध्यता अएको उनको भनाइ छ।
सासद साहको कार्यलाई अनुकरण गर्दै कटहरिया नगरपालिकाले पनि साढे तीन सय साइकल वितरण गरेको छ। मावि कटहरिया र मावि भसेढवामा अध्ययनरत साढे तीन सय छात्रालाई हालै साइकल वितरण गरिएको नगर प्रमुख सियाराम कुशवाहाले बताए । साइकल पाएपछि बालिकाहरुको पढाइमा पनि सुधार आएको एक अभिभावक त्रिभुवन साहले बताए।
प्रकाशित: २ चैत्र २०७४ ०२:११ शुक्रबार