coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोकमार्ग पीडितले भने : हामीलाई सुकुम्बासी नबनाउनुहोस्

लमजुङ- मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँस्थित पाउँदीबजार–किरिञ्चेखोला खण्डको सुन्दरबजार क्षेत्रका बासिन्दाले आफुहरुलाई सुकुम्बासी बन्नबाट जोगाईदिन प्रदेश मन्त्री र सांसदसँग अनुरोध गरेका छन्।

सुन्दरबजार नगरपालिकास्थित लमजुङ कृषि क्याम्पसमा लोकमार्ग पीडितका विषयमा आयोजित छलफल कार्यक्रममा स्थानीयले बजार बाहिरबाट सडक निर्माण गरी अहिलेको संरचना जोगाईदिन आग्रह गरेका हुन्।

मध्यपहाडी लोकमार्ग सडकको ‘एलान्मेन्ट’मा पर्ने सुन्दरबजारको प्रवेशद्वार क्याम्पस गेट हुँदै बजारक्षेत्र हुँदै खत्रीठाँटी सम्मको खण्डमा सडक निर्माण गर्दा धेरै घरहरु भत्किने भएकाले स्थानीयबासी विरोधमा उत्रिएका छन्। सडकको बस्तुस्थिति बुझेर विवाद समाधान गर्न प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतको संयोजकत्वमा कार्यदल निर्माण भएपछि बिहीबार सो दल, लोकमार्ग सडक आयोजना प्रतिनिधि लगायतका सरोकारवालाबीच अन्तरक्रिया गरियो । सडक निर्माणका क्रममा बजारका झण्डै ५ सय घर भत्काउनु पर्ने र ति परिवार विस्थापित भएर सुकुम्बासी बन्ने भएकाले सो ‘रुट’ परिवर्तन गरी विकल्प खोज्न स्थानीयले आयोजनालाई दवाव दिएका छन्।

सुन्दरबजारका स्थानीय नविन श्रेष्ठ, गालु मिया, भीमबहादुर तामाङ, द्वारिकाप्रसाद मिश्र, चित्रबहादुर केसी, उत्तम गुरुङ, बोजबहादुर थापा, अम्बिकाप्रसाद पौडेल, रामशरण अधिकारी लगायतका दर्जन वढीले आफ्ना समस्याहरु पोखे। वर्षौंदेखिको आफ्नो कमाईले बनाएको घर लोकमार्गले भत्काएपछि सुकुम्बासी भईने, सडकको मापदण्ड बारे आफुहरुलाई स्पष्ट जानकारी गराईनु पर्ने, बस्ती नभएको स्थानबाट सडक लैजानु पर्ने जस्ता माग स्थानीयबासीले गरे। बजारबाटै लोकमार्ग निर्माण गरिने भन्ने खबरसँगै सो रुटका दाँया–बाँयाका घर, जग्गाको बिक्री वितरण हुन छाडेको खत्रीठाँटीका नविन श्रेष्ठले बताए। ‘बजारका बासिन्दा यति पीडित छन् कि भनिसाध्यै छैन,’ श्रेष्ठले भने, ‘घरजग्गा बिक्दैन, बैंकले धितो बन्धक राख्दैन, सडक छेउको जग्गामा घर बनाउन नक्सा पास नै हुँदैन।’ बजारबाट सडक निर्माण गरिने थाहा पाएदेखि नै स्थानीय बासिन्दा आर्थिकरुपमा निकै धरासयी बन्नुको साथै चिन्तित बन्दै आएको श्रेष्ठ बताउँछन्।

सो अवसरमा कार्यदलका संयोजक पर्यटनमन्त्री बस्नेतले सडक नै विकासको मुख्य आधार भएकाले विकल्प सहित सकरात्मक तरिकाले सहयोग गर्न स्थानीयलाई आग्रह गरे। आफुहरु स्थानीयको समस्या र दुःख, पीडा र सडकमार्गको अवस्था बारे स्थलगत बुझ्न आएको पनि मन्त्री बस्नेतले बताए । त्यस्तै, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, सांसदहरु धनञ्जय दवाडी, मधुमाया अधिकारीले पनि आक्रोशमा भन्दा सुझबुझका साथ सडक निर्माणमा जुट्नु पर्ने बताए । लोकमार्गको निर्माणले जिल्लाको विकास निर्माण र सम्वृद्धिमा सकरात्मक प्रभाव पार्ने भएकाले यसको विरोध भन्दा उत्तम विकल्पको खोजी गर्नुपर्ने बताए । सोही कार्यक्रममा आयोजना प्रमुख सुर्यबहादुर रानाभाट, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल लगायतले पनि लोकमार्गको विषयमा प्रष्ट पारे। सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले पनि बजारबासीलाई सुकुम्बासी बनाउने तर्फ नलागी सडकमार्ग परिवर्तन गरेर निर्माण गर्न आग्रह गरे। लोकमार्गको विषयमा आफुलाई स्थानीयको अनेकौं खालका समस्या, दुःख, पीडा र बजार छलेर सडक बनाउन आग्रह गरिदिन दवाव आउने गरेको नगरप्रमुख मिश्रले बताए। 

पुर्वको पाँचथर देखि पश्चिम बैतडीसम्मको एकहजार ७ सय ८७ किलोमिटर लम्बाईको मध्यपहाडी लोकमार्गको धमिलिकुवाको चेपे नदीदेखि रामबजारको मादी नदीसम्म करिब ४५ किलोमिटर खण्ड पर्ने र सुन्दरबजार क्षेत्रमा स्थानीयको विरोध देखिएको लोकमार्ग आयोजना प्रमुख सुर्यबहादुर रानाभाट बताउँछन् । पाउँदीबजार देखि सुन्दरबजार हुँदै दुराडाँडाको बेसी किरिञ्चे खोलासम्मको ८ किलोमिटर खण्डमा निर्माण कार्य बाँकी रहेको उनले बताए। त्यस बाहेकका खण्डमा काम भईरहेको जनाईएको छ। मध्यनेपाल नगरपालिकाको भोर्लेटार बजारक्षेत्रको १ किलोमिटर खण्डमा पनि स्थानीयको विरोध रहेकोमा त्यसलाई समाधान गर्ने गरी वडा नं ८ का अध्यक्ष विष्णुभक्त पौडेलको संयोजकत्वमा कार्यदल निर्माण भएको र स्थायी समाधान खोज्ने प्रयास भईरहेको भोर्लेटारका व्यवसायी प्रेमलाल श्रेष्ठले बताए। बजार क्षेत्रबाट सडक निर्माण गर्दा धेरै घरहरुमा क्षति पुग्ने भएकाले विकल्पमा त्यस बाहेकको ‘रुट’को खोजी गर्ने तर्फ सो समिति लागिरहेको उनको भनाई छ। त्यस्तै, दैलेखमा पनि १ किलोमिटर क्षेत्रमा विवाद रहेको र समाधानको प्रयास भईरहेको जनाईएको छ।

मध्यपहाडी लोकमार्ग पुर्वको पाँचथरको चिपा भञ्ज्याङ देखि सुरु भएर तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभे्र, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा हुँदै पश्चिम बैतडीको झुलाघाटसम्मको एकहजार ७ सय ८७ किलोमिटर लम्बाईमा निर्माण हुने आयोजना प्रमुख रानाभाटले बताए। सो मध्ये लमजुङको सुन्दरबजार क्षेत्रमा ८, भोर्लेटारमा १ र दैलेखमा १ किलोमिटर दुरीमा विवाद देखिएकाले प्रभावकारी ढंगले काम हुन नसकेको आयोजनाले जनाएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, नगरपालिकाका उपप्रमुख ज्ञानु शाह लगायत जनप्रतिनिधि र सयौं स्थानीयको सहभागिता रहेको लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार ईकाइका अध्यक्ष सोमबहादुर न्यौपानेले बताए।

 

प्रकाशित: २ चैत्र २०७४ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App