८ वैशाख २०८१ शनिबार
खेल

नेपालगन्ज गोल्ड कप फुटबल स्थगित

बाँके – पश्चिम क्षेत्रको लोकप्रिय प्रतियोगिता बन्दै गएको टुबोर्ग नेपालगन्ज गोल्ड कपको तेस्रो संकरण निर्धारित समयमा नहुने भएको छ। प्रतियोगिता नेपालगन्ज रंगशालामा शनिबारबाट हुने तय थियो।

तर, चैत ३ देखी १० गते सम्मका लागि तोकिएको प्रतियोगिता शुरु हुनु एक दिन अघि आयोजक बाँके जिल्ला फुटबल संघले सहज स्थिती नभएको र प्राविधिक कारणले समयमै गर्न नसक्ने बताएको छ। शुक्रबार बसेको बाँके जिल्ला फुटबल संघको बैठकले प्रतियोगिता बैशाखमा बाँकेमै गर्ने निर्णय गरेको छ । तथापी स्थान र मिति भने तोक्न सकेको छैन।
 
‘नेपालगन्ज गोल्ड मध्य र सुदुर पश्चिमञ्चलबासी जनतामाझ बहुप्रतिक्षित प्रतियोगिता भैसकेको छ। फुटबल प्रेमी जनताले प्रतियोगितालाई हरेक वर्ष नयाँ उचाई हासिल गर्न हौसला, सहयोग र उर्जा थपिरहनु भएको छ। तर हामी निर्धारित समयमा प्रतियोगिता गर्न नसक्ने कुराले हामीलाई पनि दुखि बनाएको छ,’ बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने, ‘प्रतियोगिता निर्धारित समयमा गर्न नसक्दा केहि अप्ठयारो अवस्था आएको छ। तर स्तरीय फुटबल आयोजना र फुटबल विकासको निम्ति अहिले नगर्ने निर्णय गरेका हौं।’

शनिबार देखी हुने भनिएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहने आयोजकले बताएको थियो। लिगकम नकआउटका प्रणालीमा हुने प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५१ हजार र उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार राखिएको थियो। संघका अध्यक्ष शाहीले प्रतियोगिताको नयाँ मिति र स्थान केहि साताभित्र घोषणा गर्ने बताएका छन्। 

‘अखिल नेपाल फुटबल संघ(एन्फा)सँग नयाँ मिति मागेको छौं। एन्फाको जवाफ आउनासाथ नयाँ मिति र स्थान घोषणा गर्नेछौं। अब सहभागी टोलीमा पनि परिवर्तन हुन सक्छ,’ सम्भावित खेल मैदानका लागि अध्ययन भइरहेको भन्दै अध्यक्ष शाहीले थपे, ‘हामीलाई प्रतियोगिता गर्न अप्ठायारो पर्नुको एक कारण मैदान हो। त्यसैले सम्भावित मैदानको खोजि भइरहेको छ।’

तोकिएको समयमा गर्न नसके पनि प्रतियोगिताको स्तरमा सम्झौता नगर्ने बाँके जिल्ला फुटबल संघ अध्यक्ष शाहीले बताए। उनले भने, ‘पश्चिम क्षेत्रमा आफनो पहिचान बनाएको प्रतियोगिता समयमै गर्न नसक्दा हामीलाई अप्ठयारो लागेको छ। तर, यसको स्तर घटने छैन । व्यवस्थापनलाई राम्रो बनाउँदै स्तरीय टिमलाई सहभागी गराउनेछौं।’

प्रकाशित: ३ चैत्र २०७४ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App