coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

नामदोङ, मेरो ईश्वर !

रमेश सायन

सागका सबै बिरुवा मरे ।बिरुवा रोपेर मुस्ताङ पुगेँ । मर्दी हिमाल चढेँ । फर्कंदा पानी नपाएर प्याकप्याक बनिरहेका बिरुवा बिरामी थिए । बचाउने कोसिस त गरेँ । तर, बाँचेनन् ।आमाले गाली गर्नुभयो, ‘खेती रहर हैन, लगनशीलता हो । काम गर्छस् भने घरै बस् । नत्र बिरुवा रोप्दै मार्दै नगर ।’

एकैपल्टमा किन हार्छु ?फेरि रोपेँ बिरुवा । पानी हालेँ । बिरुवा तंग्रिए । आमाले पनि पत्याउनुभयो, ‘कान्छाले खेती गरिखाने भो !’लगातार घर बसेको महिना दिन हुँदै थियो । बिरुवाको हैन, पैतालाको माया लाग्न थाल्यो । मन रगरगाउन थाल्यो । एक–दुई दिन भए पनि कतै घुमेर आउँछु, सोच्दै थिएँ।

यत्तिकैमा साथीको फोन आउँछ, ‘यासपालिको हिउँदमा तराई घुमौँ, हिँड् ।’मधेसमै जन्मे–हुर्केकालाई कुन चेतनाले हो कुन्नि तराई घुम्नुपर्छ, बुझ्नुपर्छ भन्ने भएछ । थुप्रै वर्ष काठमाडौं बसेर होला, आफू हुर्किएको मधेसमाथि उनीहरू सहानुभूति राख्ने भइसकेछन् ।काठमाडौंको संगत साह्रै घातक !

योजना जनकपुर घुम्ने थियो, तर पुग्यौँ बनारस । घर फर्कंदा फेरि सबै बिरुवा मरिसकेका थिए । थाहा पाएँ, आफ्नै बुताले गरिखाने मान्छे होइन म । मलाई प्रत्येक दिन थर्काउने मालिक चाहिन्छ, हाकिम चाहिन्छ ।
मालिक बन्नु आफैँले आफैँलाई शासन गर्नुरहेछ । त्यसपछि अरुलाई । आफैँले आफैँमाथि शासन गर्ने हिम्मत म राख्दिनँ । यसकारण सदासर्वदा मजदुरीमा बित्ने पक्का भयो।

दुईपल्ट सागका बिरुवा मरेपछि साउथ कोरियन मालिकप्रति पहिलोपल्ट सम्मान जाग्यो । उग्र मेहनत गर्ने त्यो किसान कर्मको ईश्वर हो ।फोन गरेँ । उसकी छुच्ची बूढीले फोन उठाई । हालखबर सोधी । सुखदुःख सोधी । उसकी छुच्ची बूढीमाथि पनि पहिलोपल्ट प्रेम जागेर आयो ।यो कथा उसैलाई समर्पित !अब कथा थाल्छु ।
साउथ कोरियाको नेम्याङ भन्ने सानो गाउँमा नामदोङ फ्यु नाम गरेको किसान बस्छ । असाध्य मेहनती, द गुड अर्थको हिरो वाङलुङजस्तै मेहनती (द गुड अर्थ पढ्नुभएको छ भने वाङलुङ्लाई चिन्नुहुन्छ ।)
वर्षमा जम्मा पाँच महिना मात्र नामदोङले खेतीको काम गर्न सक्छ । बाँकी समय सुक्खा । उजाड हिउँदले जीवन शून्य छ भन्ने विम्ब बनाउँछ । सारा हरियो कोमामा जान्छ । त्यस गाउँको पूरै जुनी सर्पको जस्तो छ, हिउँदमा पूरै निष्क्रिय र वर्षामा पूरै सक्रिय।

खेतीको समय, नामदोङ २० देखि २२ घन्टासम्म काम गर्छ । घरमा काम गर्न बसेका आप्रवासी मजदुरसँग रिसाइरहन्छ । कामको ओभर डोजले गर्दा उसकी छुची बूढीको आँखा भासिन्छन् । सधैँ लालीले चिम्किरहने सुन्दर ओठ कलेटी पर्छन् । घरको ठूलो ऐनामा ध्वाँसो लाग्छ ।जुनी भर्खरै लन्च भएको नयाँ मेसिनजस्तो विनाआराम चौबीसै घन्टा चलिरहन्छ । नामदोङका बा–आमा बूढाबूढी छन् । दुई सय मिटर पर अलग्गै घरमा बास बस्छन् ।

बा–आमा, भेट्ने फुर्सद समेत नामदोङसँग हुँदैन । बाआमा बिरामी हुन्छन् । एम्बुलेन्स आएर अस्पताल लैजान्छ । बिरामी बा–आमाको खबर सोध्न नभ्याएकोमा दुःखी हुने समय समेत नामदोङसँग छैन । कलिला बिरुवालाई, आमाले स्याहार गरिरहेकी बालकजस्तो स्याहार गर्छ । मसिना बिरुवाका पात बडो प्रेमले सुमसुम्याउँछ । त्यो सुमसुमाइबाट अथाह आनन्द लिन्छ।

चार वर्षअघि नामदोङले आफ्नो बारीमा काम गराउन भनी मलाई नेपाल देशबाट लिएर गएको हो । मेरा बा–बाजेहरू किसान हुन् । मलाई कुन भाग्यले हो, हलो–कोदालो गर्न दिएन । पढ्ने बहानामा, जागिर गर्ने बहानामा, सहरतिर बसेँ । यी दुवै बहाना सकिएपछि परदेश चलेँ । नामदोङको घर पुगेँ । जहाँ मैले कहिल्यै नगरेको खेतीपातीको काम १८ देखि २० घन्टासम्म गर्नुपर्‍यो ।कहिल्यै नसुनेको भाषा बोल्नुपर्‍यो । कहिल्यै नखाएको आहारा खानुपर्‍यो । कहिल्यै नबाँचेको जीवन बाँच्नुपर्‍यो।

कोरियन भाषा नबुझ्ने भएकाले कोहीसँग दोहोरो संवाद हुँदैनथ्यो । न ओठले शब्द बोल्न सक्थ्यो, न हातले शब्द बुन्न सक्थ्यो ।नामदोङ खुब रिसाउँथ्यो ।गोदामबाट हँसिया लिएर आइज भन्थ्यो । म खुप्रा लिएर जान्थेँ । गोदामबाट कोदालो लिएर आइज भन्थ्यो । म खुर्पी लिएर जान्थेँ।

डालोले भन्थ्यो । डोको लान्थेँ । नामदोङ रिसले आगो हुन्थ्यो । म बुख्याँचा हाँसेझैँ ङिच्च हाँस्थे । दाँत हाँस्थ्यो । अनुहार हाँस्दैनथ्यो । मन हाँस्दैनथ्यो ।एउटा चित्र कल्पिनुस् पाठक ! दाँत हाँसेर अनुहार र मन नहाँस्दा कस्तो देखिन्छ मान्छे ? नामदोङलाई मान्छे चुट्न हुँदैन भन्ने थाहा रहेछ । नत्र मलाई गोरु चुटाइ चुट्थ्यो होला । मेरो भाग्य !

दोहोरो संवाद नभएपछि मुखमा हावा खेल्न नपाउँदो रहेछ । मुख गुम्सिएर ह्वासह्वासती गन्हाउँथ्यो । बोल्न नपाएर आफ्नै मुख गन्हाएको पहिलोपल्ट थाहा पाएँ ।नामदोङले राति ११ बजेपछि मलाई कामबाट बिदा दिन्थ्यो, तर आफू लगातार काम गरिरहन्थ्यो । गोदामको एक कुनामा सुत्ने र खाने कोठा थियो।

म ढोका थुनेर र ठूलो–ठूलो स्वरले किताब पढ्थेँ । मुखमा हावा खेलाउँथेँ । ह्वासह्वासी घनाइरहेको मुखमा ताजा हावा भित्र–बाहिर गथ्र्यो ।बाहिरबाट नामदोङ अझ ठूलो स्वरले चिच्याउँथ्यो । भाषा त बुझ्दिनँथेँ, सायद भन्थ्यो होला, ‘साला कुकुरको बच्चा, बौलाइस् ? मध्यराति किन चिच्याउँछस् ? चुपो लागी सुत । बिहान काममा उग्न पाउँदैनस्।’

नामदोङको स्वरले मेरो कानको भित्ता चर्कन्थ्यो । म नेपाली लबजमा रिसाउँथेँ । हदैसम्म खसेर मातृभाषामा गालिदिन्थेँ (पाठक हदैसम्म तल्लो स्तरको गाली आफैँ कल्पिनुस् । गालीलाई शब्दमा उतार्नु जरुरी छैन ।)नामदोङको भान्सामा थुप्रै कार्टुन बियर थियो । कहिलेकाहीँ खाजामा बियर दिन्थ्यो । बियर मेरो उत्कृष्ट भोजन हो । उत्कृष्ट भोजनले तृप्त मेरो अनुहारमा फरक रंग आउँथ्यो ।

दिउँसो खाना खाने बेला पनि किन बारीमा काम गरिरहेको भनेर साँझ नामदोङ कि बूढी आमाले सोधिन् । भाषा थिएन । सबै त भन्न सकिनँ । तर ‘साहुले खाना खान बोलाएन’ भन्न सकेँ । आमैले मलाई पाउरोटी र दूध ल्याएर दिइन् । ‘यो खाँदै गर, अहिले एकछिनमा गएर छोरालाई सम्झाउँछु,’ भनिन् ।

नामदोङ जस्तो मूर्ख मालिकसँग पनि खुसी हुन्थेँ । जब बियरको झोल मेरो गिदीबाट उत्रन्थ्यो, नामदोङ असल हैन भनेर हजारौँपल्ट दोहोर्‍याउँथेँ । मजदुर हुँ भन्ने चेतनाले म यति आजित थिएँ कि कुनै हालतमा पनि नामदोङमाथि राम्रो विचार राख्न सक्दिनँथेँ । ऊ मालिक हो र हदैसम्म दलिरहेको छ भन्ने विचारले मलाई खर्लप्पै निलेको थियो।

एक साँझ दुई क्यान बियर पिएँ । मुटु बलियो भएको भ्रम भयो । टाउकोमा अलिकति उत्तेजना बढ्यो । टुटेफुटेको कोरियन भाषामा निहुँ खोजेँ, ‘अब काम गर्दिनँ । मेरो हड्डी दुखेको छ । यसरी काम गरेँ भने म मर्छु ।’

नामदोङले सजिलै बिदा दियो, ‘हुन्छ, सुत आराम गर ।’भोलिपल्ट बिहानैदेखि गाउँलेलाई सुनाउन थाल्यो, ‘यो हिजो दुई क्यान बियरले यसरी मात्यो कि काम गर्न नसकेर सुत्यो ।’भोलिपल्टदेखि मेरा लागि बियर बन्द ।

तीन महिनापछि एक साँझ ।काम टन्नै थियो । तरकारी बेच्न बजार गएको नामदोङ राति अबेरसम्म पनि घर आएन । बा–आमा बिरामी हुँदा समेत भेट्न जाने फुर्सद नभएको छोरो अबेरसम्म के कामले हरायो होला ?

मनले नामदोङकी बूढीलाई सोध्न चाह्यो, तर सोध्ने हिम्मत र भाषा भएन ।रातको ११ बज्यो काम सकिएन । नामदोङकी छुच्ची बूढीले भनी, ‘यो काम नसकी सुत्न पाउँदैनस् । छिटो सुत्ने भए छिटो काम सक् ।’सरासर काम गर्दा पनि रातिको २ नबजी सकिनेवाला थिएन । २ बजे सुतेर फेरि बिहान ५ बजेदेखि नयाँ काम सुरु हुन्थ्यो।

देशमा हुँदा पटक्कै काम नगरे पनि मजदुरको हक र अधिकार पढ्दै हुर्किएको मेरो चेतना अचानक यसरी सक्रिय भयो कि मेरो मजदुरी दिमागले नामदोङकी छुची बूढीसँग निहुँ खोजिहाल्यो । टुटेफुटेको कोरियन भाषालाई जोडजाड पारेँ । पटक्कै नमिलेको वाक्य बन्यो तर नामदोङकी बूढीले जे बुझ्नुपथ्र्यो, ठीक त्यही बुझी ।‘मलाई राति काम गरेको छुट्टै दाम चाहिन्छ, नत्र काम गर्दिनँ । सम्झौतापत्रमा कामको समय जम्मा आठ घन्टा मात्र छ । २०–२० घन्टासम्म काम गर्न सक्दिनँ ।’

सम्झौतापत्र उसको अघि फालिदिएँ ।नामदोङकी छुच्ची बूढीले सम्झौतापत्र पढी तर केही बोलिनँ । काम गर्दागर्दा थाकेको उसको अनुहार झनै थाक्यो । लामो सास तानेर फोक्सोमा टन्नै हावा भरी ।‘अहिले साहु आएपछि कुरा गर । म केही जान्दिनँ,’ जतिखेरै पनि जान्ने बनी बस्ने मान्छेले केही जान्दिनँ भन्दा मलाई सन्तुष्टि मिल्यो।

थाकेर चुर भएको मेरो अनुहारमा फूर्ति पस्यो । सोचेँ, आज थर्काउँछु ।राति १२ बजे रक्सीले मातेर नामदोङ घर आयो । बियरका नयाँ क्यान र कुखुराको मासु देखाउँदै भन्यो, ‘काम सकेपछि रक्सी र मासु खानुपर्छ ।’तर, नामदोङले मलाई बियर र मासु दिन भ्याएन । उसकी बूढीले सुनाइहाली, ‘अब यो काम गर्दैन रे । राति काम गरेको छुट्टै पैसा माग्दै छ।’

नामदोङ अरिंगालको गोलोमा ढुंगा हानेझैँ बिच्कियो । अचानक मेरो मुटुमा चिल्यो ।‘मैले खान दिएको छु । कोठा दिएको छु । काम गर्ने कपडा र जुत्ताहरू दिएको छु । सित्तैमा धेरै घन्टा काम लगाएको छुइनँ । आठ घन्टा मात्र काम गर्छस् भने खान दिन्नँ । बस्न दिन्नँ,’ नामदोङ फटाफट बोल्यो । मैले नबुझ्ने अनेकथरी गाली गर्न थाल्यो।

मसँग गाली फर्काउने भाषा भएन । हिम्मत भएन । जब लड्न सक्दिनँ भनेर हिम्मत हारिँदो रहेछ, तब रिस समेत नउठ्दो रहेछ । राजामहाराजाको अघि झोँक्राइरहेको निरीह नै ठीक ।राति १ बजेसम्म पनि काम सकिएन । तर मलाई ‘जा गएर पसारिई’ भन्ने भावमा सुत्न पठायो ।कोठा छिर्नुअघि मलाई हकार्दै सम्झायो, ‘भोलिदेखि खान र बस्न दिन्नँ । यो कोठा छाड् र किचनभित्र नपस्।’

खाने कुरो कहाँ पाइन्छ ? खानेकुरा जम्मा गर्न के गर्ने ? कहाँ जाने ? राति कहाँ सुत्ने ? पूरै तीन महिना बितिसक्दा एकाधपल्ट बजार पुगेको छु । तर, हिँडेर हैन, नामदोङको कारमा चढेर । हिँडेर त पूरै चार–पाँच घन्टा लाग्ला । बस कहाँ र कसरी चढ्ने थाहा छैन ।मेरो जुनी नामदोङको हत्केलामा छ । उसले हत्केला पल्टाइदियो भने म भोकै मर्छु । काम गर्दागर्दै भोकभोकै मरेको मेरो मृत्यु स्केच कल्पेर खुब डराएँ।

गाउँको बीचमा एउटा सरकारी गोदाम छ । जहाँ सब्जी प्याक गर्ने कार्टुनले भरिएको छ । दिनभर काम गरेर रातभर त्यहाँ सुत्न त सकिन्छ । तर खाने विकल्प भएन । मैले खाने विकल्पबारे निकैबेर सोचेँ ।यस्तो बेला त डर पनि नलाग्दो रहेछ । जस्तो पर्दै आउँछ, उस्तो टर्दै जान्छ भन्ने हुँदो रहेछ ।सधैँ ५ बजे बिहानको खान पाक्थ्यो । त्यस दिन नामदोङको भान्सामा खाना पाकेन ।म खाना नखाई काँक्रा टिप्न बारीमा पसेँ ।१२ बज्यो । दिउँसोको खाना खान नामदोङले बोलाएन।

दिउँसोको ४ बज्यो । खाजा खान बोलाएन । मैले काम छाडिनँ । लगातार गरिहेँ ।दिउँसो खाना खाने बेला पनि किन बारीमा काम गरिरहेको भनेर साँझ नामदोङ कि बूढी आमाले सोधिन् ।भाषा थिएन । सबै त भन्न सकिनँ । तर ‘साहुले खाना खान बोलाएन’ भन्न सकेँ ।आमैले मलाई पाउरोटी र दूध ल्याएर दिइन् । ‘यो खाँदै गर, अहिले एकछिनमा गएर छोरालाई सम्झाउँछु,’ भनिन्।

साँझ बारीको सबै काम सकिएपछि म गोममा गएँ । जहाँ नामदोङका बूढाबूढी काँक्रा र फर्सी कार्टुनमा प्याक गरिरहेका थिए ।एकैछिनपछि नामदोङकी आमा पनि आइन् र छोरालाई थुप्रै बेर के के भनिन् । त्यो हृदय भएकी बूढी मान्छेले छोरालाई के के भनिन् । म बुझ्न चाहन्थेँ, तर सकिनँ।

आमाले केही भनेपछि नामदोङको अनुहारको रंग बदलियो । ममाथि दया राख्दै भन्यो, ‘भान्सामा गएर पाउरोटी र दूध खाँदै गर ।’ तर मैले खाँदिनँ भन्ने भावमा टाउको हल्लाएँ । उसकी आमाले भनिन्, ‘मैले खाजा दिएको छु । भरे भात दे ।’‘म अब काम गर्दिनँ । जब सेन्टरमा फोन गरेको छु ।’ मेरो मुटुको सबै शक्ति एकैपल्ट खर्च गर्दा नामदोङलाई यति भन्न पुग्यो।

जब सेन्टरको नाम सुन्दा नामदोङ तर्सियो । उसले ठानेको रहेछ ‘म यति गवाँर छु कि सरकारी जब सेन्टरबारे पटक्कै थाहा छैन । त्यहाँ रिपोर्ट गर्ने कुनै तरिका मसँग छैन ।’‘किन जब सेन्टरमा फोन गरिस् ! बरु राति काम नगर । खान दिन्छु । बस्न पनि दिन्छु । दुई महिनापछि खेतबारीको सबै काम सकिन्छ । अनि जा ।’

नामदोङले मसँग गर्ने व्यवहारमा परिवर्तन ल्यायो । बाघजस्तो मान्छे पनि बिरालोजस्तो बन्यो । काम सकिएर हिउँद लागेपछि नेपाल घुम्न जान्छु भन्न थाल्यो । तेरो घरबाट हिमाल कति टाढा छ भनेर हिमाल जाने बाटो सोध्न थाल्यो ।म मजदुर हुँ र नामदोङ मालिक हो भन्ने मेरो चतनाले भन्थ्यो, ‘यो हृदय नभएको खराब मान्छेसँग म जसै बदला लिएर छाड्छु । फकाएर नेपाल लैजान्छु । हिमालतिर पुर्‍याउँछु र भीरतिर अलपत्र छाडेर भाग्छु।’

मैले नामदोङसँग त्यसरी बदला लिनुपरेन । ऊमाथि मेरो अथाह सम्मान बढेर आयो । जब मेरा सागका सबै बिरुवा मरे । मैले नामदोङको मेहनतको महत्व बुझेँ ।प्रिय नामदोङ ! तिमी साँच्चै असल किसान हौ । तिमी साँच्चै कर्मको ईश्वर हौ । म धार्मिक ईश्वर नमान्ने नास्तिक हुँ, तर तिमीभित्रको ईश्वरमाथि आस्था राख्छु ।
 

 

प्रकाशित: ३ चैत्र २०७४ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App