लक्ष्मी तामाङ (५३) झापाबाट काठमाडौं आएकी थिइन्, छोरा भेट्न । काठमाडौंमा नन्दको घरमा पढ्न बसेका छोरालाई धेरै समयपछि भेट्न पाउने भएकाले उनी निकै उत्साहित थिइन् ।
जब उनले छोरालाई भेटिन्, उनी खुसी हुन सकिनन् । भेटमा छोराको कुरा सुन्दा उनी छाँगाबाट खसेजस्तै भएकी थिइन् । पहिलोपल्ट छोराले आफू तेस्रोलिंगी भएको खुलाएपछि अँध्यारो भएको उनको मुहारमा अचेल भने खुसीको मुस्कान छाउँछ।
अहिले सन्तानको खुसीमा नै आफू खुसी रहेको लक्ष्मी बताउँछिन् । लक्ष्मीले छोराको रूपमा हुर्काएको कान्छो सन्तान अहिले छोरी भएकी छन्।
लक्ष्मीले जेठो छोरो १९ वर्षको उमेरमै खसे । लक्ष्मी भन्छिन्, ‘जेठो छोराको वियोगपछि वंशको चिन्ता थियो । यही बेला कान्छो छोरालाई छोरीको रूपमा देख्दा मुटु चिमोट्यो।’ कान्छो छोराले सानैदेखि छोरीको जस्तो व्यवहार देखाए पनि छोरी नै होला भन्ने नसोचेको उनी बताउँछिन्।
‘सुरुमा छोराले छोरी हुन्छु भन्दा त छक्क परेँ नि,’ उनी भन्छिन्, ‘सानैबाट छोरीकै व्यवहार गरे पनि पछि गएर छोरी नै बन्ला भन्ने सोचेकी थिइनँ।’
सुरुसुरुमा छोरालाई छोरीका रूपमा स्विकार्न गाह्रो भए पनि अहिले सबै राम्रै रहेको उनले सुनाइन् । उनी भन्छिन्, ‘समाजले के भन्ला अथवा के गर्ला भन्ने सोचियो भने आफू कहिल्यै खुसी हुन सकिँदैन । हामी त यही सन्तानको खुसीका निम्ति बाँचेका छौँ।’
छोरालाई मेघ्ना (छोरी) को रूपमा बोलाउँदा उनी कहिलेकाहीँ झुक्किन्छिन्। उनी भन्छिन्, ‘छोरा– छोरीमा केही फरक छैन। आफ्नो सन्तानलाई उसको इच्छाअनुसार जीवन बाँच्न दिएँ, त्यही नै ठूलो खुसी हो।’
जब उनले छोरालाई भेटिन्, उनी खुसी हुन सकिनन्। भेटमा छोराको कुरा सुन्दा उनी छाँगाबाट खसेजस्तै भएकी थिइन् । पहिलोपल्ट छोराले आफू तेस्रोलिंगी भएको खुलाएपछि अँध्यारो भएको उनको मुहारमा अचेल भने खुसीको मुस्कान छाउँछ।
जेठो छोरा बितेपछि नौ वर्षसम्म घरपरिवारसँगै बसेकी उनकी बुहारीले भने विवाह गरेर नयाँ जीवन सुरु गरेकी छन् । उनी भन्छिन्, ‘सन्तानको खुसीमा हामीले बाधा पुर्याउनु हुँदैन। इच्छाविपरीत भयो भने डिप्रेसनमा परेर आत्महत्या गर्ने, घर छाडेर भाग्ने भन्दा सन्तानकै खुसीमा नै बाँच्नु राम्रो हो।’
आफ्नो सन्तानको हरेक पाइलामा आफूले साथ दिने गरेको उनी बताउँछिन्। उनी आफ्नो सानो गाउँलाई हैन, संसार हेरेर बाँच्न चाहन्छिन् । र, संसारमा सम्मानका साथ बाँचिरहेका तेस्रो लिंगीहरू जस्तै आफ्नो छोरीलाई पनि सम्मानका लागि जिएको हेर्न चाहेको बताउँछिन्।
‘मेरो छोरा अहिले छोरी भए पनि उसले मलाई गर्ने माया र सम्मानमा कमी आएको छैन । म निकै खुसी छु, मेरी छोरी आफूले चाहेजस्तो जीवन बाँचेकी छन् ।’
मेघ्नासँग हिजोआज आमा मात्र नभएर आफन्त पनि खुसी छन् । सबैजना उनलाई खुसी बनाउन चाहन्छन् । मेघ्नाकी काकी सुशीला तामाङ पनि मेघ्नालाई देखेर खुसी लागेको बताउँछिन् ।
सुशीलाको दुई छोरा मात्र छन् । मेघ्नाले छोरीको अभाव पूरा गरेको अनुभव उनी बताउँछिन् । ‘सन्तानमै छोरी थिएनन्, मेघ्ना छोरी भएपछि सबै खुसी छौँ,’ सुशीला भन्छिन्, ‘उनले आफ्नो जीवन खुसीका साथ बिताउन पाएकी छन् । यसैमा हामी खुसी छौँ ।’
मिस ट्रान्स्जेन्डर मेघ्ना
तेस्रोलिंगी पहिचानले मात्र मेघ्ना लामाको परिचय पूरा हुँदैन । मिस ट्रान्स्जेन्डर मेघ्ना व्यवसायी पनि हुन् । हिजोआज उनी कसैसँग प्रेम सम्बन्धमा रहेको बताउँछिन् ।
‘हामी एकअर्कालाई निकै माया गर्छौं,’ उनले हाँस्दै भनिन्, ‘तेस्रोलिंगीलाई पुरुष वा महिला नै मनपर्छ । तेस्रो लिंगीलाई तेस्रो लिंगी मात्रै मनपर्छ भन्ने हुँदैन।’
मेघ्नालाई आफू तेस्रोलिंगी हो भन्ने कुरा निकै पछि थाहा भएको हो । तथापि बाल्यकालदेखि नै आफ्नो लैंगिक पहिचानलाई लिएर अन्योलमा रहेको उनी बताउँछिन् ।
आफू हुर्केको समय सम्झँदै उनी भन्छिन्, ‘नौ वर्षको हुँदा आँखीभौँ उखेलेर आउँदा ममीले झन्डै मार्नुभएको थियो । आफूलाई फेरि केटीको सबै कुरा मनपर्ने ।’ खेल्ने, हिँड्ने, बोल्ने सबै केटी साथी रहेको उनी बताउँछिन् । ‘त्यो बेला बेरिना मेहन्दी निकै चलेको थियो, त्यो लगाएर घर जाँदा ममीले कराएर झन्डै मार्नुभएन,’ उनले हाँस्दै भनिन्।
मिस ट्रान्स्जेन्डर २०११ भएपछि आफूलाई सामाजिक कार्य गर्न र मोडलिङमा समेत थप उत्साह मिलेको उनी बताउँछिन् । उनले आफ्नो लैंगिक पहिचान थाहा पाएको सन् २००९ मा हो । त्यसपछि उनले २०११ मा मिस ट्रान्स्जेन्डरको उपाधि पनि जितिन् ।
सुरुमा आफू तेस्रो लिंगी भएको थाहा भएपछि साथीको घरबाट केटीको पहिरनमा हिँडेको सम्झना उनी सुनाउँछिन् । ‘पछि बिस्तारै सबैलाई थाहा भयो । सुरुमा बाबा, आमाले गाली गर्नुभयो ।’ काठमाडौं आएपछि तेस्रो लिंगीको पहिचान बोकेर बाँच्न निकै संघर्ष गर्नुपरेको उनी बताउँछिन् । कोठा पाउनदेखि हिँड्न पनि निकै सास्ती खेप्नुपरेको उनी सुनाउँछिन् । बाटामा हिँड्दा धेरैले जिस्काउने, नानाथरीको नामले बोलाएर बनाउने हैरानी पनि उनले धेरै खेपिन्।
उनी भन्छिन्, ‘कसैले छक्का, हिजडा भन्दा पहिलापहिला रिस उठे पनि चुप बस्थेँ । तर आजभोलि चुप बस्दिनँ ।’ तेस्रो लिंगीको अपमान गर्नु हँुदैन भन्ने कुरामा पहिलेभन्दा निकै परिवर्तन आएको मेघ्नाले अनुभव गरेकी छन्।
विगतमा जस्तो तेस्रो लिंगीले प्रत्येक पाइलामा अपमान, दुव्र्यवहार, विभेद सहन पर्ने अवस्था हिजोआज कम भएको उनी सुनाउँछिन् ।
सुरुका दिनमा त आफ्नै आमाबुबालाई सम्झाउन समेत गाह्रो प¥यो मेघ्नालाई ।
‘आमा बुबालाई वंश मासिने भयो भनेर निकै चिन्ता रहेछ, जुन कुरा सम्झाउन समय लाग्यो,’ उनले भनिन् । अहिले परिवारले बुझेका छन् । व्यक्ति, परिवार, समाजको तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएकाले आफूमा देशका लागि केही गर्ने आँट आएको उनी बताउँछिन् ।
यति हुँदाहुँदै पनि धेरै कुरा फेरिन बाँकी रहेको उनी बताउँछिन् । ‘पहिलाको तुलनामा निकै राम्रो भएको छ, तर अवसरबाट वञ्चित किन गरिएको छ त ?’ उनी प्रश्न गर्छिन् ।
आफ्नो पहिचान र अधिकारबारे उनीसँग अझ थुप्रै प्रश्न छन् । ‘तेस्रोलिंगीलाई सेक्ससँग सम्बन्धित काम गर्छन् भनेर अपमान गर्ने यो समाजसँग एउटा प्रश्न सोध्न चाहन्छु, कुन ठाउँमा हामीलाई अवसर छ र ? कति एलजिबिटी साथी हुनुहुन्छ, जो आर्मी, सेनामा जान चाहनुहुन्छ, तर खोई त्यो प्रावधान ?’
उनले एयर होस्टेस तालिमका लागि प्रयास गरेकी थिइन् । आफू तेस्रोलिंगी भएकै कारण एयर होस्टेस हुन नपाएको दुखेसो पोखिन् । ‘त्यहाँ तोकिएको नियमअनुसार ममा सबै कुरा हुँदा पनि एयरहोस्टेस हुन सकिनँ, किनकि म तेस्रोलिंगी हुँ,’ उनले दुःख पोखिन् ।
अवसर नभएर नै आफूमा भएको खुबी लुकाएर बस्नुपरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘परिवर्तन बिस्तारै हुन्छ, एकैपटक धेरै हुँदैन, ब्लुडाइमन्ड सोसाइटी हाम्रो हकहितका लागि लडिरहेको छ।’
समाजमा आफूलाई खुलेर चिनाउन अप्ठेरो मान्ने एलजिबिटिआई समुदायका व्यक्तिलाई ब्लु डायमन्ड सोसाइटीले सहयोग गर्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कोही पनि साथमा छैनन् भने ब्लु डाइमन्ड सोसाइटीमा आएर कुरा गर्न सक्नुहुन्छ । हामीले गर्नुपर्ने सहयोग हामी गर्छाैं’ जो कोही पनि आफ्नो जीवन आफ्नो इच्छाअनुसार बाँच्न पाउनुपर्ने उनी बताउँछिन्।
मेघ्ना आजभोलि पिंक टिफ्नी रेस्टुरेन्टमा व्यस्त हुन्छिन्। भर्खरै मात्र सञ्चालनमा आएको उनको रेस्टुरेन्ट ठमेलमा छ । पिंक टिफ्नीमा कर्मचारी राख्दा अल्पसंख्यक समुदाय र एलजिबिटीलाई विशेष प्राथमिकता दिने उनी बताउँछिन्।
प्रकाशित: ३ चैत्र २०७४ ०१:५७ शनिबार