coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘सरकारले काखापाखा ग-यो’

धादिङ – त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारका रामजी श्रेष्ठको परिवार अझै टहरामा छ। आँगनमा भूकम्पले भत्काएको घरका काठ, ढुंगा र माटो छरपष्ट छ। भत्किएको घरैनजिक काठको खाँबो गाडेर जस्ताले बार लगाएको टहरामा बस्दै आइरहेको छ श्रेष्ठ परिवार। तीन वर्ष हुन लाग्यो टहरमा बस्न लागेको तर पनि श्रेष्ठले अझैं घर बनाउन सकेका छैनन्। सरकारी अनुदान पाउँला र घर बनाउँला भनेर बसेका उनको आशा निराशामा परिणत भएको छ। ‘कतिपय छरछिमेकीले घर ठड्याएर पनि बस्न थालिसके, आफ्नो भने अझंै पनि टहरामा नै बास छ’, श्रेष्ठले भने, ‘सरकारले पनि कसैलाई काखा र कसैलाई पाखा ग-यो।’ 

श्रेष्ठ अहिले घर बनाउन सरकारी अनुदान कुर्दै छन्। ‘घर बनाउन पैसा छैन, सरकारको अनुदानमा नाम अटेन’, उनले भने, ‘बोल्नेको पिठो पनि बिक्छ भन्थे हो रहेछ।’ कसैकसैले नभत्केका घर पनि भत्केको भनेर अनुदान लिएका छन् तर आफूले भने पूरै घर क्षति भए पनि अनुदान नपाएको श्रेष्ठको गुनासो छ। 

पहिलोपटक इन्जिनियरले घरको क्षति विवरण संकलन गर्न आउँदा उनको नाम छुट्यो। भूकम्पले पूर्ण रुपमा क्षति भएको तर निजी आवास निर्माणमा नाम छुटेका लाभग्राहीको पुनः सर्वेक्षण गरिएको थियो। त्यसमा पनि उनको नाम अटेन।  अनुदान पाउनका लागि उनी वडा कार्यालय, गाउँपालिका कार्यालय तथा जिल्लामा समेत धाइसकेका छन्। उनी भन्छन्, ‘वडालाई सोध्न गयो केन्द्रले नै रोकिदिएको जबाफ आउँछ। गाउँपालिकाका कर्मचारीले वास्तै गर्दैनन्। टहरामा जीवन गुज्रिएको छ।’ 

श्रेष्ठजस्तै सल्यानटारका अधिकांश भूकम्पपीडितले घर पूर्ण रुपमा क्षति भए पनि बनाउन सरकारी अनुदान नपाएको गुनासो गरेका छन्। कतिपय भूकम्पपीडितले आफ्नो घरमा क्षति भएको तर लाभग्राही सूचीमा नपरेको गुनासो गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरको तथ्यांक संकलन गरेको थियो। प्राधिकरणले खटाएका तथ्यांक संकलकको लापरबाहीका कारण आफ्नो नाम छुटेको पीडितहरुको गुनासो छ। लाभग्राही सूचीमा नाम छुटेको भन्दै वडा कार्यालय, गाउँपालिका तथा पुनर्निर्माण प्राधिकरणको कार्यालयमा दैनिक भूकम्पपीडितको घुइँचो लागे पनि माग कहिले सम्बोधन हुने हो टुंगो छैन। 

घर बनाउन अनुदान कुर्दाकुर्दै तीन वर्ष टहरामा बिताएका गजुरी– १ का कृष्णबहादुर भुजेलले पनि अझैं घर बनाउने सुर गरेका छैनन्। उनले भने, ‘आफैंले घर निर्माण गर्न सक्ने अवस्था छैन। सरकारी अनुदान कुर्दाकुर्दै तीन वर्ष बित्न लागिसक्यो । तर अहिलेसम्म पनि घर बनाउन अनुदान पाएको छैनन्।’ भुजेलको घर भूकम्पले पूर्ण रुपमा भत्काएको छ। तर सरकारले आवास निर्माणका लागि दिने रकम अझैसम्म पनि उनले पाउन सकेका छैनन्। उनलेले तीन पटकसम्म गुनासो फाराम भरेर बुझाइसकेका छन्। ‘छिमेकीले घर निर्माण गरेर पनि बसिसके, आफू भने टहरामा नै बस्नुपरेको छ’, उनले भने, ‘भूकम्पपीडितमाथि पनि राजनीतिक खेल भयो।’ 

प्राधिरकणको बेबसाइटमा उल्लेख भएअनुसार धादिङमा निजी आवास पुनर्निर्माणका लागि १६ हजार ४ सय ७ घरधुरीको गुनासो दर्ता भएको छ। प्राधिकरणले घर बनाउन दोस्रो किस्ताको अनुदान लिने म्याद यही चैत मसान्तसम्म तोकेको छ। तर यी गुनासा दर्ता गरेकाले अनुदान लिएर घर बनाउने सम्भावना तत्काललाई न्यून छ। सरकारले गुनासो सम्बोधनमा ढिलाइ गर्दा टहराकै बास भएको पीडितको गुनासो छ। धादिङमा हालसम्म ४ हजार ४ सय १२ घरधुरीले तेस्रो किस्ताको पनि रकम लिएर घर निर्माण गरिसकेका छन्।

प्रकाशित: ३ चैत्र २०७४ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App