७ वैशाख २०८१ शुक्रबार
कला

चुली चढ्ने चेली

रहरले हिमाल चढ्नेका लागि एकपटक साहस जुटाए पुग्छ। हिमाल चढ्ने पेसा बनाउनेका लागि भने बारम्बार साहस जुटाउनुपर्छ। किनकि, पाँच हजार मिटरमाथिको क्षेत्र जुनसुकै समयमा पनि खतरा हुन सक्छ। त्यसैले त्यसमाथिको क्षेत्रलाई ‘डेथ जोन’ भनिन्छ। यस्तो जोखिममा पर्ने हिमाल चढ्न बल र बुद्धि मात्रै हौइन, शारीरिक क्षमता र साहसको बढी जरुरी हुन्छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा होस् वा अन्य हिमालको चुचुरो पुगेर देश चिनाउनेमा महिलामा पर्छन्– लाक्पा शेर्पा, माया शेर्पा, पासाङ ल्हामु शेर्पा, दावा यान्जुम शेर्पा, पेमादिकी शेर्पा लगायत।

शंखुवासभाकी लाक्पा शेर्पा त्यस्ती व्यक्ति हुन्, जो बर्सेनि आफ्नै कीर्तिमानलाई तोड्छिन्। लाक्पाले अहिलेसम्म आठौँपटक सगरमाथाको चुचुरोमा पाइला राखिसकेकी छन्। सबैभन्दा बढीपटक सगरमाथा चढ्ने महिलाको रूपमा लाक्पाको नाम चर्चित छ। यसरी आफ्नो नाम फैलाउँदै गर्दा लाक्पाले सँगसँगै नेपालको नाम पनि फैलाइरहेकी छन्। त्यसो त उनी बर्सेनि शिखरमा पुग्दा विदेशीलाई समेत लिएर जान्छिन्। र, सगरमाथाको चुचुरोबाट नेपाल चिनाउने गर्छिन्। ४४ वर्षीया लाक्पा अझै आफ्नो कीर्तिमानलाई तोड्न चाहन्छिन्। ‘दशपटक चुचुरोमा पुग्ने महिला भनेर चिनिनु छ मलाई,’ उनले भनिन्, ‘आफूलाई मात्रै होइन, नेपाललाई नै विश्वमा चिनाउन पनि शिखरमा बारम्बार पुग्ने गर्छु।’ सन् २०१३ मा बिबिसीले सार्वजनिक गरेको संसारका सय शक्तिशाली महिलाको सूचीमा परेकी लाक्पा अमेरिकामा बसोबास गर्दै आएकी छन्। वसन्तकालीन सिजनमा नेपाल आई विदेशीलाई समेत सगरमाथा चुमाएर फर्किन्छिन्।

ओखलढुंगाकी माया शेर्पाले पनि चारपटक सगरमाथाको शिखर चुमिसकेकी छन्। सगरमाथा आरोही संघकी अध्यक्ष समेत रहेकी मायाको अनुभवमा हिमाल चढ्नु सहज छैन। चढ्न नसक्ने पनि होइन। सन् २००१ देखि ट्रेकिङ गाइड पेसाबाट करिअर सुरु गरेकी माया चारपटक सगरमाथाको शिखरमा पुगिसकेकी छन्। योबाहेक पहिलो नेपाल महिला आरोहीको रूपमा आमादब्लम (६,८१२ मि), पुमोरी हिमाल (७,११५ मि), च्योयु (८,२११ मि), बरुन्चे (७,११० मि), हिम्लुङ (७,१२६ मि) लगायतको हिमाल चढिन्। यी सबै हिमालमा पुग्ने उनी नै पहिलो नेपाली महिला आरोही हुन्। 

‘हिमालहरूको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’ जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु (८६१२ मि)मा पाइला राख्ने पहिलो महिला भनेर पनि मायाको नाम लेखिएको छ। विश्वकै दोस्रो अग्लो मात्र होइन, प्राविधिक रूपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा पहिलोपटक महिलाको पाइला पु-याउनेमा उनी एक्ली भने थिइनन्। सोलुखुम्बुकी पासाङ ल्हामु र दोलखाकी दावा यान्जुम पनि सँगै थिए। तीन महिलाले अभियान नै बनाएर माउन्ट केटुको सन् २०१४ मा आरोहण गरेका थिए।

सन् २००३ बाट हिमालमा पर्यटकलाई बाटो देखाउने र जानकारी दिन सहयोगी गाइडका रूपमा काम थालेकी पासाङ ल्हामु अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुन्। उनी बढीजसो साउथ र नर्थ अमेरिकामा गाइडको काम गर्छिन्। फ्रान्सबाट डिप्लोमा माउन्टेनरिङ कोर्स गरेकी पासाङ ल्हामुले सगरमाथा, केटुसहित अमादब्लमको शिखर पुगेकी छन्। नेसनल जिओग्राफी एड्भेन्चर अफ द इयर माउन्टेनरिङ वर्ष २०१५ को उपाधि पाएकी पासाङ ल्हामुको नाम नाङपाई गोसुम (७,३२१ मि) हिमाल चढ्ने पहिलो महिलाको रूपमा छ।

अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको प्रमाणपत्र पाउने दक्षिण एसियाकै पहिलो महिला गाइड बनेकी दोलखाकी दावा यान्जुमको नाममा सबैभन्दा कम उमेरमा पाकिस्तानको केटु हिमाल चढ्ने महिलामा छ।

सन् २०१० देखि हिमाल आरोहण सुरु गरेकी दावा यान्जुमले सन् २०११ मा अमादब्लम चढेकी थिइन्। सन् २०१२ मा नेसनल जोग्राफीको टोलीमा गाइड बनेर सगरमाथाको चुचुरो चिनाएकी थिइन्। त्यस्तै, सन् २०१४ मा पाकिस्तानको केटु हिमाल आरोहण गरिन्। दुई वर्षदेखि अमेरिकाको अल्पाइन ऐसेन्ट इन्टरनेसनलमा गाइड गर्दै आएकी दावा बर्खामा अमेरिका, हिउँदमा अर्जेन्टिना र बाँकी समय नेपालमा हिमाल चढाउने काम गर्दै आएकी छन्।

दोलखा गौरीशंकरकी पेमा दिकीले समावेशी टिममार्फत सन् २००८ मा सगरमाथाको चुचुरो चुमिन्। त्यतिबेला पेमाको साथमा थिए– विभिन्न जाति, पेसा, धर्म, थर, भूगोलका १० महिला। तीमध्ये पेमा डिकी, माया गुरुङ, शैली बस्नेत, आशाकुमारी सिंह, चुनु श्रेष्ठ, ङिमडोमा शेर्पा र पूजन आचार्य भने सेभेन सिस्टर्स गु्रप बनाएरै हिमाल चढ्ने काम गरिरहेका छन्। सेभेन सिस्टर्सले सेभेन पिक चढेर नेपाल चिनाउने लक्ष्य राखेका थिए। सोही लक्ष्यअनुसार विभिन्न देशका सात हिमाल चुचुरोमा पुगेर नेपाल चिनाउने काम गरिरहेका छन्।

यसरी महिला हिमाल चुचुरो पुगेर नेपाल चिनाउने काम गर्नुको देन भने पहिलो महिला सगरमाथा आरोही जापानकी जुन्को ताबेई र पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पालाई दिनुपर्ने ठहर सगरमाथा आरोही संघकी अध्यक्ष समेत रहेकी मायाको छ। ताबेई र पासाङ चुचुरोमा पुगेसँगै नेपाली महिला आरोहणमा लागेर नेपाललाई समेत चिनाइरहेको अनुमान उनको छ।

प्रकाशित: ३ चैत्र २०७४ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App