coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

मार्च १४ मा मनाऔँ ‘जिनियस डे’

विश्वभरि अनेक दिन अनेक थरीका ‘स्मृति दिवस’ मनाउने चलन छ,

इन्टरनेसनल यो डे र त्यो डे। किञ्चित पनि मेरो यसमा विरोध छैन । एउटा माग मात्रै तेर्साउन यो भूमिका बाँधेको हो। प्रत्येक वर्षको मार्च १४ लाई ‘इन्टरनेसनल जिनियस डे’का रूपमा मनाउन आवश्यक छ। एउटा कारण म आफैँ ‘जिनियस’ भएकाले, अर्को यो लेख पढिरहनुभएको तपाईं ‘जिनियस’को सम्मानका लागि पनि वर्षका कुनै दिन त हामी ‘जिनियस’को सम्झनास्वरूप मनाइनु आवश्यक छ नि! 

आउनुस् तपाईंलाई इतिहासको यात्रामा लैजाउँ। सन् १९०५ तिरको कुरा हो। एउटा कम्पनीमा काम गर्ने ‘क्लर्क’ मनमनै आफैँसँग प्रश्न गरिरहेको थियो। प्रश्न थियो, यदि प्रकाशको गति सर्वाधिक, ‘दुई लाख ९९ हजार सात सय ९२ किमि प्रतिसेकेन्ड’ एवं स्थिर छ भने, ‘के हुन्छ होला?’ म दुई लाख ९९ हजार सात सय ९२ किमि लामो ‘ट्रेन’ को पहिलो डब्बा ‘अ’ माथि उभिएको छु, र मेरो पाठक एवं मित्रका रूपमा तपाईं सबैभन्दा पछाडिको डब्बा ‘ब’ माथि उभिनुभएको छ।
 
तपाईंले एउटा ‘टर्चलाइट’ बाल्नुभयो र मतिर ‘फोकस’ गर्नुभयो। भौतिक विज्ञानको पूर्णतःपालन गर्दै ‘टर्चलाइट’को प्रकाश ‘मसम्म’ एक सेकेन्डको निर्धारित समयमा आइपुग्यो। नबिर्सनुहोला, हाम्रो ‘टे«न’को लम्बाई दुई लाख ९९ हजार सात सय ९२ किमि छ। यति नै एक सेकेन्डमा प्रकाशले हिँड्ने ‘स्थिरांक’ छ।

अब त्यो क्लर्कले अर्को कल्पना ग-यो, यदि त्यो ‘ट्रेनलाई’ प्रकाशको गतिको आधा गतिले गुडाइयो । तपाईंले फेरि टर्चको प्रकाश मतिर फ्याल्नुभयो।

अब तपाईं स्वयं नै, ‘म भएकोतिर’ प्रकाशको आधा गतिले आउँदै हुनुहुन्छ । त्यसो भए यस बेला प्रकाश आधा सेकेन्डमै मसम्म आई पुग्नुपर्ने हो? 

‘क्लर्क’का आँखा चम्किए, उनले जवाफ पाइसकेका थिए। तर, तिनलाई त्यति खेरसम्म थाहा थिएन, उनले पाएको जवाफले ब्रह्माण्ड र समयका बारेमा सबै प्रचलित मान्यता ध्वंश गर्दै विज्ञान नयाँ आयाममा प्रवेश गर्न गइरहेको छ।

आइन्स्टाइन मानवताको इतिहासकै सर्वाधिक ‘जिनियस’ मानिन्छन् । ‘द ग्रेट जिनियस’ । आइन्स्टाइनले आफ्नो जीवनमा अनेकौँ पुस्तक एवं ‘रिसर्च पेपर’ लेखे । उनको जीवन र कार्यबारे अनेकौँ लेखकले कैयौँ पुस्तक लेखेका छन् । यिनै महान् ‘जिनियस’को सम्झनामा हामीले १४ मार्चलाई ‘जिनियस डे’का रूपमा मनाउनु सर्वथा उपयुक्त हुनेछ ।

क्लर्क महासयले १९०६ मा ‘साइन्टिफिक जर्नल’मा लेखे। समय सापेक्ष हुन्छ, प्रत्येक व्यक्तिले भिन्न–भिन्न समय अनुभव गर्छन्। तपाईं जति छिटै हिँड्नुहुन्छ, समय तपाईंका लागि त्यति नै ‘स्लो’ हुँदै जान्छ। ‘स्विस पेटेंट कम्पनी’मा कार्यरत ती क्लर्कका अनुसार माथिको प्रयोगको दोस्रो चरणमा पनि प्रकाशलाई (अ) बोगीबाट (ब) बोगीसम्म पुग्न एक सेकेन्डकै समय लाग्छ।

समयको शास्त्रीय व्याख्यामा जेसुकै भनिए पनि वास्तवमा समय भनेको कणहरूको गति हो।

ती युवा क्लर्कले भनेको कुरा ‘समय गतिसँग परिवर्तित हुन्छ’ परीक्षण गर्ने कुनै उपाय थिएन, १९०६ ताका। र, हाम्रा घडी पनि त्यति दुरुस्त थिएनन्। तर, अहिले तपाईं समयको सटिक परिभाषा बुझ्न सक्नुहुन्छ । एक सेकेन्डको समय कति लामो हुन्छ ? कहिल्यै सोच्नुभएको छ?

‘सिजियम’ तत्वका ‘इलेक्ट्रोनले’ ‘इनर्जी’ पाएर आफूले परिक्रमा गरिरहेको केन्द्रबाट ‘जम्प’ गरेर ‘हाई इनर्जी अर्बिट’मा पुग्छ। र, ‘हाई इनर्जी अर्बिट’मा पुगेर एउटा ‘फोटोन’ (प्रकाशकण) छाडेर पुनः आफ्नो कक्षामा फर्किन्छ । यस प्रक्रियालाई ‘इलेक्ट्रनिक ट्रान्जिट’ भनिन्छ।

केन्द्रमा परिक्रमारत ‘इलेक्ट्रोन’ले ‘जम्प’ गरी ‘हाई इनर्जी अर्बिट’मा पुगी यसरी ‘फोटोन’ छाड्ने प्रक्रिया ९ अरब १९ करोड २६ लाख ३१ हजार सात सय ७० पटक दोह-याउँछ। यो नै हाम्रो एक सेकेन्ड हुन्छ। वैज्ञानिकहरूले ‘एटमिक क्लक’ बनाइसकेपछि एउटा प्रयोग गरे।

सन् १९७१ को अक्टोबर, ‘युएस नभल अब्जरभेटरी’ले एउटा हवाई जहाजमा चारवटा ‘एटमिक क्लक’ राखेर विश्व परिक्रमामा पठायो । विमान फर्केपछि घडी ‘चेक’ गर्दा सबै अवाक् बन्न पुगे। घडीको समयमा परिवर्तन आई सकेको थियो।

हवाई जहाजको गति एक हजारदेखि एक हजार दुई सय किमि प्रतिघन्टा हो। यो गतिमा तपाईं हामी समय ‘स्लो’ भएको अनुभव गर्न सक्दैनौँ। ‘एटमिक क्लक’ले ग-यो। ती क्लर्कले ६५ वर्ष पहिला दाबी गरेको कुरा सत्य साबित भयो। समय गतिको सापेक्ष हुन्छ, समय परिवर्तनशील छ।

तपाईं हामी परोक्ष रूपमा अहिले पनि अनुभव गर्न सक्दैनौँ कि गतिले समय ‘स्लो’ हुन्छ। यदि तपाईंसँग प्रकाशको गति ९९.९९९९ ‘स्पिड’ले उड्ने कुनै अन्तरिक्ष यान छ र तपाईं त्यसमा बसेर एक दिन अन्तरिक्षमा घुमेर पृथ्वीमा फर्किनुहुन्छ भने तपाईंका लागि एक दिन बितेको हुन्छ, पृथ्वीमा भने ६१ हजार दुई सय ८६ वर्ष बितिसकेको हुन्छ। पत्याउन गाह्रो भयो, होइन? तर सत्य यही हो।

हो प्रकाशको ‘स्पिड’ ९९.९९९९ ले उड्न सक्ने ‘स्पेस क्राफ्ट’ बनाउन मानवतालाई अझै हजारौँ वर्ष लाग्छ। स्वीकार गर्नुस्, ती युवा क्लर्क तपाईं र मभन्दा लाखौँ गुणा ‘जिनियस’ थिए। हुन त, तपाईंमध्ये धेरै जनाले क्लर्क महासयलाई चिनिसक्नुभएको होला। तर म उनको नाम लेख्नुभन्दा पहिला उनीबारे केही अरू लेख्ने मुडमा छु।

पछि गएर उनले अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा काम गरे। एक दिन विश्वविद्यालयबाट घर जान ट्याक्सी चढे र प-यो फसाद! आफ्नो घरको ‘एड्रेस’ बिर्सेछन्। ट्याक्सी ड्राइभर उनलाई अनुहारले चिन्दैनथ्यो।

उनले ड्राइभरलाई भने, ‘मैले आइन्स्टाइनको घर पुग्नु छ, के तपाईंलाई उनको घर थाहा छ?’ ट्याक्सी ड्राइभरले भने, ‘प्रिन्सटनमा आइन्स्टाइनको घर थाहा नपाउने कोही पनि छैन। म तपाईंलाई सोझै उनको घर पु¥याइदिन्छु।’ ओर्लेपछि पैसा तिर्दै ती महान् ‘जिनियस’ले भने, ‘धन्यवाद म नै आइन्स्टाइन हुँ, मैले आफ्नो घरको ‘एडे«स’ बिर्सेको थिएँ।’ 

अर्को एउटा घटना, उनी ट्रेनमा यात्रा गर्दै थिए । ‘टिकट चेकर’ आयो। उनले सर्वत्र खोजे तर टिकट भेटिएन। ‘म तपाईंलाई चिन्छु, तपाईंजस्तो मानिस टिकट नकिनी हिँड्दैन, खोज्न छाडिदिनुस्’ भन्दै चेकर अगाडि बढे। तर, आइन्स्टाइनले टिकट खोज्ने प्रक्रिया जारी राखे। यो देखेर अर्का सहयात्रीले भने, ‘छाड्नुस् महासय ‘चेकर’ गइसके। आइन्स्टाइनले जवाफ फर्काए, ‘टिकट नभेटिए मैले कहाँ पुगेर ओर्लिनुछ, कसरी थाहा पाउने?’
 
यिनै महान् होइन, महानतम ‘जिनियस’ आइन्स्टाइन जन्मेका थिए, १४ मार्च सन् १८७९ मा, जर्मनीको एउटा यहुदी परिवारमा। बा थिए, हर्मन आइन्स्टाइन र आमा पाउलिन आइन्स्टाइन। चार वर्षको हुँदासम्म उनी बोल्न समर्थ थिएनन् । उनले पहिलोपटक बोलेको वाक्य थियो, खाना खाँदा ‘सुप धेरै तातो छ’। केटाकेटीमा आइन्स्टाइन मन्द बुद्धिका थिए, तर पछि गएर यही मन्द बुद्धि बालक महानतम वैज्ञानिक बने।

आइन्स्टाइनलाई आज विश्वभरि नै सर्वसाधारणले ‘ई बराबर एमसी स्क्वायर’का लागि चिन्छन्। तर, विज्ञानका विद्यार्थीका लागि उनी ‘जनरल रिलेटिभिटी’, ‘स्पेसल रिलेटिभिटी’, ‘फोटो इलेक्ट्रिक इफेक्ट’, ‘ब्रोनियन मोसन थ्योरी’, ‘आइन्स्टाइन फिल्ड इक्वेसन’, ‘बोस आइन्स्टाइन स्टेटिक्स’, ‘बोस आइन्स्टाइन कन्डेन्सेंट’ ‘ग्रेभिटेसनल वेभ’, ‘कस्मोलोजिकल कन्सटेन्ट’, ‘युनिफाइड फिल्ड थ्योरी’, ‘इपिआर प्यारोडक्स थ्योरी’ जस्ता अनेकौँ वैज्ञानिक सिद्धान्तका लागि विख्यात छन्। 

‘क्वान्टम थ्योरी’को आविष्कारकर्ताका रूपमा विख्यात वैज्ञानिक म्याक्स प्लांकले एकपटक भनेका थिए, ‘आधुनिक भौतिकशास्त्रमा यस्तो कुनै विषय छैन, जहाँ आइन्स्टाइनको केही न केही योगदान नहोस्।’

‘पार्टिकल थ्योरी’, ‘मोसन अफ मलिक्युलस’ र प्रकाशको ‘थर्मल प्रोपर्टी’को उनको सिद्धान्तले पछि गएर ‘फोटोन थ्योरी’ प्रतिपादित भयो।

अर्का एकजना भौतिक विज्ञ रिचर्ड फेन्मनले भनेका थिए, ‘प्रत्येक सैद्धान्तिक भौतिकविद् आइन्स्टाइनकै कुनै न कुनै खोजलाई अगाडि बढाइरहेका छन्। उनी असाधारण र अत्यन्त क्षमता सम्पन्न थिए। उनको मस्तिष्क आकाशमा थियो, खुट्टा पृथ्वीमा। हामीमध्येका व्यक्तिले आकाश र पृथ्वीमध्ये एउटामा टेकेका हुन्छौँ।’ 

विज्ञानमा रुचि राखेर अध्ययन गर्ने पाठकलाई विदितै होला, दुई–तीन वर्ष पहिला जुन ‘माइक्रोवेभ ब्याक ग्राउन्ड रेडियसन’ को खोज भयो, झन्डै सय वर्ष पहिला त्यसको घोषणा आइन्स्टाइनले गरिसकेका थिए।
 
आउने कैयौँ शताब्दीसम्म विज्ञानले जे नयाँ खोज गर्छ, त्यसको मूलमा कतै न कतै आइन्स्टाइनको प्रभाव हुनेछ। आइन्स्टाइनले जुनबेला प्रिन्सटन विश्वविद्यालय प्रवेश गरे, त्यहाँको ‘म्यानेजमेन्ट कमिटी’ले उनीसँग उनलाई आफ्नो शोधका लागि के कस्तो ल्याब, उपकरण र अन्य सामग्री चाहिन्छ लेखेर दिन अनुरोध ग-यो।

उनले एउटा ब्ल्याकबोर्ड, चक, पेपर र कलमका साथै एउटा ठूलो डस्टबिन मागे । उनको भनाइ थियो, काम गर्दा मबाट धेरै गल्ती हुन्छन् । लेखेका कागज फ्याल्नुपर्छ । डस्टबिन सानो भयो भने छिटै भरिन्छ । हो, उनको मस्तिष्क नै उनको विराट प्रयोगशाला थियो।

अन्तरिक्ष, समय प्रकाश, गुरुत्वाकर्षणलगायत जुनसुकै भौतिकीको क्षेत्रमा तपाईं पढ्नुहोस्, आइन्स्टाइनसँग तपाईंको जम्काभेट हुने निश्चित छ।

१८ अप्रिल १९५५ का दिन यी महान् ‘जिनियस’ को निधन भयो। डा. थोमस हार्बेले यिनको मस्तिष्क सुटुक्क झिकेर राखे। २० वर्षपछि १९७५ मा आइन्स्टाइनका छोराले अनुमति दिएर मस्तिष्कलाई दुई सय ४० भागमा बाँडेर संसारभरका शोधकर्तालाई ‘रिसर्च’का लागि पठाइयो।

आइन्स्टाइन मानवताको इतिहासकै सर्वाधिक ‘जिनियस’ मानिन्छन्, ‘द ग्रेट जिनियस’। आइन्स्टाइनले आफ्नो जीवनमा अनेकौँ पुस्तक एवं ‘रिसर्च पेपर’ लेखे। उनको जीवन र कार्यबारे अनेकौँ लेखकले कैयौँ पुस्तक लेखेका छन्। यिनै महान् ‘जिनियस’को सम्झनामा हामीले १४ मार्चलाई ‘जिनियस डे’का रूपमा मनाउनु सर्वथा उपयुक्त हुनेछ । संसारभरि आइन्स्टाइनको नाम ‘जिनियस’ को पर्याय बनी नै सकेको छ।

प्रकाशित: ३ चैत्र २०७४ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App