नेपाल प्रहरीले अघिल्लो बुधबार वैदेशिक रोजगार विभागमा पुगेर ५० जना बिचौलियालाई समायो। तीमध्ये ३५ लाई त सार्वजनिक मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको उसले जनाएको छ।
काम छिटो गराइदिने भन्दै वैदेशिक रोजगारीमा जाने सेवाग्राहीसँग रकम असुलेको प्रहरीको भनाइ छ। प्रहरी आफैँ सादा पोसाकमा जाँदा बिचौलियाले ‘भित्र सेटिङ छ, म चाँडो मिलाइदिउँला’ भनेको उल्लेख छ। यस्तोमा प्रश्न उठ्छ, प्रहरीको कारबाही बिचौलियालाई मात्र हुन्छ कि बिचौलियाको माध्यमबाट सर्वसाधारण लुट्ने ती भ्रष्ट कर्मचारीलाई पनि?
रिपोर्टिङका क्रममा केही दिनअघि ताहाचलस्थित श्रम कार्यालय पुग्दा त्यहाँ कर्मचारी र बिचौलियाबीचको सेटिङका थुप्रै दृश्य देखिए। शेरबहादुर देउवा सरकारले राजीनामा दिएको र अर्को पूर्ण सरकार बनिनसकेको अवस्थाको संक्रमणकालमा त्यहाँ डरलाग्दो दलाली देखिन्थ्यो। मुलुकमा घर–जग्गा धितो राखेर खाडी तथा अन्य मुुलुकमा रोजगारीमा जाने युवालाई खुलमखुला लुट्ने काम भइरहेको थियो।
कार्यालयमा आउने नयाँ हाकिम फाइल हेर्दैनथे। उनका अघिपछि कुद्ने पुराना कर्मचारी फाइल हेर्थे र मिल्ने–नमिल्ने भन्थे। तिनीहरू नै बार्गेनिङ गर्न तयार हुन्थे।
सरकारी कार्यालयमा पुग्दा ‘यहाँ लुट्नका लागि बन्दुक देखाइँदैन, कागत नपुगेको बहाना देखाइन्छ’ भन्ने भनाइ सही लाग्थ्यो। सुरुमा निवेदनमा नभएको कागत देखाउन भनिन्छ, त्यो देखाए, थप अर्को देखाउन लगाइन्छ। यो क्रम तबसम्म दोहोरिन्छ, जबसम्म उसले आफ्नो खल्ती खोल्दैन।
किनकि, यहाँ सिर्फ पैसा बोल्छ। एउटा सानो सहयोगका लागि मन्त्रालयबाट फोन गराउँदा कर्मचारीले गर्न नमिल्ने भनिएको काम दलालले ‘१५ हजार दिनुस् अहिले हुन्छ’ भनेको पनि सुनियो। मन्त्रालयको फोनमा घटेको आत्मविश्वास र बिचौलियाको बोलीमा बढेको देखिन्थ्यो। यस्तो लाथ्यो, कार्यालय कालोबजार हो। जहाँ पैसा मात्र बोल्छ।
यो अवस्थामा श्रममा मात्र सीमित छैन। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय यस्तै कर्तूत हुने अर्को अखडा हो। विदेशबाट आएका सामान छुटाउन दलालको सम्पर्कमा पुगेपछि बिल नतिरीकन बाहिर ल्याउन सकिने धेरैको अनुभव छ। पंक्तिकार आफैँ यस कार्यालयमा पुग्दा पनि बिचौलियाले ‘बिल लिए डबल भन्सार, नलिए आधा भन्सार’को अफर गरेका थिए। पैसा खुवाएर भन्सारका हाकिम बनेकाहरू पैसा असुल्नेलाई अगाडि गाली गर्छन्। तर पछाडि पिठ थपथपाउने कार्य गरेको प्रस्ट बुझिन्थ्यो। बिचौलिया समातिए पनि तिनको काम रोकिएको हुँदैन। प्रधानमन्त्रीले भ्रष्टाचार नसहने भाषण गरिरहँदा पनि त्यहाँ भ्रष्टाचार चलिरहेको छ।
यातायात कार्यालय बिचौलियाको चलखेल हुने अर्को अखडा हो। यहाँ पैसाविना त फाइल एक पाइला पनि सर्दैन। पैसाको आयातनअनुसार फाइल दौडिन्छ। अख्तियारले बेला–बखत यहाँ छापा पनि हान्ने गरेको छ। तर, यो क्रिकेट खेलजस्तो हुन्छ। एउटा विकेट ढले अर्को खेलाडी आउँछ। तर, क्रिकेटको जस्तो १० मा सीमित छैन। अनगिन्ती खेलाडी यहाँ आइरहन्छन्। दलालीको काम चलिरहन्छ।
अब यसमा प्रश्न उठ्छ ? के बिचौलियालाई समातेर समस्या समाधान हुन्छ। बिचौलिया त कार्यालयमा भ्रष्ट हाकिमले बाहिर छाडेका प्याधा मात्र हुन्। जसले उनीहरूसम्म आफ्ना काम बोकेर आउने सर्वसाधारणलाई सिकारजस्तै बनाएर कार्यालय भित्र हुल्छन् । कार्यालयका हाकिमले नियमको बहानामा सिस्टमको वध गर्छन्। जसको भाग कार्यालयको हाकिमसँगै सत्ताको नेतृत्वसम्म पुग्ने गर्छ।
विश्वास नलागे, बिचौलियाको मोबाइल सेटमा नियाले हुन्छ। त्यहाँ कार्यालयका कर्मचारीको अनगिन्ती नम्बर भेटिन्छन्। पंक्तिकारकै अगाडि ताहाचलका बिचौलियाले श्रमका कर्मचारीलाई फोन गरेर १५ हजारको डिल गरेको अस्ति मात्रै हो। अब यस्तोमा प्रश्न उठछ, के बिचौलिया समातेर मात्र समस्याको समाधान हुन्छ?
प्रकाशित: ३ चैत्र २०७४ ०४:४४ शनिबार