रौतहट – सशस्त्र प्रहरी बल मध्य क्षेत्रीय कार्यालयले गत ४ महिनामा करिब सवा २ करोड रुपैयाँको अवैध सामान बरामद गरेको छ। गत मंसिर, पुस, माघ र फागुनमा गरी कार्यालयले २ करोड १९ लाख २३ हजार ५ सय ११ रुपैयाको अवैध सामान बरामद गरेको कार्यालय स्रोतले जनाएको छ।
यस अवधिमा सशस्त्र प्रहरी बलले ६५७ क्युफिट भन्दा बढी काठ पनि बरामद गरेको छ। राष्ट्रिय वनबाट अवैध रुपमा चोरी गरेर लैजादै गरेको ठूलो परिमाणमा काठ बरामद गरी सशस्त्रले कारबाही अगाडि बढाएको पाइएको छ।
४ महिनाको अवधिमा सशस्त्र प्रहरी कार्यालयको बिभिन्न युनिटले सर्लाही, रौतहट, बारा र पर्साबाट गरी हातहतियार तथा म्याग्जिन पनि बरामद गरेको छ। सशस्त्रको युनिटले रौतहटको बौद्धिमाई नगरपालिकाबाट एक थान एअर गन, सर्लाहीको ब्रह्मपुरीबाट कटुवा पेस्तोल एक थान, पर्साको जिरा भवानीबाट बार बोरको दुई नाले बन्दुक एक थान र बाराको पचतौराबाट एक थान पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन एक थान बरामद गरी आवश्यक कारबाहीको लागि पठाएको छ।
सशस्त्रको बिभिन्न युनिटले भारी परिमाणमा लागू औषध पनि बरामद गरेको छ। गत ४ महिनाको अवधिमा सशस्त्रले लागू औषध नर्फिन ४२५ थान, डाइजोपाम ३९० थान, फेनारगन ३७४ थान, नाइट्रोभेट ९८४ थान र स्पामो २० थान बरामद गरेको छ। यसैगरी ३०० किलो गाँजा बरामद गरेको छ भने १७ कठा १६ धुरमा लगाइएको गाँजा पनि सशस्त्रले फडानी गरेको छ। पथलैया अन्र्तगतको बिभिन्न कार्यालयहरुले करिब १ लाख ६८ हजार मूल्य बराबरको ९ सय १८ लिटर अवैध लोकल मदिरा बरामद गरेको छ। एउटा मोटरसाइकल समेत बरामद गरी सशस्त्रले सम्बन्धित कार्यालयमा बुझाएको छ।
भारतबाट अवैध रुपमा नेपालमा ल्याइएको कुखुरा र चल्ला पनि सशस्त्रले बरामद गरेको छ। यस अवधिमा भारतबाट ल्याइएको १७५ किलो कुखुराको मासु बरामद गरी नष्ट गरेको छ। जिउँदो कुखुरा २४२ वटा र कुखुराको चल्ला २ हजार ८८० वटा बरामद गरेर नष्ट गरेको छ। भारतबाट अवैध रुपमा नेपाल ल्याइएको बरामद कुखुराको मूल्य करिब ३ लाख ४६ हजार ६ सय रहेको सशस्त्र प्रहरी कार्यालय पथलैयाले जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको गस्ती बढेपछि केही समयदेखि भन्सार चोरी कम भएको देखिएको छ।
प्रकाशित: ३ चैत्र २०७४ ०६:२९ शनिबार