coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

६२ करोड भुक्तानी बाँकी राख्दै चिनी उद्योग बन्द

रौतहट– रौतहटको गरुडास्थित श्री राम सुगर मिल्स चालू क्रसिङ सिजन बन्द भएको छ। उद्योगले शनिवारदेखि औपचारिक रुपमा क्रसिङ गर्न बन्द गरेको हो। किसानको खेतमा उखु बाँकी छँदै उद्योग बन्द भएको यो सम्भवतः पहिलो पटक हो।

गत पुसको दोस्रो हप्तामा उद्योग संचालनमा आउँदा एक हप्ताभित्र भुक्तानी दिने भनेको थियो तर उद्योगले वाचाअनुसार समयमा भुक्तानी नदिँदा अपेक्षा अनुसार उखु नपाएर सिजनमा उद्योग बन्द भएको हो। चालू क्रसिङ सिजनमा उद्योगले ९ लाख ८० हजार क्वीन्टल उखु क्रसिङ गरेको रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोककुमार यादवले बताएका छन्। 

गत दुई आर्थिक वर्षको करिब १७ करोड रुपैया भुक्तानी दिन बाँकी राखेको उद्योगले चालू आर्थिक वर्षमा किनेको उखुमध्ये केवल सात करोड रुपैया मात्र भुक्तानी दिएको छ। किसानको उत्पादन उखुको मूल्य नतोकिँदै उद्योग बन्द गरिसकेको अवस्थामा गत वर्षको मूल्य अनुसार नै चालू आर्थिक वर्षमा करिब ४५ करोड रुपैया उद्योगले भुक्तानी दिन बाँकी रहेको छ। गत दुई आर्थिक वर्षको बाँकी १७ करोड यसमा जोड्ने हो भने उद्योगले किसानलाई तिर्नुपर्ने रकम ६२ करोड भन्दा बढी भएको संघका अधयक्ष यादवको भनाइ छ।

उद्योगले पटक पटक सूचना जारी गरेपनि उखु किसानको खासै आकर्षण उद्योगप्रति नदेखिएको केही किसानले आरोप लगाएका छन्। समयमा भुक्तानी नदिनु उद्योगको मुख्य कमजोरी रहेकोले रकम भुक्तानी हुने कि नहुने भन्ने दोधारमा परेर केही किसानले उद्योगलाई उखु उपलब्ध नगराएको गढीमाई नगरपालिकाका किसान कामेश्वर सहनीले बताएका छन्।

अहिले पनि अन्य जिल्लाको चिनी उद्योगले किन्ने उखु केन्द्रमा किसानले उखु पु¥याइरहेका छन् तर गरुडाको उद्योगले किन्न खोज्दा पनि किसानले उखु उपलब्ध नगराएर आफ्नो असन्तुष्टि पोखेको अगुवा किसान सहनीको भनाइ छ।

उद्योग बन्द भएपछि जिल्लाका खाँडसारीहरुले भने उखुको मूल्य घटाएका छन्। प्रति क्वीन्टल पाँच सय रुपैयामा नगदै किनिरहेको सख्खर उद्योगहरुले अब दुई हप्तापछि भुक्तानी दिने भन्दै उखुको मूल्य प्रति क्वीन्टल चार सय रुपैया तोकेका छन्। पहिलेभन्दा कम सख्खर उत्पादन भइरहेको भन्दै सख्खर उत्पादकहरुले उखुको मूल्यमा करिब बीस प्रतिशतले कटौती गरेका छन्।

खेतमा उखु सुक्ने बेला भइसकेकोले आफूले उत्पादन गरेको उखु बेच्नुको विकल्प नरहेको किसानहरु बताउँछन्। सरकारले समयमा उखुको मूल्य निर्धारण नगर्दा किसानहरु चारैतिरबाट मर्कामा परेका छन्।

प्रकाशित: ३ चैत्र २०७४ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App