coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पार्टीमा स्पेस नपाँउदा फोरम कार्यकर्ता निराश

दाङ – कांग्रेसमा पार्टी समायोजन गरेका तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदार कांग्रेस संसदीय दलका उपनेता चयन भए । अघिल्लो साता संसदीय दलको नेतामा निर्वाचित भएका पार्टी सभापति शेरबहादुर देउवाले उनलाई सोमवार नै उपनेतामा मनोनित गरे । गत असोज २९ गते सिंगो संगठनलाई ससर्त कांग्रेसमा समाहित गरेका गच्छेदारलाई संसदीय दलको उपनेता गरिनु सभापति देउवाका लागि त्यही सर्त कार्यान्वयनको एउटा महत्वपूर्ण पाटो हो । तर गच्छेदार संसदीय दलका उपनेता चयन हुनु कांग्रेससँगको एकीकरणको पूर्व सहमतिको पूर्ण रूप भने होइन । यो समूहको ठूलो हिस्साले गच्छेदारको यो पदीय हैसियतलाई उनको व्यक्तिगत आकांक्षा पूरा भएको रूपमा मात्रै हेरेको छ । नेताहरू भन्छन्, ‘व्यक्ति विशेषको कुरा हैन, सिंगो संगठनलाई रेस्पोन्स गरियो कि गरिएन भन्ने प्रमुख कुरा हो।’

पूर्ववत् सहमति कार्यान्वयन नभएकै कारण दुई पार्टी एकीकरणको पाँच महिना पुगिसक्दासमेत नेता तथा कार्यकर्ता कांग्रेसमा समायोजन हुन सकेका छैनन् । यसले नेता तथा कार्यकर्ता पंक्तिमा ठूलो निराशा पैदा भएको छ । तत्कालै समायोजन हुन नसके ठूलो हिस्सा अलग्गिन सक्ने खतरासमेत नेताहरूले औँल्याएका छन् । आगामी चैतसम्म पार्टीको रेस्पोन्स कुर्ने उनीहरूले बताएका छन् । ‘पार्टी एकीकरण भएको पाँच महिना भैसक्यो तर तत्कालीन फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ताको समायोजन भएको खोइ त ?,’ तत्कालीन फोरम लोकतान्त्रिकका महामन्त्री भारतेन्द्र मल्लिकले भने, ‘जब पार्टीले अपनत्वको भावना राख्न सक्दैन अनि कार्यकर्ता पार्टीमा कसरी अडिन सक्छन् ?’ 
फोरम लोकतान्त्रिकका महामन्त्री उनी अहिले कांग्रेसमा पदीय हैसियतविहीन अवस्थामा छन् । संस्थापन पक्षले गरेको बेवास्ताका कारण मल्लिक जस्ता थुप्रै नेता तथा कार्यकर्ता अहिलेसम्म कांग्रेससको आधिकारिक सदस्यसम्म बन्न सकेका छैनन् । ‘म फोरम लोकतान्त्रिकका छँदा महामन्त्री थिएँ, उनले भने कांग्रेसमा आइसकेपछि कांग्रेस मेरो ठाउँ के हो भन्ने म आफंैलाई थाहा छैन ।’ आफ्नै पहिचान नहुने पार्टी वा समूहमा केका लागि बस्ने भन्ने प्रश्न अहिले आम नेता कार्यकर्तामा पैदा भैरहेको छ। 

‘फोरम लोकतान्त्रिकको झोला बन्द गरेर तपाईंलाई सिंगो संगठन बुझाउँदै छौँ । बन्द झोलालाई जतन गरेर राख्नु तपार्इंको दायित्व हो, झोला चुहिएर रित्तिने अवस्था नआओस् ।’ 

गत असोज २९ गते भएको पार्टी एकीकरणको पहिलो सहमति फोरम लोकतान्त्रिकबाट १० देखि १५ जनालाई पार्टीका केन्द्रीय सदस्य बनाउने भन्ने थियो । तर कांग्रेसले केन्द्रीय सदस्य मनोनित गर्न सकेको छैन । यसैगरी जिल्लादेखि स्थानीय तहसम्मका संगठनलाई समायोजन गर्दै जाने भन्ने अर्को सहमति थियो । फोरमका ६६ जिल्ला कार्यसमिति कांग्रेसमा समाहित भएको थियो। 

फोरम लोकतान्त्रिकका सक्रिय सदस्य सबैलाई कांग्रेसमा पनि सक्रिय सदस्यकै मान्यता दिने भन्ने अर्को सहमति थियो । सहमतिको यो अर्को महत्वपूर्ण बुँदा पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । फलतः फोरम लोकतान्त्रिकबाट कांग्रेसमा समाहित भएका जिल्ला तहका नेता तथा कार्यकर्ता अहिलेसम्म कांग्रेसको आधिकारिक सदस्य बन्न सकेका छैनन् । जबकी यि सहमतीहरु इथाशिघ्र कार्यान्वयन गर्ने भन्ने थियो ।  तर पाँच महिना सम्म पनि समायोजन विहीनताको अवस्थाले कार्यकर्ता पंक्तिमा ठूलो निराशा पैदा गरेको छ । उनीहरू अन्योलमा छन्– ‘हामी कांग्रेसका हौँ कि होइनाँै ?’ निर्वाचनताका पनि पार्टीमा भूमिकाविहीन भएकै कारण जिल्ला तहका फोरम लोकतान्त्रिकबाट समाहित भएका नेता तथा कार्यकर्ता चुनावी प्रचारमा हिँड्न सकेका थिएनन् । जब पार्टीको सदस्य नै होइन भने उ कसरी कांग्रेस ? मल्लिकले प्रश्न गरे, ‘अनि कार्यकर्तामा निराशा पैदा हुन्न ? यो निराशा कांग्रेसका लागि निकै महँगो पर्दै जान थालेको छ, तर संस्थापन पक्षले बुझेको छैन।’ 

भर्खरै सम्पन्न निर्वाचनमा पनि फोरम लोकतान्त्रिकबाट प्रवेश भएको नयाँ समूहलाई संसपन पक्षले ठूलै उपेक्षा गरेको भन्दै अर्को चरम असन्तुष्टि चुलिएको छ । प्रतिनिधिसभा सदस्यका लागि फोरम लोकतान्त्रिकको समूहबाट समानुपातिकतर्फ १० जनाको नाम सूचीकृत गर्ने भन्ने सहमति बनेको थियो । तर केही समयपछि  ७ मा झारियो । अन्ततः तीनजनाको नाम मात्रै समावेश भयो । तीनजना मध्ये एकजना पनि समानुपातिक सांसद चुनिएनन्। 

यसैगरी प्रदेशसभातर्फ फोरम लोकतान्त्रिक समूहबाट १२ जनाको नाम समानुपातिक बन्द सूचीमा पठाइयो । प्रदेशसभामा पनि बाह्रैजना नै सांसदको सूचीमा भने पर्न पाएनन् । ‘यो त संसथापन पक्षले गरेको सबैभन्दा ठूलो बेइमानी हो,’ उनले भने, ‘यस्तो अपहेलित भएर संगठनमा बस्नुको औचित्य देख्ने कुरै हुन्न, यही असन्तुष्टिले अहिले धेरै साथीहरू पाखा लाग्ने सोचमा पुगिसक्नुभएको छ ।’  न त पार्टीको आधिकारिकता नत जिम्मेवारी । यो दुबै अवस्थाबाट वञ्चित कार्यकर्ता कांग्रेस भनेर मात्रै झुण्डिराख्न नसक्ने उनको बुझाइ छ । पार्टी एकीकरणका वार्ताकारसमेत रहेका मल्लिकले वार्ताकै क्रममा सभापति देउवालाई नयाँ प्रवेशी समूहको संरक्षण निकै महत्पूर्ण रहने भन्दै उचित समायोजनका लागि पटकपटक ध्यानाकर्षण गराएका थिए । ‘फोरम लोकतान्त्रिकको झोला बन्द गरेर तपाईंलाई सिंगो संगठन बुझाउँदै छौँ,’ उनले देउवालाई दिएको सुझाव सम्झदै भने ‘बन्द झोलालाई जतन गरेर राख्नु तपार्इंको दायित्व हो, झोला चुहिएर रित्तिने अवस्था नआओस्।’ 

कांग्रेस संस्थापन पक्षको रेस्पोन्स खोजिरहेका जिल्ला तहका नेता तथा कार्यकर्तालाई कांग्रेसको जिल्ला नेतृत्वले त झन् मतलवै राखेको छैन । आपूmहरू संस्थापन पक्ष भएकाले पार्टीमा समाहित भएको सानो समूहका नेताहरू नै पार्टीमा शरण पर्न आउनुपर्ने आशय जिल्ला नेताहरूले व्यक्त गर्ने गरेका छन् । ‘उहाँहरू कोही पनि सम्पर्कमा आउनुहुन्न, एक जिल्ला नेताले भने उहाँहरू नआएपछि हामीहरू पनि खोज्दै जाने कुरा भएन।’ 

पार्टी एकीकरणपश्चात आधिकारीकता विहीन कार्यकर्ता संरक्षण गर्न ध्यानाकर्षण गराउँदा समेत नेतृत्व्ले चासो नदिएको असन्तुष्ट पक्षले जनाएको छ । यसले कांग्रेसलाई ठूलो घाटा हुने मल्लिक बताउँछन् । ‘एकजना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदा बाजागाजा बजाउँने कांग्रेस, संगठनभित्रका कार्यकर्तालाई संरक्षण गर्न भने यति वेमतलवी बनेको छ,’ उनले भने, ‘यो कांग्रेसका लागि सबैभन्दा बढी दुःखद कुरा हो।’

यता संसदीय दलको उपनेता चयन भएका गच्छेदारले आफ्नो समूहका नेतालाई सम्झाइरहेका छन् । १० वर्ष अघिभन्दा अहिलेको कांग्रेस निकै नाजुक भैसकेको बुझेका उनले समायोजनका लागि नआत्तिन आग्रह गरिरहेको एक नेताले बताए । साथै संसदीय दलको उपनेता चयन भैसकेपछि नेतृत्व तहमा दवाव दिने शक्ति पैदा भएको भन्दै गच्छेदारले तत्कालै समायोजनको विषय टुंग्याउने आश्वासन दिएको ती नेता बताउँछन् । पार्टीको समायोजन अभावकै कारण भारतेन्द्र मल्लिक, रामजनम चौधरी, योगेन्द्र चौधरीलगायतका तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय नेताहरू भूमिकाविहीन अवस्थामा छन्।  

प्रकाशित: ४ चैत्र २०७४ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App