coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हराएकी कोरियाली पदयात्री फेला

पोखरा – अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर पोखरा फर्कंदै गर्दा कोरियाली पदयात्री २८ वर्षीया जी आई ले शुक्रबार दिउँसो हिँड्दा हिँड्दै बाटो बिराइन्।
 
चल्तीको बाटो बिराएर अप्ठेरो मार्ग पहिल्याएकी उनले केही घन्टा हिँडेपछि मात्र आफू हराएको पत्तो पाइन्। अनि बल्ल आफ्नो उद्धारका लागि सरोकारवाला निकाय गुहारिन्। 

बेलैमा उद्धार पाउँदा उनी जोगिएकी छिन्। शुक्रबार मध्यरातमा उनको उद्धार भएको छ । आधारशिविरबाट फर्केर छोमरोङ पार गरेकी ती पदयात्रीले किमरुङ खोला तरेपछि बाटो बिराएकी थिइन्। त्यसपछि जंगलमा एक्लै भौंतारिएकी उनलाई मध्यरातमा स्थानीय पर्यटन व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पदाधिकारीसहित प्रहरी टोलीले फेला पारेको हो। पदमार्गमा राखिएको सांकेतिक बोर्ड बेवास्ता गर्दा पदयात्री हराउन पुगेको सरोकारवालाको भनाइ छ। 

किमरोङ खोलाको नजिक पुगेकी उनले मोदीखोलाको नजिक रहेको भन्दै जानकारी दिएकाले भेटाउन समय लागेको थियो।

पर्यटन व्यवस्थापन उपसमिति छोमरोङका अध्यक्ष इन्द्रमणि शर्माका अनुसार घान्द्रुक जाने भनेर किमरुङ खोला तरेकी उनी मूल बाटो नलागेर घाँस काट्न र गाईबस्तु चर्न जंगल जाने बाटो लागेकी थिइन्। ‘करिब २ घन्टा हिँडेपछि उनी बस्तीभन्दा धेरै नै टाढा पुगिछन्। अनि फर्किने बाटो पनि बिराइछन्,’ शर्माले भने, ‘तर, उनीसँग रहेको मोबाइलले लोकेसन बताएकाले फेला पार्न सकियो।’ दिउँसो १ बजेदेखि हराएकी उनलाई मध्यरातमा फेला पारिएको उनले बताए। पदयात्रामार्गमा राखिएका साइन बोर्डको संकेत बेवास्ता गर्दा हराउन पुगेको उनले बताए।

‘रोइरहेको अवस्थामा हामीले भेट्यौं । राति एकबजे मात्र उनलाई घरसम्म ल्याउन सकियो,’ शर्माले भने। शर्माका अनुसार हराएकी जीले बाटो बिराएको भन्दै एक्यापको पोखरास्थित कार्यालयमा खबर गरेकी थिइन्। त्यसपछि बल्ल उनको खोजी स्थानीयस्तरबाट सुरु भएको थियो। ‘दिउँसो १ बजेतिर उनले बाटो बिराइछन्। हामीले ३ बजेतिर खोजी थाल्यौं। उज्यालो छन्जेल भेटाउन सकेनौं,’ शर्माले भने, ‘जब राति प¥यो। अनि हामीलाई केही सहज पनि भयो।’ फोनमा कुरा गर्न सके पनि सही लोकेसन बताउन नसक्दा भेटाउन समय लागेको उनले बताए। 

‘मध्यरातमा बल्ल हामीले जंगलमा मोबाइलको बत्ती बलेको देखेर भेट्टाउन सक्यौं। मोबाइल नभएको भए जे पनि हुन सक्थ्यो,’ उनले भने, ‘हामीले भेटेको केही बेरमा उनको मोबाइलको ब्याट्री नै सकियो। हामीले भेट्नुअघि नै मोबाइलको ब्याट्री सकिएको भए अझै अप्ठेरो पर्ने रहेछ।’ किमरोङ खोलाको नजिक पुगेकी उनले मोदीखोलाको नजिक रहेको भन्दै जानकारी दिएकाले भेटाउन समय लागेको शर्माले बताए। घाँस काट्न जाँदा गाउँले हिँड्ने बाटो पछ्याउँदा उनी हराएको शर्माले बताए।
 
जी परिवारका सदस्यसहित एबिसी पुगेर पोखरा फर्किंदै थिइन्। परिवारका अरु सदस्य बीचबाटै मर्दी हिमालतिर लागेको र बिसन्चो भएको भन्दै उनी एक्लै घान्द्रुक हुँदै पोखरा फर्किने तयारीमा थिइन्। ‘परिवारबाट छुटेर एक्लै हिँड्दा अप्ठेरोमा परिछन्,’ उनले भने। 

एक्यापकी पर्यटन अधिकृत रश्मी आचार्यले जी ले आफू हराएको भन्दै दिउँसो फोन गरेपछि बल्ल खोजतलास सुरु गरेको बताइन्। ‘बाटो बिराएर हराएकी उनी मध्यरातसम्म एक्लै परिन्। दिउँसो १ बजेबाट हराएकी थिइन्,’ उनले भनिन्, ‘साथमा मोबाइल हुनु र फोन लाग्नुले समयमै उद्धार सम्भव भयो।’ आफू रहेको ठाउँबारे गुगल म्याप दिएपछि खोजी सुरु गरेको उनले बताइन्। ‘मोबाइल साथमा हुँदैनथ्यो भने अरु समस्या आउन सक्थ्यो,’ आचार्यले भनिन्, ‘पदमार्गमा राखिएका संकेत चिन्हको बेवास्ता गर्दा उनी हराएकी रहिछन्।’ 

आचार्यका अनुसार पदमार्गमा पदयात्रीलाई हिँडडुलमा सहज होस् भनेर सांकेतिक बोर्ड पनि राखिएको छ। तर, कतिपय पदयात्रीले ती संकेत बोर्ड र चिन्हलाई बेवास्ता गर्छन्। सांकेतिक बोर्डलाई बेवास्ता गर्दा पर्यटकले बाटो बिराउने समस्या आउने उनले बताइन्। ‘ठाउँठाउँमा सांकेतिक चिन्हसहितका बोर्ड छन्। तर, पदयात्रीले वास्ता गर्दैनन्। अनि अलमलिन्छन्,’ उनले भनिन्। बाटो बिराएर दुर्घटनामा पर्दा पदमार्ग क्षेत्रमा धेरैजना पर्यटकले यसअघि ज्यानै गुमाएका छन्।

अध्यक्ष शर्माले पनि संकेत बोर्ड बेवास्ता गर्दाको परिणाम कोरियाली नागरिक हराउन पुगेको बताउँछन्। ‘मूलबाटोमा जहाँ झुक्किन सक्ने सम्भावना हुन्छ। त्यो ठाउँमा गन्तव्यबारे जानकारी संकेत बोर्ड राखिएका छन्। तर, पदयात्रीले वास्ता गर्दैनन्,’ शर्माले भने, ‘एक्लै हिँड्ने, अनि पदयात्राका संकेत नपछ्याउने गर्दा समस्या छ।’ उनका अनुसार बाटो नबिराएको भए उनी एकघन्टा हिँड्दा घान्द्रुक पुग्थिन्, तर, बीचमै पदमार्ग बिराएकाले हराउन पुगिन्।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष महासचिव धर्मराज पन्थी पनि संकेत चिन्हलाई नपछ्याउँदा पर्यटक हराउने गरेको बताउँछन्। ‘कोरियाली पर्यटक हराउनुमा संकेत बोर्डलाई बेवास्ता गरेको देखिन्छ,’ पन्थीले भने, ‘पर्यटक नझुक्किऊन् भनेर नै अंग्रेजी र नेपाली भाषामा लेखिएका संकेत बोर्ड ठाउँठाउँमा छन्। तर कतिपय पर्यटक ती सांकेतिक बोर्डलाई बेवास्ता गर्दा बेलाबेला समस्या आउने गरेको छ।’ 

एक्लै हिँडेका पर्यटक बढी मात्रामा हराउनुको कारण बाटोमा राखिएका सांकेतिक बोर्ड ‘फलो’ नगर्दाको परिणाम भएको उनले बताए। ‘बाटो बिराउनासाथ मन आत्तिन्छ। अनि अन्योलमा परेका उनीहरू झनै समस्यामा पर्छन्,’ पन्थीले भने, ‘हरेक दोबाटो र चौबाटोमा संकेत बोर्ड छन्। तर, पर्यटकले त्यसलाई बेवास्ता गर्छन् ।’ मोबाइल सम्पर्क नभएको अवस्थामा त अझै जोखिम हुने पनि उनले बताए।

प्रकाशित: ४ चैत्र २०७४ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App