८ वैशाख २०८१ शनिबार
कला

प्रहरी लफडामा कलाकार

टेकुस्थित काठमाडौं प्रहरी परिसर ।

महानगरीय प्रहरी परिसर काठमाडौं अहिले नायक भुवन केसी र निर्माता सुवास गिरीको पर्खाइमा छन् । यी दुवै निर्माता रहेको फिल्म ‘कृ’मा राखिएको पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि...’ बोलेको टुक्रे गीत अनुमति नलिई राखेको भन्दै परिसरमा निवेदन आएपछि प्रहरी अहिले केसीलाई कुरेर बसेको छ ।

नायक भुवनको पर्खाइमा प्रहरी, डान्सर रोमा जेल पुगिन्, निर्माता डिक खड्का प्रहरी हिरासतमा

भुवनले छोरा अनमोल केसीको अभिनय रहेको ‘कृ’का लागि आफूले खेलेको लोकप्रिय फिल्म ‘सम्झना’को लोकप्रिय गीतको एक टुक्रा प्रयोग गरेका थिए । ‘कृ’मा रहेको ‘धेरैपछि सम्झना, आँखा छोपी बसन’ बोलको गीतमा ‘उकालीमा अघिअघि’को टुक्रा पुरानै धुनमा समावेश गरिएको छ । अनुमति नै नलिई गीत राखेको भन्दै ‘सम्झना’ फिल्मका निर्देशक शम्भु प्रधान प्रहरी कार्यालय पुगेका हुन् । 

युट्युबमा राखिएको सो गीतको भिडियोमा रिमिक्स गीतको रुपमा प्रस्तुत गरिएको छ । ओरिजिनल म्युजिक भनेर रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने रिमेक म्युजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । रिमेक गीतको शब्दमा अल्मोडा र सविन एकतारेको नाम छ । ‘कृ’को टिम अहिले नेपाल बाहिरका दर्शकलाई सो फिल्म देखाउन विदेश भ्रमणमा छ ।
भुवनविरुद्ध प्रहरी कार्यालयमा उजुरी लिएर पुगेका प्रधान कुनै समय भुवनकै गुरु हुन् । विवादमा तानिएको बोल समेटिएको पुरानो फिल्म ‘सम्झना’मा भुवनले अभिनय गरेका थिए । 

प्रधान केही हप्ताअगाडि उजुरी लिएर प्रहरी कार्यालय पुगेका थिए । प्रहरीले जाहेरी अगाडि दुवै पक्षलाई राखेर सहमतिको प्रयास गर्यो तर कुरा मिलेन । सहमति हुन नसकेपछि प्रधानले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी छाडेर आएका छन् । प्रहरीले जाहेरी दर्ता गरिसकेको छैन ।

‘फिल्मको बारेमा निवेदन आएको थियो,’ काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेलले भने, ‘निवेदन दर्ता भइसकेको छैन ।’

निर्देशक प्रधान भने कानुनी लडाइँबाटै मुद्दा वार कि पार लगाउने मुडमा देखिएका छन् । 

‘मैले जाहेरी दिइसकेको छु, भुवन र गिरी सम्पर्कमा छैनन्,’ उनले शुक्रवारसँग भने ‘मेरो प्रश्नको उत्तर नदिन, छलफलमा सहभागी नभई जापान गएछन्, जति लुकेर हिँडे पनि म छाड्नेवाला छैन ।’ 

गीतको प्रतिलिपि अधिकारबारे विवाद सुरु भएपछि निर्मातामध्येका एक गिरीले क्षतिपूर्ति बापत एक लाख रुपैयाँको प्रस्ताव नराखेका होइनन् तर प्रधानले त्यसलाई स्वीकार गरेनन् । 

उनी फिल्मबाट गीत हटाउनुपर्ने र सँगैमा गीतको क्षतिपूर्तिबापत फिल्मको ५० प्रतिशत कमाईको मागमा निर्देशक प्रधान अडिग छन् । उकालीमा अघिअघि बोलको गीतका कारण ‘कृ’ले बम्पर व्यापार गरेको प्रधानको दाबी छ । बक्स अफिसको दाबीअनुसार ‘कृ’ले नौ दिनमा ६ करोड २२ लाखको कुल व्यापार गरेको थियो । 

फिल्मका निर्माता गिरीले गीत प्रधानले हाइलाइटस्लाई बेचिसकेको र कानुन नलाग्ने तर्क गर्दैआएका छन् । प्रधान भने गीत बेचेकै भए प्रमाण बोकेर आउन चुनौती दिन्छन् । 

३० वर्षअगाडि बनेको सुपरहिट फिल्म ‘सम्झना’को यो गीत अहिलेसम्म पनि लोकप्रिय नै छ । यस कालजयी गीतको रचना तथा संगीतकार रञ्जित गजमेर हुन् । स्वर उदितनारायण झा र दीपा झाले दिएका छन् । सम्झनामा भुवन केसी र तृप्तीले अभिनय गरेका छन् ।

केही हप्ताअगाडि अनुमति नै नलिई पुरानो गीत नयाँ गायकलाई गाउन दिएको विषयमा गायक यशकुमार र बाबु बोगटीको विवाद सार्वजनिक भएको थियो । बाबु र यशको विवाद प्रहरीसम्म पुगेको भने थिएन ।

तर पछिल्लो समय कलाकारविरुद्ध प्रहरीमा उजुरी पर्ने क्रम बढेको छ । द्वन्द्व निर्देशक राजेन्द्र खड्गी त मानव तस्करीको अभियोगमा केन्द्रीय कारागार नै पुगिसकेका छन् । अन्य कलाकार पक्राउको क्रम भने रोकिएको छैन ।

डान्सर रोमा पनि पुगिन् जेल
एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने ठगी अभियोगमा जेल पुगेकी छन् । गत विहीबार महानगरीय प्रहरी परिसरले पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा पठाएको थियो ।

अदालतले उनीसँग ३६ लाख धरौटी माग गरेकोमा धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएकी हुन् । रोमा र उनको श्रीमान चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको दाबीसहित एक वर्षअघि उजुरी परेको थियो ।

चिरञ्जीवी पक्राउ परे पनि रोमा फरार थिइन् । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भिएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा उनले लाखौं रुपैयाँ ठगी गरेको अभियोग छ । 

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो भने रोमा फरार थिइन् ।

८ वर्षको उमेरमा दुर्घटनामा देब्रे खुट्टा गुमाएकी रोमा एक खुट्टाकै भरमा कुशल नृत्य प्रस्तुत गरेर चर्चामा आएकी थिइन् । २०७२ सालमा सरकारले उनलाई युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार दिएको थियो । 

साइबर क्राइममा निर्माता हिरासतमा
अश्लील तस्विर र भिडियो पठाएको आरोपमा फिल्म निर्माता तथा छायाकार डिक खड्का प्रहरी हिरासतमा पुगेका छन् । साथीकी श्रीमतीलाई सामाजिक सञ्जालमार्फत लामो समयदेखि अश्लील फोटो र भिडियो पठाएको उजुरी परेपछि उनी पक्राउ परेका हुन् । 

खड्कालाई साइबर क्राइम मुद्दामा म्याद थप गरी महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार उजुरीको आधारमा पक्राउ परेका खड्कालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । 

‘आफ्नो साथीको श्रीमतीलाई सामाजिक सञ्जालमार्फत अश्लील सामग्री पठाएको जाहेरीका आधारमा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ लोहनीले भने, ‘अहिले अनुसन्धानकोक्रममा छ ।’ शुक्रवार साप्ताहिकबाट

प्रकाशित: ४ चैत्र २०७४ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App