८ वैशाख २०८१ शनिबार
खेल

पाँचौं धौलागिरी टी–ट्वान्टी क्रिकेट : पोखराको विजयी सुरुवात

बागलुङ– बागलुङ सुरु भएको पाँचौ धौलागिरी कप तथा चैत्राष्टमी टि–२० क्रिकेट प्रतियोगितामा लेकसाईड क्रिकेट क्लब पोखराले विजयी सुरुवात गरेको छ। आइतबार भएको उद्घाटन खेलमा आयोजक टिम बागलुङ क्रिकेट क्लब (रातो)लाई ३७ रनको फराकिलो अन्तरले पराजित गर्दै लेकसाइडले विजयी सुरुवात गरेको हो। टस जितेर पहिले व्याटिङ गरेको पाहुना टोली लेकसाइडले १९ ओभरमा १ सय ३९ रन जोडेर अलआउट भएको भयो। दुवै ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा गुमाएर अप्ठ्यारोमा परेको लेकसाइडको पारी तेस्रो नम्बरमा व्याटिङ गर्न आएका अर्जुन अधिकारीले सम्हालेका थिए। उनले ३९ बलमा ५ चौकाको मद्दतले ३८ रन जोडे। 

पाँचौं नम्बरमा आएका राजु तामाङले आक्रामक खेल प्रस्तुत गर्ने प्रयास गरे पनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। तामाङले १४ बलमा २७ रन जाडेर मिड विकेटमा क्याच आउट भए। पर्वत भुषालले १५ बलमा २८ रनको आक्रमक इनिङ खेलेपछि लेकसाइडले सम्मान जनक स्कोर खडा गरेको हो। बागलुङ क्रिकेट क्लबको लागि शिव खड्काले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। सन्देश खड्का र रविन आचार्यले समान २–२ विकेट लिएका हात पारे। पोखराको दुई जना व्याट्म्यान रनआउटको रुपमा पेभेलियन फर्किए। १ सय ४० रनको सामान्य लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको बागलुङ क्रिकेट क्लब १६ ओभरमा १ सय २ रनमा अलआउट हुन पुग्यो। बागलुङका लागि ओपनर शिव खड्काले ३२ बलमा ५ चौका प्रहार गर्दै ३४ रनको योगदान गरे। 

सन्देश खड्काले १६ बलमा २ चौका र २ छक्काको मद्दतले २५ रन बनाए पनि अन्य खेलाडीहरुको फितलो प्रदर्शनका कारण पाहुना टोलीलाई नतिजा सुम्पिनु प-यो। लेकसाईडको लागि अवित ओस्टाले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। राजु तामाङ र विजयी कँुवरले समान २–२ विकेट र प्रेम गुरुङ र अमृत थापाले १–१ विकेट हात पारे। बागलुङका एक खेलाडी रनआउट हुन पुगे। प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेल गल्कोट विरुद्ध बागलुङ नगरपालिका–५ मालिका र दोस्रो खेल एनएसयु बागलुङ विरुद्ध कुश्मा क्रिकेट क्लब बीच हुने बागलुङ क्रिकेट क्लबका अध्यक्ष सन्दिप पन्तले जानकारी दिए।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला व्यवस्थापन समितिको संयुक्त आयोजनामा चैत ११ गतेसम्म संचालित हुने प्रतियोगिता १८ समूहको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। म्यान अफ दि सिरिजले १० हजार, बेष्ट व्याट्सम्यान र वेष्ट बलरले जनही ५–५ हजार प्राप्त पाउनेछन्। प्रतियोगिताको लागि ६ लाख ९ हजार ६ सय ६८ रुपैयाँ खर्च लाग्ने आयोजकले बताएको छ। 

प्रकाशित: ४ चैत्र २०७४ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App