७ वैशाख २०८१ शुक्रबार
समाज

काठसहित तीन पक्राउ

सुर्खेत– प्रहरीले लाखौंको काठसहित भेरीगंगा नगरपालिका–५ को उज्वल सामुदायिक बनबाट तीन जनालाई पक्राउ गरेको छ। वनभित्र काठ काटिरहेको अवस्थामा प्रहरीले सोही ठाउँका प्रितिसिंह खड्का, नवीन बुढामगर र मनोज विकलाई पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले जंगलमा सालका रुख काट्दै गरेको अवस्थामा घेरा हालेर उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए। प्रहरीले जंगलबाट १०३ क्यूफिट चिरान सालको काठ र २३ वटा मुडा पनि बरामद गरेको छ। प्रहरीका अनुसार जंगलभित्र पाँच सय भन्दाबढी रुखहरु काटिएका छन्।

‘विशेष सुराकीको आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रुखहरु काटिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो’, एसपी चर्तुवेदीले भने, ‘घटनास्थलको प्रकृति हेर्दा वर्षौदेखि रुखहरु काट्ने गरेको देखिन्छ।’ प्रहरीले काठ तस्करहरुसँगै तीन वटा बन्चरो र चार वटा आरी पनि बरामद गरेको छ। 

प्रहरीसँगको प्रारम्भीक बयानका क्रममा पक्राउ परेकाहरुले आफूहरु वर्षौदेखि जंगलमा रुखहरु काट्ने गरेको बताएका छन्। ‘काठ चिरान गरेर जंगलमै माटोमुनि लुकाउने र केही समयपछि बजारमा पु¥याउने गरेको बयान पक्राउ परेकाहरुले दिएका छन्’, एसपी चर्तुवेदीले भने, ‘काठ तस्करीमा ठूलो गिरोह संलग्न हुनसक्छ।’

काठ काटिएको ठाउँ नजिकै सामुदायिक वनका अध्यक्षको घर छ। सामुदायिक वनका पदाधिकारीहरुसँगको मिलेमत्तोमा काठहरु काटिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। ‘हामीले पक्राउ परेका व्यक्ति र काठ जिल्ला वनलाई बुझाउँछौं’ उनले भने, ‘बाँकी अनुसन्धान वनले नै गर्छ।’ प्रहरीले तीन महिनाको अवधिमा यसअघि पनि विभिन्न स्थानबाट २६३ क्यूफिट काठ बरामद गरेको छ।

प्रकाशित: ४ चैत्र २०७४ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App