८ वैशाख २०८१ शनिबार
अर्थ

चालु खाता घाटा एक महिनामा नै दोब्बर

काठमाडौं – मुलुकको चालु खाता घाटा एक महिनामा नै दोब्बर भएको छ। ६ महिनासम्म करिब ७५ अर्ब रुपैयाँ रहेको चालु खाता घाटा सातौं महिना पूरा हुँदा एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो। 

आर्थिक वर्षको सुरुदेखि नै घाटामा रहँदै आएको चालु खातामा एकै महिनामा ६६ अर्ब रुपैयाँ घाटा थपिएको राष्ट्र बैंकले जनाएको छ। 

बैंकले चालु खाता घाटा हुनुमा प्रमुख रुपमा दुईवटा कारण बताएको छ। यो अवधिमा आयात उच्च दरले बढेको छ भने विदेशी लगानीकर्तालाई ठूलो मात्रामा लाभांश दिनु परेको छ। यी दुवै कारणले चालु खाता घाटा एक महिनामै दोब्बर भएको हो। 

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थिति १८ अर्ब २८ करोड रुपैयाँले घाटामा छ।

आर्थिक वर्षको सुरुदेखि नै घाटामा रहँदै आएको चालु खातामा एकै महिनामा ६६ अर्ब रुपैयाँ घाटा थपियो : राष्ट्र बैंक 

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाह वृद्धिदर गत वर्षको तुलनामा घटेको छ। गत वर्ष ५.२ प्रतिशतले बढेको रेमिट्यान्स चालु आवको सात महिनामा १.७ प्रतिशतले मात्र बढेको छ। चालु आवको माघसम्ममा चार खर्ब एक अर्ब ३५ करोेड रेमिट्यान्स भित्रिएको छ।

चालु आर्थिक वर्षको पहिलो सात महिनाको अर्थतन्त्रका परिसूचकहरुले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नभएको देखाएको छ।

व्यापार घाटा नराम्रोसँग चुलिने क्रम बढिरहेको छ भने निर्यात वृद्धिदर सन्तोषजनक छैन। अर्थतन्त्रका समग्र परिसूचकहरुले मुलुकको अर्थतन्त्र सन्तोषजनक नरहेको देखिएका छन्। 

नेपाली कामदारको मुख्य श्रम गन्तव्य मध्यपूर्वमा विकसित नयाँ घटनाक्रमका कारण त्यहाँबाट आउने कामदारको माग बढ्न नसक्दा रेमिट्यान्स आप्रवाहमा कमी आएको हो। गत वर्ष नेपाली कादारको पहिलो गन्तव्य बनेको कतारमाथि छिमेकी मुलुकहरुले नाकाबन्दी लगाउँदा त्यता जाने नेपालीको संख्या बढ्न पाएको छैन। साउदी अरेबियाले आप्रवासी कामदार हटाउँदै आफ्नै नागरिकलाई रोजगारी दिने नीति अख्तियार गरेको छ।
 
राष्ट्र बैंकका अनुसार श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) यो अवधिमा ४.९ प्रतिशतले घटेका कारण रेमिट्यान्समा प्रभाव परेको हो।
 
यो वर्ष मूल्यवृद्धिमा भने सकारात्मक अवस्था देखिएको छ। माघमा मूल्यवृद्धि पाँच प्रतिशतमा सीमित छ। यो बेला खाद्यान्नको मूल्य केही बढे पनि समग्र मूल्यवृद्धि गत वर्षको तुलनामा धेरै बढेको छैन।

बैंकका अनुसार सात महिनामा मूल्यवृद्धि पाँच प्रतिशत छ। गत वर्ष यो ३.३ प्रतिशत थियो। यो वर्ष खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको हो। 

यो वर्ष खाद्य मुद्रास्फीति चार प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो।

गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घिउ तथा तेल लगायत वस्तुको मूल्य वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढेको हो।

उपभोक्ता मुद्रास्फीति तराई मा ५.६ प्रतिशत, हिमालमा ५.४ प्रतिशत, पहाडमा ५.१ प्रतिशत र काठमाडौं उपत्यकामा चार प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा तीन प्रतिशत, हिमालमा ३.२ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौं उपत्यकामा १.१ प्रतिशत रहेको थियो। 

बैंकका अनुसार सात महिनासम्ममा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.२ प्रतिशतले वृद्धि भएको थियो । यो समयमा भारततर्फ १२.४ प्रतिशत, चीनतर्फ ७२.३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ।

वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पति घिउ, धागोे, तयारी पोसाकलगायत वस्तुको निर्यात बढेको छ भने जुस, अलैँची, जिआई पाइप, उनी गलैँचा, तामाका तार लगायत वस्तुको निर्यात घटेको छ।

यो समया कुल वस्तु आयात १८.९ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब २३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६०.८ प्रतिशतले बढेको थियो। भारतबाट भएको आयात १८.७ प्रतिशत, चीनबाट भएको आयात १९.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ।
 
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनुल्सलगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार, हवाईजहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, जिंक इन्गट लगायत वस्तुको आयात घटेको छ।

यो वर्षको अहिलेसम्म कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढी ६ सय १३ अर्ब ६० करोड  पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ६६.२ प्रतिशतले बढेकोे थियो। निर्यात– आयात अनुपात ७.२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.६ प्रतिशत थियो।

२०७४ असार मसान्तको १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ माघ मसान्तमा २.८ प्रतिशतले कमी आई १०४९ अर्ब २० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ माघ मसान्तमा एक प्रतिशतले बढेर नौ सय ३६ अर्ब २१ करोेड पुगेको छ।

प्रकाशित: ५ चैत्र २०७४ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App