coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

आइफोन उपहारका वाणिज्यदूत !

सदाझैँ नेपालमा नयाँ सरकार गठनसँगै अमेरिकाको टेक्सस राज्यमा कन्सुलेट (वाणिज्यदूत) का लागि फेरि दौड सुरु भएको छ । दुई साताअघि एनआरएनका अध्यक्ष भवन भट्टको नेतृत्वमा अमेरिका क्षेत्रका संयोजक गौरीराज जोशी, सल्लाहकार हरिबोल भण्डारी लगायतका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यस अवसरमा टेक्सस (ड्यालस) मा नेपाल सरकारको प्रतिनिधिका रूपमा वाणिज्यदूत नियुक्तिको विषयमा कुरा उठेको थियो।  

प्रधानमन्त्रीले कन्सुलेटका विषयमा बुझेर, परराष्ट्र मन्त्री नियुक्त गर्ने वचन दिएका छन् । हुनत वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रम हुँदा पनि कन्सुलेटको कुरा नपुगेको होइन । तर त्यतिखेर सरकारको प्राथमिकतामा यो परेन। 

हरेक पटक नयाँ सरकार गठनसँगै अमेरिकामा रहेका नेपाली समुदायमा महावाणिज्यदूत हुन दौड सुरु हुन्छ । योग्यता र क्षमताका आधारमा भन्दा पनि नेपालका प्रधानमन्त्री, मन्त्रीसँग पहुँच देखाउने पदका रूपमा यसलाई बुझ्न थालिएको छ । नेपाल सरकारलाई सहयोग गर्ने, अमेरिकामा रहेका नेपाली समुदायका हितमा काम गर्ने भन्दा पनि नीति नियमले नै अयोग्य रहेकाहरूको समेत मन्त्री पत्नीलाई आइफोन उपहार दिएर हुन्छ कि मन्त्रीलाई गतिलो चन्दा दिएर हुन्छ यो पद पाउन धेरैको चलखेल देखिँदै आएको छ। 

अमेरिकामा झन्डै तीनलाख नेपालीहरू रहेको अनुमान छ। गत वर्ष एनआरएन अमेरिकाले गरेको अध्ययनअनुसार साढे दुई लाख नेपालीहरू रहेको विवरण सार्वजनिक भएको थियो। टेक्सस अमेरिकामै नेपालीहरूको निकै ठूलो बस्ती रहेको राज्य हो । नेपालभन्दा झन्डै पाँच गुणा ठूलो राज्य हो, टेक्सस। यसको क्षेत्रफल ६ लाख ९६ हजार वर्ग किलोमिटर छ । जनसंख्या भने लगभग नेपालकै सरह २ करोड ८३ लाख छ।  

कन्सुलेट के हो ?

विदेशमा बसेर त्यही देशको नागरिकतासमेत प्राप्त गरिसकेको नेपाली या त्यही देशको जन्मसिद्ध नागरिकलाई नेपाल सरकारले दिनसक्ने उच्च जिम्मेवारी (नियुक्ति) भनेको वाणिज्यदूत (कन्सुलेट) हो । यसको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यो पद अवैतनिक भए पनि विदेशमा बसेर आफ्नो क्षेत्रमा रहेका नेपालीलाई तथा नेपाललाई बढी सहयोग गर्न नेतृत्वदायी भूमिका निभाउन सक्ने, नेपाल सरकारको आधिकारिक पद हो। 

नेपाल सरकारको मन्त्री चयन गर्नु, नियुक्ति गर्नु जत्तिको सजिलो छैन वाणिज्यदूतको चयन तथा नियुक्ति प्रक्रिया । आफ्नो राष्ट्रको विदेशी राष्ट्रसँग कूटनैतिक सम्बन्ध स्थापना गरी उक्त मुलुकमा भएका आफ्ना नागरिकलाई सहयोग गर्ने तथा उक्त विदेशी मुलुकबाट आफ्नो राष्ट्रले लिनसक्ने सुविधा तथा अवसरको खोजी गर्न दूतावास खोलिन्छ। 

संसारका सबै देशमा दूतावास स्थापना गर्न नेपाल जस्तो मुलुकका लागि सम्भव र व्यावहारिक हुँदैन । किनकि, दूतावास स्थापना आर्थिक रूपमा खर्चिलोमात्र नभएर त्यसै अनुसारका कर्मचारी समेत राख्नुपर्ने हुन्छ। 

त्यसो हुँदा दूतावासले मात्र सबै काम र क्षेत्र भ्याउन नसक्ने भएकाले भौगोलिकता हेरी एउटै मुलुकका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै वाणिज्यदूत नियुक्त गरी कार्यालय सञ्चालन गर्न पञ्चायतकालमै नेपाल सरकारको ‘अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावली २०३९’ प्रयोगमा ल्याइएको थियो । त्यही नियमावलीको पहिलो संशोधन २०६१ अनुसार वाणिज्यदूत सम्बन्धी सम्पूर्ण कार्य हुने गरेका छन् । त्यसो हुँदा जहाँजहाँ वाणिज्यदूतहरू नियुक्त छन्, ती सबै नेपाल सरकारका प्रतिनिधि हुन् । तिनबाट नेपाल सरकार र त्यहाँ रहेका नेपालीहरूको हित हुने, दुई पक्षीय व्यापार लगानी लगायतका क्षेत्रमा फाइदाका कार्यहरू हुने अपेक्षा गरिएको छ। 

छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने अमेरिकामा उसका एउटा दूतावास तथा ५ वटा कन्सुलेट कार्यालय छन्। दूतावास तथा पाँचवटै कन्सुलेट मार्फत अमेरिका तथा अमेरिका मातहतका अन्य अमेरिकी साना राज्यहरू आधिकारिक राज्य क्षेत्र तोकी कार्य सम्पादन गर्छन् । यी कन्सुलेट कार्यालयले अमेरिकामा रहेका भारतीयहरूलाई सेवा प्रदान गर्ने मात्र हैन, विभिन्न कन्सुलेटको मातहतमा रहेको राज्य क्षेत्र र भारतबीचको व्यापार प्रवर्धन, नयाँ व्यापारिक क्षेत्रको पहिचान गरी भारतको सम्बन्धित मन्त्रालयलाई जानकारी गराउने, भारतमा अमेरिकाको लगानी वृद्धि गर्न, भारतको बौद्धिक जनशक्तिलाई विभिन्न भिसामार्फत अमेरिकी रोजगारी उपलब्ध गराउने, पर्यटन विकास प्रवर्धन गर्ने जस्ता कार्य गर्छन्। 

अहिलेसम्म विभिन्न मुलुक र स्थानमा गरी नेपाल सरकारका तर्फबाट ६४ अवैतनिक महावाणिज्यदूतहरू रहेका छन् । नेपालीहरूको घनाबस्ती रहेको टेक्सास र कोलोराडो लगायत युरोप, अस्ट्रेलियामा वाणिज्यदूतको आवश्यकता महसुस गरी मागहरू भइरहेका छन् ।

यतिखेर ‘क्वालिटी’मा ‘कम्प्रोमाइज’ नगरी अघि बढेको यो सरकारले धेरै नेताहरूलाई चित्त बुझाउँदै एक अर्थविज्ञलाई अर्थतन्त्रको साँचो सुम्पेको छ । त्यसैगरी अब हुने सम्पूर्ण कूटनैतिक नियुक्तिहरूमा दक्षता क्षमताका आधारमा नियुक्ति गर्न सक्ने हो भने यसले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याउँछ । नेपालीहरूको उपस्थिति ज्यादै नगण्य रहेको दक्षिण अफ्रिका, इजिप्ट, ब्राजिल लगायतका मुलुकहरूमा सरकारले दूतावास स्थापना गरेको छ । तर, नेपालीहरूको बाक्लो उपस्थिति भएको टेक्ससमा एउटा कन्सुलेट अफिस नहुँदा नेपाली समुदायले पीडा त पाएकै छन् । त्यसभन्दा बढी नेपालले अमेरिकाबाट प्राप्त गर्नसक्ने लाभ गुमाएको छ । 

 

(लेखक नेपाली समाज टेक्ससका पूर्वमहासचिव तथा एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज (अमेरिका तथा क्यानाडा) का महासचिव हुन्)

प्रकाशित: ५ चैत्र २०७४ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App