८ वैशाख २०८१ शनिबार
विचार

जैविक मल विकासको अपरिहार्यता

विश्वमा मानिसको जीवनशैलीमा आएको परिवर्तन र आधुनिकतासँगै क्यान्सरलगायत विभिन्न प्रकारका जटिल रोग देखा परिरहेका छन् । रोग लागेपछि उपचारमा भौतारिनु भन्दा समस्याको जरा पत्ता लगाउनु उचित हुन्छ । त्यसैले सुरक्षित र स्वस्थ खाद्यान्नका लागि रासायनिक मल र विषादी प्रयोग नगरिएको अर्गानिक खेती प्रबर्धन गर्नु आवश्यक देखिन्छ । नेपालमा अत्यधिक मात्रामा विषादी प्रयोग हुँदै आएको जानकारी छापाहरूमा छरपष्टै भएको छ । विभिन्न अध्ययनले देखाएअनुसार कृषि क्षेत्रमा विषादी र रासायनिक मलको प्रयोग समानान्तर किसिमले वृद्धि भइरहेको छ । अर्थात् जबसम्म रासायनिक मलको प्रयोग कम गरिँदैन तबसम्म विषादीको प्रयोग घट्ने सम्भावना छैन । रासायनिक मलको निर्भरता कम गर्ने एउटै उपाय हो– जैविक मल प्रयोग । विश्वमा सन् १९९० देखि नै रासायनिक मलको विकल्पमा जैविक मलको प्रयोगलाई व्यापकता दिएको पाइन्छ तर नेपालमा हालसम्म जैविक मलको प्रयोग व्यावसायिकरूपमा फस्टाउन सकेको छैन । अपवादबाहेक नेपालको अर्गानिक खेती करेसाबारीमा नै सीमित देखिन्छ । कृषकका अनुसार ‘जैविक मल प्रयोग गरी अर्गानिक खेती गर्दा उत्पादनमा केही कमी आएपनि त्यस्ता वस्तु बढी मूल्यमा सजिलै बिक्री हुने भएकाले लगानी उठाउन समस्या हुँदैन।

भारत विश्वमै सबैभन्दा बढी अर्गानिक खेती गर्ने कृषक भएको मुलुकमा पर्छ । त्यसैगरी एसियामा सबैभन्दा बढी (५० प्रतिशत) अर्गानिक खेतीयोग्य जमिन भएको चीनले पनि यस क्षेत्रमा तीव्र विकास गरिरहेको छ । तर नेपालमा भने अर्गानिक खेती र जैविक मलको उचित प्रयोग सम्बन्धमा आमकृषक जानकार देखिँदैनन् । दुई दशकदेखि सरकारी निकाय ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)’ र पछिला केही वर्षदेखि निजी क्षेत्र जैविक मलको उत्पादन र विकासमा लागेको देखिन्छ । तर अझै पनि नेपालमा यसको उत्पादनरप्रयोग नगण्य अवस्थामा नै छ । नेपालले यस क्षेत्रमा दरो खुट्टा टेक्न नसकेको कारण हाल बजारमा भारतीय जैविक मल छ्याप्छ्याप्ती पाइन्छ।

खानी रित्तिँदै गएपछि तेलको उत्पादनमा कमी आउँदा भविष्यमा मलको उत्पादन घटी यसको मूल्य बढ्ने निश्चित छ । त्यसकारण पनि नेपाल जस्ता कम विकसित मुलुकले समयमा नै जैविक मलको विकास र विस्तारमा लाग्नु आवश्यक छ ।

पाली कृषक अझै पनि जैविक मल प्रयोग गर्न हिच्किचाउँछन् पर्याप्त जनचेतना वा ज्ञानको अभावमा । त्यसैले यसको उचित प्रयोगबारे आमसञ्चार जगतमा थप चर्चा आवश्यक देखिन्छ । यो मल प्रयोग गर्ने कृषकका अनुसार उखु खेतीमा उत्पादन राम्रै हुन्छ । उनीहरूका अनुसार जैविक मल प्रयोग गर्दा रासायनिक मलको तुलनामा सुरुमा उत्पादन करिब ३० प्रतिशतले घटेपनि पछि माटोमा गुणात्मक सुधार आउन थालेपछि उत्पादन पनि वृध्दि हुने रहेछ । विशेषगरी काउली, बन्दा, ब्रोकाउली र गोलभेँडा खेतीमा जैविक मलबाट नेपाली व्यवसायीले राम्रै फाइदा लिएको सुनिन्छ । तर हरियो सागपातको उत्पादनमा यसको प्रयोग त्यति उपयोगी नभएको गुनासो पनि कृषकको छ । धान, मकै र गहुँ खेतीको सवालमा जैविक मलको प्रयोग उत्साजनक भेटिएको छैन नेपालमा । चियाबारीमा पनि जैविक वा अर्गानिक मलले राम्रै परिणाम देखाएको छ । यसका फाइदा अरू पनि छन् । जैविक मलले माटोमा हुन सक्ने हानिकारक फन्जाइ, परजीवी वा किटाणु रोकथाममा पनि सहयोग गर्छ । यसले केही हदसम्म जरामा पानी सञ्चित गर्ने हुँदा सुक्खायाममा पनि बिरुवा हुर्कन सहयोग मिल्ने विभिन्न अध्ययनले देखाएको छ।

विश्व बजारमा विभिन्न प्रकारका जैविक मल पाइन्छ तर त्यसमध्ये हावामा भएको नाइट्रोजनलाई जरासम्म पुराउने ‘नाइट्रोजन फिक्सिंङ’ ब्याक्टेरिया भएको जैविक मलको प्रयोग विश्वमा अत्यधिक (७८ प्रतिशत) हुने गरेको छ । त्यसपछि माटोमा जमेर बसेको ढिका ‘फस्फोरस’लाई झोलमा परिणत गर्न सक्ने ब्याक्टेरिया भएको जैविक मलको प्रयोग बढी हुन्छ । वास्तवमा कुन प्रकृतिको जैविक मल प्रयोग गर्ने भन्ने निधो गर्न माटोको वैज्ञानिक परीक्षण गर्नुपर्छ । र, यसलाई कृषि क्षेत्रमा सफलरूपमा प्रयोग गर्न सरकारले देशमा कृषियोग्य जमिनको माटो परीक्षण गरी राष्ट्रिय डाटाबेस बनाउनुपर्छ । तर विडम्बना, सरकारले यस विषयलाई गम्भीरसाथ बुझेर कृषकलाई सहयोग पुग्नेगरी सार्थक प्रयास गरेको भेटिएन । स्मरणरहोस् सरकारले कागजमा भने जैविक मल वा अर्गानिक खेती सम्बन्धमा निकै काम गरेको सुनिन्छ तर परिणाम देखिएको छैन।

राज्य जिम्मेवार भएर जैविक मल प्रयोग सम्बन्धमा कृषकलाई सही जानकारी र सेवा दिन नसकेको अवस्थामा उनीहरूको लगानी डुब्ने खतरा हुन्छ । किनकि जैविक मलमा माइक्रो अर्गानिज्म प्रयोग गरिएको हुन्छ । जसले माटोमा पोषण तत्त्व बढाउने र माटोको प्राकृतिक गुण जोगाउने काम गर्छ । यसमा विभिन्न प्रजातिका फन्जाइ, ब्याक्टेरिया तथा निश्चित मात्रामा नाइट्रोजन र फस्फोरस, पोटासियम आदि प्रयोग गरिन्छ । गाईवस्तुको मल, कुखुराको मल वा गड्यौँलाको मल सबै अर्गानिक मल भए पनि प्रयोगशाला परीक्षण गरी उत्पादन गरिएको जैविक मल कृषि उत्पादनमा बढी उपयोगी हुने अध्ययनले देखाएको छ।

वास्तवमा ख्याल गर्नुपर्ने अर्को कुरा के छ भने सबै जैविक मल एकैखालको हुँदैन । बाली र माटोको गुण वा प्रकृतिअनुसार यसमा फरक फरक माइक्रोअर्गानिज्मको प्रयोग गरिन्छ । र, त्यसरी प्रयोग गरिएका माइक्रोअर्गानिज्मले माटो र वातावरण प्रदूषित गर्दैनन् । त्यसको विपरीत रासायनिक मलले माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा बढाइदिन्छ र माटोमा अम्लीयपन बढ्छ । र, त्यस्ता रासायनिक तत्त्व बगेर नदी वा पानीको स्रोतमा पुगेपछि वातावरण नै प्रदूषित हुन पुग्छ। फलस्वरूप पानीको गुणस्तर घट्ने, पानीमा लेउ लाग्ने र माछालगायत जलचर मर्ने समस्या हुन्छ ।
नेपालमा मात्र होइन, विश्व बजारमा नै जैविक मल रासायनिक मलभन्दा सस्तो पर्छ । ‘जर्नल अफ फाइटोलोजी’ का अनुसार विश्वमा रासायनिक मलको माग सात मिलियन टनभन्दा बढी हुने अनुमान छ सन् २०२० सम्ममा । मुख्यतः रासायनिक मलको उत्पादन खाडी मुलुकमा तेल निकाल्ने क्रममा ‘साडइप्रडक्ट’ का रूपमा गरिन्छ। तर खानी रित्तिँदै गएपछि तेलको उत्पादनमा कमी आउँदा भविष्यमा मलको उत्पादन घटी यसको मूल्य बढ्ने निश्चित छ । त्यसकारण पनि नेपाल जस्ता कम विकसित मुलुकले समयमा नै जैविक मलको विकास र विस्तारमा लाग्नु आवश्यक छ।

तर जैविक मलसँग जोडिएका नराम्रा पक्ष पनि नभएका होइनन् । यसमा जीवित माइक्रो अर्गानिज्म प्रयोग हुने भएकाले यसको उच्चित हेरचार र सुरक्षा आवश्यक पर्छ । रासायनिक मललाई जसरी यसलाई लामो समयसम्म भण्डारण गर्न सकिँदैन । उत्पादकले तोकेको म्यादभित्रै प्रयोग गर्नुपर्छ । सही किसिमले जैविक मल प्रयोग गर्ने ज्ञान कृषकमा नभएको अवस्थामा अन्य हानिकारक माइक्रोअर्गानिज्म यसमा सक्रमण हुन सक्छ । र, त्यस अवस्थामा योजनाअनुसार जैविक मलले काम गर्दैन । साथै किसानको मेहनत र लगानी डुब्न सक्छ । यसबाहेक अर्को विचार गर्नुपर्ने कुरा के छ भने माटोमा आवश्यक पोषण तत्त्व पहिल्यै हुनुपर्छ नत्र जैविक मलमा भएको माइक्रो अर्गानिज्म माटोमा बाच्न सक्दैन र यो निष्प्रभावी हुन्छ । जैविक मल अन्य पम्परागत मलको परिपूरकमात्र हो । योसँगै प्राङ्गारिक मल पनि प्रयोग गर्नुपर्छ । यसले पूरै अन्य मलखादलाई प्रतिस्थापन गर्न सक्दैन।

यदि माटो धेरै तातो वा चिसो छ भने जैविक मलले काम गर्दैन । व्यवसायी पुष्कर आचार्यका अनुसार तराईमा ४६ डिग्री तापक्रमसम्म पनि यसले काम गरेको छ । तर सबैखालको जैविक मल तराई र उच्च हिमाली भेगका लागि उपयुक्त नहुन सक्छ । यसमा थप परीक्षण वा अनुसन्धान आवश्यक देखिन्छ । त्यसैगरी माटोमा धेरै अम्लीयपन वा झारपन भएकामा पनि यसको प्रयोग गरिँदैन । त्यसैगरी माटोमा पहिले नै प्राकृतिकरूपमा अन्य प्रतिरोधक माइक्रो अर्गानिज्म छ भने पनि जैविक मलले काम गर्दैन। 

रासायनिक मलमा भएको नाइट्रोजन माटोमा छिटो घोलिन्छ । फलस्वरूप माटोमा यसको मात्रा अत्यधिकरूपमा बढ्छ । र, माटोमा पोषण तत्त्वको कमी र नाइट्रोजनको मात्रा बढी भएपछि बोटबिरुवामा फन्जाइ र ब्याक्टेरियाको संक्रमण बढ्छ । यसको असर रासायनिक मल प्रयोग गरेको फलफूल र तरकारीमा पोषण तत्त्व घट्ने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । माटोमा बारम्बार रासायनिक मल प्रयोग गर्दा माटोमा विषाणुयुक्त रसायन, जस्तै– क्याडमियम, आर्सेनिक आदिको मात्रा बढ्छ । र, त्यस्ता हानिकारक रसायन कृषि उपजमा पुग्ने वैज्ञानिक अनुमान छ । जसका कारण मानिस क्यान्सरलगायत विभिन्न रोग सामना गर्न बाध्य हुन्छन्। 

यस क्षेत्रसँग जोडिएका विविध समस्या छन् । कृषि क्षेत्रमा रासायनिक विषादीको प्रयोग घटाउन सरकारले जैविक विषादी उत्पादनमा ५० प्रतिशतसम्म अनुदान दिने समाचार गत पुसमा आएको थियो । तर सरकारी कुनै पनि अनुदान वा सहयोग जैविक मलको उत्पादन र विकासमा कृषकले पाएको सुनिएन। 

नार्कले सन् १९८५ देखि नै जैविक मल उत्पादनमा अनुसन्धान सुरु गरेको देखिन्छ। तर विकासक्रमसँगै नार्कले यस क्षेत्रमा अपेक्षाकृत सफलता हासिल गर्न भने सकेको छैन। नास्ट र अन्य विश्वविद्यालयमा पनि जैविक मलसम्बन्धी खासै काम भएको सुनिएको छैन। 

गाउँघरमा प्रयोग हुने कम्पोस्ट वा प्राङ्गारिक मल सुधार कार्यक्रम पनि सरकारले राम्रोसँग सञ्चालनमा ल्याउन सकेको छैन । कृषकले खेत बारीमा ६ महिनादेखि थुपारेर राखेको वा पोषण तत्त्व नष्ट भइसकेको मल प्रयोग गरेको पाइन्छ। उक्त कम्पोष्ट मलमा ‘ट्राइकोडर्मा स्पेसिस’ नामक फन्जाइमात्र मिसाएर प्रयोग गर्न कृषकलाई सिकाउने हो भने पनि बालीमा लाग्ने कैयौँ रोग नियन्त्रण गर्न सकिन्थ्यो विषादीको प्रयोगै नगरी । तर सरकारी निकाय यसमा पनि कार्यक्रमविहीन नै देखियो।

अन्तमा, सरकारले जैविक मलको विकास र विस्तार गर्न कृषकलाई आवश्यक चेतनामूलक शैक्षिक कार्यक्रम र व्यवसायीलाई उचित सहयोग गर्नुपर्छ । तबमात्र आममानिसको अपेक्षाअनुसार सुरक्षित र स्वस्थ अर्गानिक खाद्यान्नको सुनिश्वितता बढ्नेछ। 

प्रकाशित: ५ चैत्र २०७४ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App