७ वैशाख २०८१ शुक्रबार
अन्य

दुई वर्षमा दुई करोड सखाप

काठमाडौं महनगरपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई वर्षमै करिब दुई करोड रुपैयाँ सकिएको छ । व्यवस्थापनका नाममा ठूलो रकम खर्चभए पनि भुस्याहा कुकुर आतंक भने बढ्दो छ।

पहिलेदेखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्ट्याउने गरेको थियो । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई वर्षअघि महानगरपालिकाले कुकुर व्यवस्थापन गर्न ‘मनुमित्र’ कार्यक्रम सुरु ग¥यो । 
गैरसरकारी संस्थासँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम पहिलेका जस्तै बजेट सक्नमा मात्र सीमित भएको देखिएको हो । कार्यक्रमअन्तर्गत हालसम्म गैसस र महानगरपालिकाले गरी करिब दुई करोड रुपैयाँ खर्च गरिसके पनि भुस्याहा कुकुरको समस्या भने घट्नुको साटो बढ्दो छ। 

‘हाम्रो क्षेत्रमा त भुस्याहा कुकुर समस्या उस्तै छ,’ महानगरपालिका वडा– २० स्थित चिकंसाः टोलकी रत्नमाया श्रेष्ठले भनिन्, ‘दुई–चार वर्ष पहिलेभन्दा कुकुरको समस्या अहिले झन् पो बढेजस्तो लाग्छ ।’ उनले टोलमा बच्चा जन्माउने कुकुरको संख्या धेरै भएको बताइन् । यसैगरी रातभर भुकेर कुकुरले सुत्न नदिने र साँझ–बिहान हिँड्दा समेत झम्टेर टोक्न आउने समस्या धेरै बढेको उनले जनाइन्। 

‘हाम्रो क्षेत्रमा त भुस्याहा कुकुर समस्या उस्तै छ,’ महानगरपालिका वडा– २० स्थित चिकंसाः टोलकी रत्नमाया श्रेष्ठले भनिन्, ‘दुई–चार वर्ष पहिलेभन्दा कुकुरको समस्या अहिले झन् पो बढेजस्तो लाग्छ ।’

महानगरपालिकाले भने यही वडामा ‘मनुमित्र’ कार्यक्रम सञ्चालन गरिरहेको छ । महानगरले ह्युमन सोसाइटी इन्टरनेसनल र द जेन गुड इन्स्टिच्युटको साझेदारीमा ‘मनुमित्र’ कार्यक्रम सुरु गरेको हो । दुई वर्ष बित्दा समेत कार्यक्रम प्रभावकारी देखिएको छैन।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका अनुसार गत साउनदेखि फागुनसम्म (आठ महिना)मा मात्र कुकुरले टोकेका करिब १६ हजार बिरामी रेबिजविरुद्ध खोप लगाउन आएका छन् । यस्तो खोप लगाउन आउनेमध्ये अधिकांश उपत्यकाभित्रकै हुने गरेका छन् । रेबिजविरुद्धको खोप एकजनालाई चारपटक लगाउनुपर्छ । साउनदेखि फागुनसम्म ६४ हजारपटक खोप लगाइएको आधारमा बिरामी संख्या निकालिएको हो। 

अस्पतालको तथ्यांकअनुसार गत वर्षसम्म वर्षकै १४–१५ हजार बिरामी मात्र आउने गर्थे । यसपालि आठ महिनामै १६ हजार बिरामी पुगेकाले उपत्यकामा कुकुरले टोक्ने क्रम बढेको देखिएको छ। 
काठमाडौं महानरगरपालिकासहित उपत्यकामा कुकुर आतंक बढेकाले महानगर र गैसस मिलेर सुरु गरेको ‘मनुमित्र’ कार्यक्रम प्रभावकारी हुन नसकेको पुष्टि हुन्छ। 

त्रिवर्षीय ‘मनुमित्र’ कार्यक्रमअन्तर्गत महानगर र ह्युमन सोसाइटीले साढे चार करोड रुपैयाँ खर्च गर्ने योजना बनाएका छन् । कुल बजेटमध्ये महानगरपालिका र गैससले आधा–आधा रकम खर्चिने योजना छ । कार्यक्रमअन्तर्गत पहिलो वर्षमा ह्युमन सोसाइटीले एक करोड ५० लाख खर्च गर्नेछ । पहिलो वर्ष महानगरको लागत भने शून्य हुनेछ। 
सोहीअनुसार सोसाइटीको अनुदानमा द जेन गुड इन्स्टिच्युटले व्यवस्थापनको काम अघि बढाएको थियो।

यसैगरी, दोस्रो वर्षमा एक करोड ५० लाख रुपैयाँ खर्च गर्ने योजना थियो । त्यसमध्ये ७५ लाख रुपैयाँ ह्युमन सोसाइटी र ७५ लाख महानगरले खर्चिने सम्झौता भएको थियो । सम्झौताअनुसार सोसाइटीले ७५ लाख अनुदान उपलब्ध गराएर इन्स्टिच्युटले खर्चिसकेको छ । महानगरले भने हालसम्म पाँच लाख रुपैयाँको औषधि उपलब्ध मात्र गराएको छ । 
सम्झौताअनुसार महानगरले नगदको साटो औषधि उपलब्ध गराउनुपर्नेछ । चालू आर्थिक वर्षमा महानगरले यसका लागि एक करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरले प्राविधिक सहयोग र औषधि उपलब्ध गराउन नसक्दा कुकुर व्यवस्थापन सोचेअनुसार हुन नसकेको दाबी द जेन गुड इन्स्टिच्युटकी ‘मनुमित्र’ कार्यक्रम संयोजक संगीता सापकोटाले गरिन्। 

दुई वर्षअघि सुरु भएको कार्यक्रमअन्तर्गत कुकुर गणना भने सकिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाभित्र २१ हजार आठ सय ५६ कुकुर रहेको गणनाको तथ्यांक छ । त्यसमध्ये सात हजार चार सय २१ पोथी कुकुर छन् । यी पोथी कुकुरले सामान्यतः वर्षमा दुईपटक प्रजनन गराउँछन् । एकपटकमा करिब ६ वटासम्म बच्चा जन्मिन्छन् । कार्यक्रमअन्तर्गत कुकुरलाई सुरुमा रेबिजविरुद्ध खोप लगाउने र त्यसपछि बन्ध्याकरण गर्ने योजना रहेको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताए। 

इन्स्टिच्युटकी सापकोटाका अनुसार हालसम्म महानगरका १८ वडामा कुकुर व्यवस्थापन भइसकेको छ । वडा– १, १०, १३ र १८ देखि ३१ सम्म गरी १८ वटा वडामा कुकुरलाई खोप लगाउने र बन्ध्याकरण गर्ने काम सकिएको छ । तर, स्थानीयवासीका अनुसार कुकुर व्यवस्थापन गरिएका क्षेत्रमै कुकुरले बच्चा जन्माइरहेका छन्। 

इन्स्टिच्युटले भने हालसम्म चार हजार पाँच सय कुकुरलाई बन्ध्याकरण गरिसकेको दाबी गरेको छ । त्यति मात्र होइन, सिंहदरबार, शान्ति निकुञ्ज स्कुल, नारायणहिटी संग्रहालय, कन्या स्कुल, छाउनीस्थित रेन्जर गण र जगडोल गणलाई कुकुर व्यवस्थित क्षेत्र घोषणा गरिसकिएको छ।

कार्यक्रमअनुसार १८ वटा वडामा ६५ जना पशु व्यवस्थापन सहायक समेत नियुक्त भएका छन् । हरेक वडामा वडास्तरीय समिति गठन भएका छन् । समिति र यी सहायकले कार्यक्रम लागू भएका क्षेत्रमा भुस्याहा कुकुर भेटिएमा बन्ध्याकरण गराउन भूमिका खेल्नेछ।

कुकुर व्यवस्थापनका नाममा बर्सेनि ठूलो रकम लगानी हुने गरे पनि त्यसको प्रतिफल भने खासै देखिएको छैन । महानगरकै संलग्नमा गरिएको एक सर्वेक्षणले महानगरभित्र करिब ८४ हजार घरपालुवा कुकुर रहेको देखाउँछ । तीमध्ये करिब ४३ हजार कुकुर जुनसुकै बेला सडकमा आउन सक्छन्। 

राजधानीका सम्पन्न परिवारले नै कुकुर पाल्ने गरेका छन् । तर, कुकुरलाई कुनै रोग लागे वा बूढो भए सडकमा ल्याएर छाड्ने गर्छन् । यसले भुस्याहा कुकुरको संख्या बढाइरहेको महानगरकै सर्वेक्षणले देखाउँछ।

‘छाडा कुकुर व्यवस्थापनमा मनुमित्र कार्यक्रमले मात्रै केही प्रभाव नदेखिएलाजस्तो हामीलाई पनि लागेको छ,’ जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, ‘उपत्यकाका सबै स्थानीय तह लाग्नुपर्ने देखिन्छ ।’ उनले चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन भएकाले नतिजा नदेखिएको बताए। 

मनुमित्र कार्यक्रम संयोजक सापकोटा भने कार्यक्रम सकिएपछि खास प्रभाव देखिने बताउँछिन् । ‘मनुमित्र कार्यक्रमको उद्देश्य सधैँका लागि छाडा कुकुर व्यवस्थापन गर्नु हो,’ सापकोटाले भनिन्, ‘त्यसैले वडा समिति र पशु व्यवस्थापन सहायक राखेका छौँ ।’ उनका अनुसार वडाभित्र आउने नयाँ छाडा कुकुरको नियन्त्रण वडा समिति र पशु व्यवस्थापन सहायकमार्फत हुनेछ । नयाँ आउने छाडा कुकुरलाई उनीहरूले नै रेबिजविरुद्ध खोप लगाउने र बन्ध्याकरण गराउन मद्दत गर्नेछन्।

जनप्रतिनिधि आएसँगै मनुमित्र कार्यक्रमले खास प्राथमिकता नपाएको उनको गुनासो छ । ‘महानगरले जसरी औषधि उपलब्ध गराउनुपर्ने हो, गराइरहेको छैन,’ उनले भनिन्। 

श्रेष्ठ भने मनुमित्रबारे कार्ययोजना कार्यपालिका बैठकबाटै पारित गराउनुपर्ने भएकाले ढिलाइ भएको बताउँछन् । ‘जनप्रतिनिधि आएसँगै प्रक्रिया पनि सोही अनुसार गर्नुपर्ने भएकाले ढिला भएको हो,’ उनले भने, ‘दुई–चार दिनमै निर्णय भएर मनुमित्र कार्यक्रम अघि बढ्नेछ ।’

समस्या सबै नगरमा
छाडा कुकुरको समस्या काठमाडौं महानगरपालिकामा मात्रै नभएर अन्य नगरमा पनि उत्तिकै रहेको छ । ललितपुर महानगरपालिकासहित काठमाडौं, ललितपुर र भक्तपुरका सबैजसो क्षेत्रमा भुस्याहा कुकुरको समस्या रहेको छ । 
ललितपुर महानगरपालिकाले स्थानीय गैरसरकारी संस्थासँग मिलेर कुकुरको व्यवस्थापन गर्न लागेको जानकारी मेयर चिरिबाबु महर्जनले दिए। उनका अनुसार छाडा कुकुरको समस्या दिन प्रतिदिन बढ्दै गएपछि त्यसको व्यवस्थापनमा महानगर लागेको हो। त्यसका लागि छुट्टै बजेट व्यवस्था भने गरिएको छैन। 

कीर्तिपुर नगरपालिकाले भने भुस्याहा कुकुरको समस्या बढेपछि बजेटमै १५ लाख रुपैयाँ छुट्ट्याएर व्यवस्थापनमा लाग्ने निर्णय गरिसकेको छ। सोहीअनुसार नगरपालिकाले कुकुरको बन्ध्याकरण गराउने प्रयास पनि थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरञ्जन श्रेष्ठले बताए । उनका अनुसार नगरभित्र करिब ६ देखि आठ हजार कुुकुर रहेको अनुमान छ।

बूढानीलकण्ठ नगरपालिकामा पनि छाडा कुकुरको गुनासो आइरहेको मेयर उद्धव खरेलले बताए । नगरपालिकाले छाडा कुकुरका लागि बजेट व्यवस्था भने गरेको छैन । बजेट व्यवस्था गरेर यसै वर्षदेखि त्यसको समधानमा लाग्ने नगरपालिकाले जनाएको छ।

उपत्यकाका सबैजसो नगर क्षेत्रमा जनप्रतिनिधि आएसँगै भुस्याहा कुकुरले दुःख दिएको गुनासो आउने गरेको जनप्रतिनिधिहरू बताउँछन् । नागार्जुन नगरपालिकाकी प्रमुख कार्यकारी अधिकृत लक्ष्मी पाण्डेले आफ्नो नगरमा पनि यस्तो गुनासो धेरै आइरहेको बताइन्। 

प्रकाशित: ५ चैत्र २०७४ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App