१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘बाइक चोरको बिगबिगी’

–गत फागुन २० गते जोरपाटीका दिनेश अधिकारीको बा.४८प ३२५३ नम्बरको प्लेजर स्कुटर हरायो । वाग्मती किनारास्थित नवीन फुडल्यान्ड पार्टी प्यालेसमा पार्किङ गरेकै अवस्थामा राति साढे ८ बजे उनको स्कुटर चोरी भएको थियो । 
–अधिकारीको बाइक हराएको भोलिपल्टै पानीपोखरीका दलबहादुर योञ्जनको बा.९३प १३५८ नम्बरको मोटरसाइकल चोरी भयो। जापानी दूतावासनजिकै पार्किङ राखेको दुई सय २० सिसीको कालो मोटरसाइकल हरायो। 

– दलबहादुरको बाइक चोरी भएकै दिन सामाखुसी कपुरधाराका गौरव तामाङको बा.८४प ८४२६ नम्बरको बाइक पनि आफ्नै घरभित्रै पार्किङ गरेकै अवस्थामा हरायो। 

उपत्यकामा बढ्दो बाइक चोरीका उदाहरण हुन्– जोरपाटी, पानीपोखरी र सामाखुसीका यी घटना । यी मात्र होइन, उपत्यका अचेल हरेक दिनजस्तो बाइक चोरी भइरहेका छन् । तुलनात्मक रूपमा अन्यत्रभन्दा सवारीसाधन चोरी कम हुने भनिएको राजधानीमै बाइक हराउने क्रम बढेपछि सर्वसाधारण चिन्तित छन्। 

पछिल्लो समय उपत्यकाभित्र पार्किङस्थल, घर, अस्पताल, पार्टी प्यालेस, होटल, सार्वजनिक स्थल, मठमन्दिर, पार्कलगायत स्थानबाटै बाइक चोरी हुन थालेको छ।

पछिल्लो समय उपत्यकाभित्र पार्किङस्थल, घर, अस्पताल, पार्टी प्यालेस, होटल, सार्वजनिक स्थल, मठ–मन्दिर, पार्क लगायत स्थानबाटै बाइक चोरी हुन थालेको छ।

घरबाटै बाइक चोरी भएका कपुरधाराका तामाङ उपत्यकाको सुरक्षा कमजोर भएको बताउँछन् । ‘घरभित्रै ह्यान्डल लक गरेर राखेको मोटरसाइकल हरायो,’ उनले भने, ‘अब कसलाई दोष दिने ? कमजोर शान्ति सुरक्षाकै कारण चोरको मनोबल बढेको देखिन्छ।’ 

जोरपाटीका अधिकारी व्यवस्थित पार्किङ नहुँदा चोरलाई सजिलो भएको बताउँछन् । ‘राजधानीजस्तो सहरमा सुरक्षित पार्किङ छैन, जसले चोरलाई सजिलो भएको छ,’ उनले भने । उनी पार्किङस्थल तथा सडकमा पर्याप्त सिसिटिभी क्यामेरा भए चोरी कम हुने बताउँछन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७२/७३ देखि ०७४/७५ को हालसम्म दुई हजार चार सय ८३ वटा दुईपांग्रे सवारीसाधन हराइसकेका छन् । बर्सेनि दुईपांग्रे सवारीसाधन हराउने क्रम बढेको देखिन्छ । 
०७२÷७३ मा पाँच सय ४४ दुईपांग्रे सवारीसाधन हराएका थिए । ०७३/७४ मा एक हजार १४ यस्ता सवारीसाधन हराए । चालू आर्थिक वर्षको आठ महिनासम्म नौ सय २५ वटा दुईपांग्रे सवारीसाधन हराइसकेका छन् ।  महाशाखाका अनुसार हराएका सवारीसाधनमध्ये एकतिहाइ मात्रै भेटिएका छन् । आर्थिक वर्ष ०७२/७३ देखि ०७४/७५ सम्म मोटरसाइकल चोरीमा संलग्न ३७ जनालाई मात्र पक्राउ गरिएको छ। 

महाशाखाका प्रवक्ता उमेश रञ्जितकार सवारीचालकले सावधानी नअपनाउँदा दुईपांग्रे सवारीसाधन चोरी हुने गरेको बताउँछन् । ‘तीन–चार लाख खर्चेर सवारी किन्नेले सामान्य सुरक्षाको उपकरण खरिद गर्न कन्जुस्याइँ गरेको देखिन्छ, त्यसले सवारी हराउने गर्छ,’ उनले भने, ‘सडकमा पर्याप्त मात्रामा सिसिटिभी क्यामेरा नहुँदा अनुसन्धान गर्न समस्या भइरहेको छ।’

ट्राफिक प्रहरीका अनुसार सवारीचालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सडकमा सिसिटिभी क्यामेरा नहुनुलगायत कारण बाइक चोरी बढेको हो । 
प्रहरीका अनुसार उपत्यकाबाट चोरी भएका अधिकांश मोटरसाइकल उपत्यका बाहिर पुग्ने गरेका छन् । विशेषगरी सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, ललितपुरको दक्षिणी भेग, मकवानपुर, ओखलढुंगा लगायत जिल्लामा पुग्ने गर्छन्। 

महाशाखाका अनुसार उपत्यकाबाट सबैभन्दा धेरै पल्सर मोटरसाइकल हराउने गरेका छन् । पल्सर दुई सय २० सिसी, पल्सर एक सय ५० सिसी, होन्डा स्प्लेन्डर, आरवान फाइभलगायत बाइक धेरै हराउने गरेका छन्। 

हराएर भेटिएका कतिपय बाइक भने त्यसका धनीले लिन आउने गरेका छैनन् । महाशाखाकाको तथ्यांक अनुसार हराएका सवारीसाधन लिन भने सवारी धनी कमै मात्रै आउने गरेका छन्। 

आर्थिक वर्ष ०७२÷७३ मा एक हजार १४ बाइक हराएका थिए। त्यस वर्ष हराएकामध्ये प्रहरीले दुई सय ९२ वटा सवारीसाधन फेला पारेका थिए । तर, दुई सय १८ सवारीधनीले मात्रै हराएका सवारीसाधन फिर्ता लिएका थिए । ५१ वटा मोटरसाइकल धनी भने हराएका मोटरसाइकल दाबी गर्नै आएनन्।

प्रकाशित: ५ चैत्र २०७४ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App