७ वैशाख २०८१ शुक्रबार
अन्य

‘किने नाफा नकिने धर्म’

पुष्टकारी देखाउँदै शुभलक्ष्मी उलक । तस्बिर : उपेन्द्र

भक्तपुर दत्तात्रय मन्दिरअगाडि उत्तरी कुनामा छ, लक्ष्मण उलकको पसल । उनको पसलमा धेरैखाले सामान छन् । तर, धेरैले यसलाई पुष्टकारी पसलका रूपमा चिन्छन्। 

लक्ष्मणको किराना पसलले पुष्टकारी पसलको परिचय पाउनुको कारण हो, ग्राहकप्रति पसलेले गर्ने व्यवहार । पसलअगाडि पुगेर उभिने जो–कोहीलाई उनीहरू एक टुक्रा पुष्टकारी दिइहाल्छन् । पसलेको यो व्यवहारले धेरै ग्राहकलाई त्यहाँ सामान किन्न प्रेरित गर्छ। 

ग्राहकले पुष्टकारी चाखेर नकिने पनि लक्ष्मण र उनकी श्रीमती शुभलक्ष्मी मुस्काएर बिदा गर्छन् । ‘किने नाफा, नकिने धर्म,’ ७० वर्षीया शुभलक्ष्मी भन्छिन्, ‘यसैगरी हामीले व्यापार गर्दै आएको धेरै भइसक्यो।’ 

लक्ष्मणको किराना पसलले पुष्टकारी पसलको परिचय पाउनुको कारण हो, ग्राहकप्रति पसलेले गर्ने व्यवहार । पसलअगाडि पुगेर उभिने जो–कोहीलाई उनीहरू एक टुक्रा पुष्टकारी दिइहाल्छन् । पसलेको यो व्यवहारले धेरै ग्राहकलाई त्यहाँ सामान किन्न प्रेरित गर्छ। 

उनका अनुसार लक्ष्मण र शुभलक्ष्मी यही स्थानमा पुष्टकारी पसल चलाउने सातौँ पुस्ताका हुन् । दत्तात्रय छेउको यही स्थानमा उनीहरूका पुर्खाले पहिलो पुस्ताको पसल सुरु गरेका थिए । ‘छोराले समेत यही व्यवसायमा हात हालेको छ,’ उनले भनिन्, ‘उसले आठौँ पुस्तामा पुष्टकारी व्यवसायलाई निरन्तरता दिँदै छ ।’ पुष्टकारी व्यवसाय आफ्नो परिवारको पहिचान नै भएको उनी बताउँछिन्। 

७८ वर्षीय लक्ष्मण युवावस्थामा उपत्यका र उपत्यकाबाहिर समेत पुष्टकारी बेच्न जाने गरेको अनुभव सुनाउँछन् । ‘उसबेला भरियालाई पुष्टकारीका झोला बोकाएर साँखुदेखि पनौतीसम्म पनि बेच्न जान्थ्यौँ,’ उनले भने । पहिले पुष्टकारी बिक्री गर्न जाँदा रमाइलो हुने गरेको लक्ष्मणले सुनाए। 

‘हामी गाउँघरतिर पुग्दा पुष्टकारी साहु आयो भन्दै केटाकेटीदेखि बूढापाका सबै रमाउँथे,’ उनले भने, ‘त्यो समयमा मिठाइ भने पनि चक्लेट भने पनि पुष्टकारी नै थियो ।’ दूधमा सख्खर र नरिवल हालेर पकाउने गरिएकाले यसमा पौष्टिक तत्त्व धेरै हुने उनले बताए । पुष्टकारी सम्झनेबित्तिकै मानिसको मुख रसाउने उनको बुझाइ छ। 

लक्ष्मण पुष्टकारीका लागि चाहिने दूध भक्तपुरका काँठ क्षेत्र, सुडाल, झौखेल, खरिपाटी लगायतबाट ल्याउने गरेको बताउँछन् । ‘समयअनुसार यसको माग घढ्ने÷बढ्ने हुन्छ,’ उनले भने, ‘अहिले विदेश लैजाने चलन बढेकाले यसको माग वृद्धि भएको छ।’

उनको पसलमा अहिले पुष्टकारी प्रतिगोटा पाँच रुपैयाँमा बिक्री हुन्छ । लक्ष्मणलाई दुई पैसामा तीनवटा पुष्टकारी बिक्री गरेको समेत अनुभव छ । ‘मोलमा धेरै फरक आएको छ,’ उनी भन्छन्, ‘स्वादमा त धेरै घटबढ हुन दिएका छैनौँ।’ 

उमेर बढेसँगै लक्ष्मणले धेरै कुरा बिर्सिसकेका छन् । तर, उनलाई आफूले जानेदेखि नै पुष्टकारीको बास्ना सुँघेको याद आउँछ । ‘पुष्टकारी पकाउँदै गर्दा परसम्म पनि यसको मगमग पुग्थ्यो,’ उनले भने, ‘तातोतातो पुष्टकारी खानेको पनि भीड नै हुन्थ्यो।’ 

लक्ष्मणलाई पसलमा दाउरा बालेर पुष्टकारी बनाएको याद छ । त्यसपछि स्टोभ र हाल ग्यासमा पुष्टकारी पाक्न थालेको छ । ‘अहिले घरमा पकाएर पसलमा लान्छौँ,’ उनले भने, ‘यसलाई मेरो छोराले निरन्तरता दिँदै छ ।’ पुष्टकारीसँग जति नजिक भए पनि कहिल्यै अमन नभएको उनले बताए । ‘अहिले पनि पुष्टकारी मुखमा राखेर रमाउने गरेको छु,’ उनले भने, ‘बाल्यकालदेखि बुढेसकालसम्म अमन नभएको खानेकुरा यही हो।’

प्रकाशित: ५ चैत्र २०७४ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App