८ वैशाख २०८१ शनिबार
अन्य

जहाँ ७७ जिल्लाकै विद्यार्थी पढ्छन्

काठमाडौंमा एउटा यस्तो विद्यालय छ, जहाँ ७७ जिल्लाका विद्यार्थी पढ्छन् । काठमाडौंका धनाढ्यदेखि सामान्य किसानका छोराछोरीसम्मले अध्ययन गर्ने विद्यालय हो, काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित बूढानीलकण्ठ माध्यमिक विद्यालय । यो विद्यालयमा तत्कालीन युवराज दीपेन्द्र शाहले पनि पढेका थिए। 

देशकै नामी यस विद्यालयको शैक्षिक गुणस्तर आधुनिक प्रणालीको छ । हरेक कक्षामा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा अन्य अतिरिक्त प्रयोगात्मक कक्षाकोठा छन् । विद्यालयको बाहिरपट्टि फराकिलो खेलमैदान छ। बिदाको दिन भलिबल, बास्केट बल, फुटबललगायत विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सन् १९७२ मा बेलायत सरकारले सञ्चालन गरेको यो विद्यालय सन् १९९४ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

विद्यालयमा देशका प्रत्येक जिल्लाका विद्यार्थी छन्। बेलायतले सञ्चालन गर्दा विद्यालयमा कार्यरत शिक्षक विभिन्न तालिममा सरिक हुन्थे । नेपाल सरकारले लिएपछि भने शिक्षकलाई दिइने विदेशी तालिम हट्यो । विगतमा अन्तर्राष्ट्रिय गुणस्तर र छवि बोकेकोे विद्यालय मानिए पनि अहिलेका शिक्षक त्यति अनुभवी नभएको बूढानीलकण्ठका स्थानीय नवीन श्रेष्ठ बताउँछन् । ‘यो नेपालकै उत्कृष्ट छ । विद्यालयको क्षेत्र र वातावरण राम्रो छ। पहिले राजाहरूको पालामा जसरी पढाइन्थ्यो, अहिले पनि त्यसरी नै पढाइन्छ,’ उनले भने, ‘यहाँको सर्टिफिकेट युरोप र अमेरिकामा पनि बिक्छ । तर, अहिले यहाँ पहिलेजस्ता अनुभवी शिक्षक छैनन्।’ 

‘यसले नेपालको शिक्षा क्षेत्रमा पार्नुपर्ने प्रभाव परेको थियो । पछि यही विद्यालयमा पढेका विद्यार्थीले निजी स्कुल खोले, त्यसपछि यहाँको गुणस्तरीयता कपी भयो।’

उनले पठनपाठन र शैक्षिक गुणस्तर राम्रो भए पनि यस विद्यालयमा गरिब र निमुखाको पहुँच नपुगेको बताए । ‘सामान्य र निम्न वर्गका व्यक्तिले यो विद्यालयमा पढ्न सक्दैनन्,’ श्रेष्ठले भने, ‘सुविधा राम्रो भए पनि यहाँसम्म आएर गरिबले पढ्न सक्दैनन्।’ 

विद्यालयका प्रधानाध्यापक केशरबहादुर खुलालले विदेशी मुलुकले सरह नै गुणस्तरीय शिक्षा दिएको बताए । ‘ब्रिटिसले चलाउँदा बरु यतिको व्यवस्थित थिएन होला,’ उनले भने, ‘हामीले पुरानो गुणस्तरलाई खस्कन दिएका छैनौँ, बरु विद्यालयलाई आधुनिक र प्रविधियुक्त बनाएका छौँ ।’ उनका अनुसार अहिले यस विद्यालयमा होस्टेलमा बसेर पढ्ने विद्यार्थीले प्रतिमहिना १४ हजार शुल्क तिर्नुपर्छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढ्ने विद्यार्थीको संख्या एक हजार एक सय छ । सरकारले नै ल्याएका कार्यक्रमलाई सञ्चालन गर्दै आएका छौँ । पहिले यसको विकल्पमा अरु थिएनन् । त्यतिबेला खुबै चर्चा पायो । तर, निजी क्षेत्रका विद्यालय खोल्ने क्रम बढ्यो । त्यसपछि बूढानीलकण्ठका विद्यार्थी बाँडिए । धेरैले यहाँको गुणस्तर कपी गरे । ‘यसले नेपालको शिक्षा क्षेत्रमा पार्नुपर्ने प्रभाव परेको थियो,’ प्रधानाध्यापक खुलालले भने, ‘पछि यही विद्यालयमा पढेका विद्यार्थीले निजी स्कुल खोले, त्यसपछि यहाँको गुणस्तरीयता कपी भयो ।’ उनका अनुसार २०६२/०६३ मा राजनीति परिवर्तनका क्रममा विद्यालयलाई पनि ठेस पर्याे । विद्यालयलाई आफ्नो हातमा पार्न विभिन्न नेताले अनेकौँ प्रपञ्च रचेको उनी बताउँछन्। 

जब बेलायतले नेपाललाई हस्तान्तरण गर्याेे, त्यतिबेला राजनीति प्रभाव पनि पर्याे । शिक्षाको गुणस्तर भने खस्किएन । बेलायतले हस्तान्तरण गर्दा यहाँ ६ सय विद्यार्थी पढ्थे भने अहिले विद्यार्थी संख्या एक हजार एक सय पुगेको छ । अहिले कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा छात्रभन्दा छात्राको संख्या बढी छ। 

‘मैले सुनेअनुसार त्यतिबेला यो विद्यालयमा पढ्ने विद्यार्थी अराजक थिए,’ प्रधानाध्यापक खुलाल भन्छन्, ‘अहिलेका विद्यार्थी अनुशासित छन्।’

केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै कांगे्रस नेता गगन थापाले बूढानीलकण्ठलाई अझै सुधार गर्नुपर्ने बताए । विगतमा शान्तिकारीदेखि क्रान्तिकारीसम्म विद्यार्थी उत्पादन गरेको बूढानीलकण्ठ पनि पहिलेजस्तो नरहेकाले सरकारले कुनै ठोस योजना बनाउनुपर्ने उनले बताए । ‘अरु विद्यालयलाई पनि हामीले योजस्तै बनाउन सकेको भए, हामी शिक्षा क्षेत्रमा यति धेरै खस्कन्नथ्यौँ होला,’ उनले भने, ‘काठमाडौंमा शिक्षा क्षेत्रमा बूढानीलकण्ठ माविले धेरै फड्को मारेको छ, अब अरु विद्यालयलाई पनि यसकै दाँजोमा पुर्याउन आवश्यक छ ।’ 

प्रकाशित: ५ चैत्र २०७४ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App