८ वैशाख २०८१ शनिबार
अन्य

खानीखोलाको साढे तीन मेगावाट बिजुली खेर

ललितपुरको भट्टेडाँडास्थित खानीखोला जलविद्युत आयोजना।

समयमै प्रसारण लाइन नबन्दा ललितपुरको भट्टेडाँडास्थित जलविद्युत केन्द्रबाट उत्पादित ६ दशमलव ३६ मध्ये झण्डै आधा बिजुली खेर गइरहेको छ। 

भट्टेडाँडास्थित केन्द्रबाट कुल ६ दशमलव ३६ मेगावाट विद्युत उत्पादन भएकामा तीन दशमलव ३६ मेगावाट खेर गएको हो । आयोजना प्रमुख भरत थापाका अनुसार टुंगुन–ठोस्ने खोलाबाट चार दशमलव ३६ मेगावाट र खानीखोलाबाट दुई मेगावाट विद्युत उत्पादन भइरहेको छ ।  त्यसमध्ये तीन मेगावाट मात्रै प्रयोगमा छ। 

आयोजना क्षेत्रबाट ३३ केभीको मातातीर्थ प्रसारण लाइनमा जोड्ने प्रसारण लाइन समयमै नबन्दा बिजुली खेर गइरहेको उनले बताए। 

‘दुई वर्षअघि भएको सम्झौताअनुसार ठेकेदार कम्पनीले गत पुस मसान्तसम्म प्रसारण लाइनको काम सक्नुपथ्र्यो । तर, अहिलेसम्म १० प्रतिशत पनि काम भएको छैन।’

यस क्षेत्रमा जोड्ने प्रसारण लाइन निर्माण सुस्त छ । निर्माणको जिम्मा पाएको त्रिपुरेश्वर जय दुर्गा कम्पनीले २०७२ सम्म प्रसारण लाइन निर्माण सक्ने सम्झौता थियो । तर, दुइपटक म्याद थपिँदा पनि निर्माण अलपत्र परेको छ । 
४० किलोमिटर रहेको प्रसारण लाइनमध्ये हालसम्म ६ किमी मात्रै निर्माण भएको छ । प्रसारण लाइनका लागि ल्याइएका पोल अलपत्र फालिएका छन्। 

प्रसारण लाइन निर्माणमा ठेकेदारले लापरबाही गरेको उनको आरोप छ । 
मातातीर्थ प्रसारण लाइनमा विद्युत नजोडिँदा घाटा बेहोर्नुपरेको आयोजना प्रमुख थापाले बताए । उनका अनुसार आयोजनाको १.४ मेगावाट बिजुली ११ केभी फिडरको लगनखेल प्रसारण लाइनमा जोडिएको छ । यहाँको विद्युत दक्षिण ललितपुर वितरण भइरहेको छ । ‘अहिले लोकल लाइन (एलटी) ११ केभीमा जोडेर केही विद्युत बेचेका छौं,’ उनले भने, ‘ठेकेदारले काम नगर्दा उत्पादन भएको बिजुली खेर गएको हो।’ 

प्रसारण लाइन निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको आयोजना प्रमुख थापाले बताए । उनले भने, ‘दुई वर्षअघि भएको सम्झौताअनुसार ठेकेदार कम्पनीले गत पुस मसान्तसम्म प्रसारण लाइनको काम सक्नुपथ्र्यो । तर, अहिलेसम्म १० प्रतिशत पनि काम भएको छैन।’

आयोजना निर्माणका लागि खानीखोला जलविद्युत आयोजनाले १ अर्ब १५ करोड लगानी गरेको थापाले बताए । उनका अनुसार आयोजनामा १० प्रतिशत स्थानीयको र बाँकी कम्पनीको लगानी छ। 

आयोजनामा अहिले २६ कर्मचारी छन् । तर, विद्युत प्रसारण लाइनमा नजोडिँदा कर्मचारी खाली बस्न बाध्य छन् । 
ठेकेदार कम्पनीका निर्देशक सागर लुइँटेलले प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र फँडानी गर्न नदिएकाले समस्या भएको बताए । उनका अनुसार प्रसारण लाइनको १४ किलोमिटर क्षेत्रमा वन क्षेत्र पर्छ । वनकै कारण काम अड्किएको उनको दाबी छ । ‘सम्झौता अनुसार काम गर्न नसक्नुका कारण वन क्षेत्र र व्यक्तिको निजी जग्गा पर्नु हो,’ उनले भने, ‘स्थानीयले अवरोध गरेका कारण हामीले सम्झौता अनुसार काम गर्न नसकेका हौं ।’ 

काम समयमै नसकिनुमा विद्युत प्राधिकरणको दोष रहेको उनको आरोप छ । विद्युत प्राधिकरणले आवश्यक             उपकरणको व्यवस्था नगर्दा काम सुस्त भएको उनले बताए । उनले भने, ‘प्राधिकरणले वन क्षेत्र फँडानीका लागि स्थानीयसँग सहमति गरेको भए हामीले समयमै काम सक्थ्यौं । स्थानीयले पोलसम्म गाड्न दिएका छैनन्, अहिले झन् फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको सेनाले पोल गाड्ने कार्यमा निकै अवरोध गरेको छ।’ 

उनका अनुसार पूरा क्षेत्रफलमा ११ सय पोल प्रयोग हुन्छन् । तीमध्ये सय मात्रै पोल गाडिएको छ भने अन्य काम बाँकी छ । प्रसारण लाइन जडानका लागि अहिले ठाउँ–ठाउँमा तार र पोल पुर्याएको छ। 

भट्टेडाँडा यार्खाका स्थानीय मानसिंह स्यान्ताङ भने स्थानीयले अवरोध नगरेको बताउँछन्। ‘हामीले अवरोध गरेका छैनौं । बरु ठेकेदार कम्पनी र विद्युत प्राधिकरणका केही कर्मचारी पैसा खाने दाउमा अल्झिएका छन्,’ 

प्रसारण लाइन व्यवस्था गर्ने हो भने अहिले उत्पादन भएको बिजुलीले ललितपुर जिल्लाभरिलाई पुग्ने आयोजनाले जनाएको छ । ‘देशमा भइरहेको लोडसेडिङ अन्त्य गर्न यस्ता आयोजनाले मुख्य भूमिका खेल्छन्,’ आयोजनाका सदस्य भीमसेन आचार्यले भने, ‘तर सरकारले नै ध्यान नदिएका कारण उत्पादन भएको बिजुली पनि खेर गइरहेको छ ।’ उनले मुख्य त केठेदारकै कारण काम अड्किएको बताए। 

विद्युत प्राधिकरण ललितपुर शाखाका इन्जिनियर बद्री प्याकुरेलले ठेकेदारले नै काम नगरेकाले विद्युत खेर गएको आरोप लगाए । उनले माल्टामा सव स्टेसन तयार हुँदा पनि मातातीर्थ प्रसारण लाइनमा जोड्न ठेकेदारले खासै काम नगरेको बताए । ‘हामीले जंगल कटान र अन्य कुरामा सहजीकरण गराएका छौं,’ उनले भने, ‘तर ठेकेदारले अनेक बहाना बनाएर पन्छिँदै आएको छ।’ 

प्रकाशित: ५ चैत्र २०७४ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App