८ वैशाख २०८१ शनिबार
अन्य

‘पुर्खाले सिर्जेका सम्पत्ति चिनेनौँ’

ज्योति मगर, गायिका

तपाईंलाई मनपर्ने सहर ?
पोखरा राम्रो लाग्छ । यो सहर आफैँमा सुन्दर छ । यहाँका हरेक ठाउँ रमणीय र घुम्नलायक छन् । प्रकृतिले दिएको सुन्दरतालाई पोखरावासीले झनै सुन्दर बनाएका छन् । पछिल्लो समय उपत्यकाबाहिर अलि व्यवस्थित मानिने सहर पोखरा नै हो । पोखरा नेपाली र बाह्य पर्यटक सम्मको सपनाको सहर बनेको छ । 

काठमाडौंं कस्तो लाग्छ ?
धेरै प्रिय लाग्छ। म काठमाडौं छिरेको ११ वर्ष बित्यो । यो ठाउँमा आएर मैले आफूलाई चिनाउन पाएँ । आफ्नो प्रतिभा देखाउन पाएँ। काठमाडौं आत्मीय लाग्छ । फोहोर र अव्यवस्थित भए पनि यहाँका धेरै पक्ष राम्रा छन् । काठमाडौंमा धेरैले अवसर पाएका छन्। गाउँ–गाउँमा लुकेर बसेका प्रतिभा काठमाडौंमै आएर आफूलाई चिनाउन पाएका छन्, यो यहाँका राम्रो पक्ष पनि हो। 

पोखराबाहेक अरु कुन–कुन सहर पुग्नुभएको छ ?
म नेपालका प्रायः सहर पुगेकी छु। नेपालगन्ज, धरान, बुटवल, विराटनगर लगायत धेरै सहर सुन्दर लाग्यो । काठमाडौंभन्दा बाहिरका सहर अलि व्यवस्थित र खुकुलो छन्। 

विदेशका कुन–कुन सहर घुम्नुभएको छ ? 
मैले १० भन्दा बढी देशका सहर घुमेकी छु। अस्ट्रेलिया, कोरिया, जापान, हङकङ, मलेसिया, दुबई, कतार, अमेरिकालगायत देश पुगेकी छु। 

अमेरिकाको न्युयोर्क, न्युजर्सी र मिरिल्यान्ड पुगेँ । यी सहर धेरै नै सुन्दर र नौला छन्। सानै सहर भए पनि हङकङ धेरै राम्रो छ । दुबईको आबुधाबी, जापानको टोकियो लगायत सहर पनि घुम्ने अवसर पाएँ। 

घुमेका सहर कस्तो लाग्यो ?
निकै सुन्दर र शान्त छन् । विदेशका सहर कानुनले चलेका छन् । सहरका हरेक कुरा कानुनले बाँधेको छ । मानिसका हरेक आवश्यकता सहरभित्रै पूरा हुन्छन् । विदेशका सहरमा कसैले पनि झन्झट व्यहोर्नुपर्दैन । काननुविपरीत काम गर्नेलाई ठुल्ठूला सजाय हुन्छन् । कानुनी कारबाही कडा भएकाले विदेशका सहरमा अराजकता हुँदैन । नागरिकहरू नीति–नियममा बस्छन् । सरकारले बनाएको नियममा चल्छन् । हाम्रोमा यसको ठ्याक्कै उल्टो छ, कानुनलाई नेता र सरकारी कर्मचारीले डोर्याएर हिँड्छन् । यस्तो चालाले सहरको विकास हुँदैन । 

हाम्रा सहरको विकास कसरी होला ?
विकासको कुरा राज्य र त्यहाँको नीति–नियमसँग जोडिन्छ । अनि, नागरिक पनि सहरको विकासमा जिम्मेवार हुन्छन् । सबैभन्दा पहिले त सहरको विकासका लागि ल्याइएका योजना सक्नुप¥यो । कुन–कुन ठाउँमा विकास गर्दा सहर बिग्रन्न उक्त कुराको अध्ययन पनि गर्नुप¥यो । थालेका कामलाई समय सीमाभित्रै सक्नुप¥यो, अनि मात्रै विकास हुन्छ कि भन्ने लाग्छ । हामीलाई प्रकृतिले यति धेरै वरदान दिएको छ, जसबाट हामी संसारमै चिनिन सक्छौँ । तर, त्यतातिर हाम्रो सरकारको ध्यानै गएन । खालि व्यक्तिगत फाइदातर्फ मात्रै लागे । विगतमा परनिर्भर भएका विश्वका धेरै देश आज आत्मनिर्भर बन्दै छन् । हामी भने सबैथोक हुँदाहुँदै पनि विकास काम गर्न सकेनौँ । सरकारले आमनागरिकका न्यूनतम आवश्यकता पूरा गर्न सकेन। 

सरकारले कसरी काम गर्नुपर्ला ?
सरकारले चाहने हो भने देशको विकास हुन धेरै वर्ष लाग्दैन । हामीकहाँ काम गर्ने भन्दा पनि पैसा कमाउन राज्य सत्तामा हामफाल्ने झोले नेता धेरै भए । राज्यमा भएको ढुकुटी रित्त्याउन लागे । सरकारमा जाने जोसुकै व्यक्तिको नियत सफा हुन्थ्यो भने देशको यो हालत हुने थिएन । सरकारले सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथाम लगायत विषयलाई मुख्य तहमा राखेर काम गर्ने हो भने सहरको विकास चाँडै हुन सक्छ । 

विदेशका सहर र हाम्रा सहरबीच कस्तो भिन्नता पाउनुभयो ? 
विकासका हिसाबले हामी धेरै पछि छौँ । सरकारले फाट्टफुट्ट विकासका काम गर्ने हो भने पनि हामीलाई विदेशी सहरको स्थानमा पुग्न अझै १० वर्ष लाग्न सक्छ । विदेशका सहर यति छिटो फेरिनुका कारण नीति–नियम पालना गरिनु नै हो । मुख्य कुरा हाम्रोमा नीति–नियम नै लागू भएन । यसले पनि सहरको विकास नभएको हो । प्रकृतिले निःशुल्क रूपमा दिएका र पुर्खाले सिर्जेका सम्पत्तिले हामी धनी छौँ । तर पछिल्लो पुस्ताले पुर्खाको सम्पत्ति जोगाउन सकेन। 

सहरको विकासमा नागरिकको दायित्व के होला ?
सहरमा बस्नेले जथाभावी प्लास्टिकका बोतल फाल्ने, चुरोट ठुटा फाल्ने, घरभित्रको फोहोर सडकमा मिल्काउनेजस्ता नराम्रा प्रवृत्ति छन् । यी प्रवृत्तिले सहरलाई कुरूप बनाएको हो । सही ठाउँमा फोहोर फाल्ने र अरुलाई खबरदारी गर्ने प्रवृत्ति भए सहर यति धेरै अस्तव्यस्त हुने थिएन होला । त्यस्तै, सहरको विकासमा सहरवासी चनाखो पनि हुनुपर्छ । 

तपाईंको सपनाको सहर कस्तो होला ?
म बसेको सहर सुरक्षित होस् । सहरका महिला दिनमा मात्रै नभएर रातमा पनि आफूलाई सुरक्षित महसुस गर्न सकून् । सहरमा बस्ने हरेकले राज्यका सबैखाले सुविधा सहजै पाऊन् । सहरभित्र स्वच्छ हावा र हरियाली दृश्य देख्न पाइयोस् । 

उपत्यकाको मनपर्ने पक्ष ?
यहाँको मौसम सदावहार लाग्छ । उपत्यका धेरै सेवा–सुविधा भएको ठाउँ हो । स्वास्थ्य, शिक्षा र अन्य सरकारी सुविधा पनि काठमाडौंमै धेरै छन् । यहाँका ऐतिहासिक सम्पदा नेपालकै गहना हुन् । 

मननपर्ने पक्ष ?
धुलो र मानिसको भीडभाड देख्दा दिक्क लाग्छ । सहरका मुख्य सडकको अवस्था पनि बिजोग छ । सबैतिरका सडक बिगारिएका छन् । सडक बनाउने जिम्मा पाएको सडक विभागले नागरिकलाई सास्ती दिएको छ।

उपत्यकाभित्र सपिङ जाने ठाउँ कुन हो ? 
प्रायः न्युरोड र सुन्धारातिर जान्छ । यहाँ ठुल्ठूला सपिङ मल छन् । 

उपत्यकाभित्र कतै घुम्न जानुपर्याे भने कुन ठाउँ रोज्नुहुन्छ ?
मलाई डाँडाकाँडा घुम्न त्यति मन लाग्दैन । सहरकै रमाइलोमा भुल्ने मान्छे हुँ म । उपत्यकाभित्र ठमेल रमणीय लाग्छ । त्यहाँको बत्तीको झिलिमिली र रेस्टुराँहरूमा गुन्जिएको म्युजिक राम्रो लाग्छ । साथीभाइसँग जमघट पनि ठमेलमै हुन्छ ।

पछिल्लो समय घुमेको ठाउँ ?
पोखरा गएकी थिएँ । पोखरा बेला–बेला पुगिरहन मनलाग्छ। 

मन भएर पनि घुम्न नपाएको सहर ? 
मलाई बैंकक जाने मन छ । मैले सुनेअनुसार यो सहर अरु देशका सहरभन्दा निकै भिन्न छ। 

सहरको मीठो लाग्ने खानेकुरा ?
नेवारी खाजा र खाना धेरै मीठो लाग्छ । फुर्सद मिल्यो भने नेवार साथीहरूसँग खाजा खान जान्छु। 
प्रस्तुती : शिवहरि घिमिरे

प्रकाशित: ५ चैत्र २०७४ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App