coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

विश्वमै लोकप्रिय छ महिन्द्रा :सञ्जय जादव

महिन्द्रा एन्ड महिन्द्राको साउथ एसियाका हेड अफ अपरेसन सञ्जय जादब ।

महिन्द्राले फागुन ३० गते हेटौंडामा आधुनिक तथा सुविधासम्पन्न वर्कसप सुरु गरेको छ । ६ हजार ८ सय वर्गफिट क्षेत्रफलमा फैलिएको सो वर्कसप उद्घाटनका लागि महिन्द्रा एन्ड महिन्द्राको साउथ एसियाका हेड अफ अपरेसन सञ्जय जादब नेपाल आएका थिए।

करिब २६ वर्षदेखि महिन्द्राले नेपालमा दुगड ग्रुपसँग सहकार्य गरीरहेको छ । सन् १९९२ मा अलविन निसान कम्पनीलाई महिन्द्रा एन्ड महिन्द्राले आफ्नो स्वामित्वमा ल्याएदेखि महिन्द्रा र दुगड ग्रुपबीच कमर्सियल भेइकलका लागि व्यावसायिक सहकार्य भएको थियो।

अहिले महिन्द्राले नेपाली बजारको ७० प्रतिशतभन्दा बढी बजार हिस्सा लिएको छ । हाल दुगड ग्रुपका १६ डिलर र २५ भन्दा बढी टुएस सुविधा छ । नेपाली बजारमा लाइट कमर्सियल भेइकल (एलसिभी) र स्मल कमर्सियल भेइकल (एससिभी) लोकप्रिय छन् । यसै विषयवस्तुमा नागरिकले महिन्द्रा एन्ड महिन्द्राको साउथ एसियाका हेड अफ अपरेसन सञ्जय जादबसँग गरेको कुराकानी :

नेपालमा महिन्द्राको भेइकलको अवस्था कस्तो छ ?
नेपाली बजार महिन्द्रा भेइकलको बजार राम्रो छ । पूर्वाधार निर्माण कार्य भइरहेको छ । सरकारले यस्ता परियोजनालाई विशेष महत्व दिएको छ । यसका कारण कमर्सियल भेइकलको बजार स्वाभाविक रुपमा बढिरहेको छ । हेभी कमर्सियल भेइकलको बजार सम्भाव्यता पहिलो स्थानमा छ । सार्क र एसिया क्षेत्रमा मात्र होइन, विश्वमै महिन्द्रा लोकप्रिय छ।

नेपाल भारतको नजिकको छिमेकी हो । राजनीतिक र अन्य विभिन्न सम्बन्ध छ । भारत र नेपालको भूगोल र ग्राहकको चाहना लगभग उस्तै छ । यसकारण हामीले करिब एक वर्षपहिले नेपालमा कम्पनीको कार्यालय समेत स्थापना गरेका छौं ।गुणस्तरीय उत्पादन र डिलर तथा डिस्ट्रिब्युटर्ससँग राम्रो सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका छौं।

पूर्वाधार निर्माण र पुनःनिमार्ण कार्य तीव्र गतिमा छ । तपाईंहरुको कम्पनीले यस विषयमा कुनै योजना बनाएको छ ?
नेपालमा राष्ट्रिय गौरवका आयोजना निर्माण भइरहेका छन् । ठूला पूर्वाधारको आयोजना निमार्णका लागि कमर्सियल र हेभी भेइकल आवश्यक हुन्छ । यसका लागि कम्पनीले यही अनुरुप बजार अध्ययनसहित व्यवस्थापन गरिरहेका छौं ।
यो अवस्थामा हामीले उच्च गुणस्तरीय र अत्याधुनिक प्रविधियुक्त भेइकल बजारमा ल्याएर सहयोग गर्न सक्छौं । भारतमा सुरक्षा, प्रदूषण र अन्य सबै दृष्टिकोणले गुणस्तरीय उत्पादन उपलब्ध गराउन सरकारले मापदण्ड बनाएको छ । हामी त्यही मापदण्डमा आधारित रहेर गुणस्तरीय उत्पादन युरोपेली मुलुकका साथै नेपालमा समेत उपलब्ध गराइरहेका छौं । यसले गर्दा नेपालमा गुणस्तरीय पूर्वाधार निर्माण गर्न र हाम्रो व्यवसाय बढाउन उत्तिकै सचेत छौं।  
महिन्द्राका हेभी कमर्सियल भेइकलको विशेषता कस्तो छ ?
उपभोक्ताले हेभी भेइकल बजारमा विशेष गरी ब्रान्ड हेर्छ । ब्रान्ड हेरेर भेइकल किन्ने उपभोक्ता सचेत दर्जाको व्यवसायी पनि हो । यही व्यवसायीको लागि हो– महिन्द्रा ।बजारमा कुनै कम्पनीको उत्पादन किन राम्रो हुन्छ, यसमा कस्तो प्रविधि प्रयोग गरिएको छ,  विशेष गरी जोखिममुक्त, वातावरणमैत्री, छिटोछरितो ढंगले काम गर्न सक्ने प्रविधिको प्रयोग महिन्द्राको हेभी कमर्सिल भेइकलको विशेषता हो।

अत्याधुनिक प्रविधिका कारण हेभी कमर्सियलले आम्दानीमा समेत महत्वपूर्ण भूमिका खेल्छ । उत्पादनले व्यक्तिको आयआर्जन बढाउन सक्नुपर्छ । यस्तै, उत्पादक कम्पनीले उपलब्ध गराउने बिक्रीपछिको सेवा हो।समयमै सेवा, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराए उपभोक्तामा ऊर्जा सहितको सन्तुष्टि हुन्छ । यस्ता विशेषता महिन्द्राका हेभी भेइकलमा पाउँछौं । हामीले बिक्रीपछिको सेवा उपलब्ध गराउन नेपालभर स्थापना गरेका डिलर नेटवर्कले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
नेपालमा वातावरणमैत्री गाडी उपलब्ध गराउन कस्तो योजना छ ?
भारतमा यो वर्ष अप्रिलको सुरुदेखि युरो ४ मापदण्डमा गाडी चल्ने छन् । हामीले पनि त्यसै अनुसार उपलब्ध गराइरहेका छौं । हामी युरोपमा पनि निर्यात गर्छाैं । अस्ट्रेलियामा युरो ६ र चिलीमा युरो ५ चलिरहेको छ । हामीले देशको भौगोलिक अवस्था अनुसार सबै मापदण्डका गाडी उपलब्ध गराएका छौं । नेपालमा हाल युरो ३ चलिरहेको छ । नेपालमा पनि युरो ४ लागू भयो भने हामी त्यही मापदण्डका गाडी उपलब्ध गराउछौं । हामी सुरक्षा र प्रदूषण मापदण्डमा कुनै सम्झौता गर्दैनौं।
महिन्द्राको अन्तर्राष्ट्रिय व्यापार कस्तो छ ?
महिन्द्रा ग्रुप सन् १९४५ मा स्थापना भएको थियो । हामी अहिले धेरै क्षेत्रमा प्रोजेक्ट  गरिरहेका छौं । हाल कम्पनीको करिब १९.२ बिलियन युएस डलरको टर्नओभर छ । एक सय १५ भन्दा धेरै देशमा महिन्द्रा ग्रुपका उत्पादन उपलब्ध छन्।

विभिन्न देशमा यस अन्तर्गत करिब दुई लाखले रोजगारी पाएका छन् । यद्यपि अटोमोटिभ क्षेत्र अर्थात गाडी निर्माण नै ग्रुपको मुख्य कार्य हो । ०.५ टनदेखि ५० टनसम्मका गाडी महिन्द्राले उत्पादन गरिरहेको छ । प्यासेन्जर सेग्मेन्टमा दुई सिटदेखि ४० सिटसम्मका गाडी उत्पादन हुन्छन् । कम्पनीले एसयुभी, पिकअप, ट्याक्टर, बस आदि सबै उत्पादन गरिरहेको छ।

अस्ट्रेलियन कम्पनीसँग सहकार्य गरेर हवाईजहाज समेत निर्माण गरिरहेका छौं । सूचना प्रविधिको क्षेत्रमा समेत कार्य गरिरहेको छ ।अटोमोबाइलको अन्तर्राष्ट्रिय बजार हेर्दा हामी अफ्रिका, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, युरोप, दक्षिण तथा मध्यअमेरिका गरी ६० भन्दा बढी देशमा निर्यात गरिरहेका छौं । दक्षिण एसियाको नेपाल, श्रीलंका, बंगलादेशमा कार्यालय स्थापना गरेका छौं।

दक्षिण अफ्रिकाको जोहानेसबर्ग, केन्या, अल्जेरिया, इटाली, अस्ट्रेलिया, न्युजिल्यान्ड आदि देशमा हाम्रो उत्पादन उपलब्ध छन् । अमेरिका, ट्युनिसियालगायत विभिन्न देशमा कारखाना छन् । ट्याक्टरका लागि म्यानुफ्याक्चर फ्यासिलिटी अमेरिकामा छ । सानो प्लान्ट अफ्रिका र श्रीलंकामा छ।  
नेपाली बजारमा कुनकुन रेन्जका गाडी उपलब्ध छन् ?
हामीले ०.५ टनको जितोदेखि माथिल्लो रेन्जका सबै गाडी नेपाली बजारमा उपलब्ध गराएका छौं । महिन्द्रा म्याक्सिमो, लोडकिङ, टुरिस्टर बस, टिपर, ट्याक्टर टिलर सबै रेन्ज छन् । प्यासेन्जरमा एसयुभी, थ्री ह्विलर र फोर ह्विलर छन्।हेभी ट्रकको क्षेत्रमा नेपाली बजारमा टप थ्री पोजिसनमा छौं । अब नम्बर टुमा जाने योजना छ । एससिभीमा नम्बर टु र पिकअपमा नम्बर वान छौं । एसयुभीमा नम्बर वान छौं । कन्स्ट्रक्सन इक्विपमेन्टमा टप थ्री पोजिसनमा छौं।

 

प्रकाशित: ६ चैत्र २०७४ ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App