coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

व्यवसायी दबाबमा नियमावली 'गायब'

काठमाडौं- यात्रुवाहक बसका चालक कम उमेरका र अनुभवहीन हुँदा दुर्घटना बढेेको निष्कर्ष निकाल्दै सरकारले डेढ वर्षअगाडि चालकलाई कस्ने नयाँ नियम ल्यायो। यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्दै सार्वजनिक यातायात चालकलाई जिम्मेवार बनाउन ०७१ मंसिर २५ गतेको मन्त्रिपरिषद् बैठकलेे 'सार्वजनिक सवारीचालक नियमावली, २०७१' पारित गरेको थियो।  तर, झन्डै डेढ वर्ष लाग्दा पनि भौतिक पूर्वाधार तथा यातायात कार्यालयले तयार पारेको उक्त नियमावली कार्यान्वयनमा आउन सकेको छैन। यहाँसम्म कि मन्त्रालयका कर्मचारी नै अहिले उक्त नियमावली कहाँ छ भन्नेमा बेखबर छन्।

मन्त्रालयका सूचना अधिकारी सुन्दर भट्टराई आफूलाई उक्त नियमावलीबारे कुनै जानकारी नभएको बताउँछन्। 'खोइ, त्यस्तो नियमावलीबारे मलाई कुनै जानकारी नै छैन,' उनले आइतबार नागरिकसँग भने, 'यो विषयमा यातायात व्यवस्था विभागलाई थाहा होला। मलाई त नियमावली कस्तो छ र कहाँ छ भन्ने थाहा छैन।'

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिको अगुवाइमा ल्याइएको उक्त नियमावली मन्त्रिपरिषद्बाट पास भएलगत्तै सिन्डिकेटका बलमा सडकमा अराजकता मच्चाइरहेका यातायात व्यवसायीले विरोध गरेका थिए। उनीहरूले नियमावली कार्यान्वयनमा नल्याउन दलका नेता तथा कर्मचारीसँगको भेट तीव्र बनाएका थिए। व्यवसायीकै दबाबका कारण मन्त्रिपरिषद्बाट पास भएको उक्त नियमावली हालसम्म राजपत्रमा प्रकाशित हुन सकेको छैन।

विभागका प्रवक्ता वसन्त अधिकारीले राजपत्रमा नियमावली प्रकाशित नभएका कारण कार्यान्वयनमा आउन नसकेको बताए। 'मन्त्रिपरिषद्बाट पास भएपछि कार्यान्वयनका लागि राजपत्रमा प्रकाशित हुने मिति कुरेर बस्यौं,' उनले भने, 'तर, अहिलेसम्म पनि नियमावली पास भएर आएन। नियमावली कार्यान्वयनमा आए धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने थियो। साथै सडकमा अनुशासन पनि कायम हुन्थ्यो।' उनले मन्त्रालयले यो विषयलाई अगाडि बढाउनुपर्ने बताए।

मन्त्रालय स्रोतका अनुसार यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको दबाबकै कारण उक्त नियमावली गायब बनाइएको हो। महासंघका पदाधिकारी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलनिकट भएका कारण उनीहरूकै दबाबमा नियमावली कार्यान्वयनमा आउन नदिने गरी लुकाइएको हो।

के छ नियमावलीमा?

बस, माइक्रो चलाउन २५ वर्ष उमेर पुगेको हुनुपर्ने

ट्याक्सी चलाउन २३ वर्ष

लाइसेन्स लिएको एक वर्ष परीक्षणकाल

परीक्षणकालमा लामो दुरीका सवारी चलाए लाइसेन्स खारेज

ठूलो सवारीको लाइसेन्स लिन कम्तीमा दुई वर्ष साना सवारीको अनुभव हुनुपर्ने

सार्वजनिक र निजी लाइसेन्समा अलग–अलग परीक्षा

सार्वजनिक लाइसेन्स लिन कक्षा १० पास गरेको हुनुपर्ने

ट्रायल पास गरेपछि 'रोड ड्राइभ' अनिवार्य

क्षमताभन्दा बढी यात्रु बोक्ने चालकको लाइसेन्स खारेज

 

प्रहरी तथ्यांकले देशभर सडक दुर्घटनामध्ये ७० प्रतिशतमा चालकको लापरबाही प्रमुख कारण हुने औंल्याएको छ। 'धेरै यात्रुको जिम्मेवारी बोक्नुपर्ने यात्रुवाहक बस कम उमेरका र अनुभवहीन चालकको जिम्मामा छाड्दा दुर्घटना बढेको भन्दै अनुभवी, दक्ष र पाको उमेरका चालक मात्र राख्न पाउने गरी नियमावली ल्याइएको थियो,' मन्त्रालयका एक कर्मचारीले भने, 'तर, यातायात व्यवसायीको दबाब र प्रभावले नियमावली नै हरायो।'

व्यवसायीले केही उच्च तहका कर्मचारीदेखि राजनीतिक दलका नेतासमेतलाई आफ्नो पक्षमा पारेका कारण नियमावली हराएको उनले बताए। यातायात व्यवसायमा केही नेता तथा सांसदकै लगानी रहेकाले कानुन कार्यान्वयनमा ल्याउन थप समस्या परिरहेको उनी बताउँछन्। व्यवसायीको दबाबमा लुकाइएको उक्त नियमावलीमा क्षमताभन्दा बढी यात्रु बोक्ने चालकको लाइसेन्स खारेज हुने कडा व्यवस्था गरिएको छ।

यस्तै सार्वजनिक सवारीसाधनको चालक बन्न कम्तीमा २५ वर्ष उमेर पुगेको हुनुपर्ने, ६० वर्षभन्दा बढी उमेरका चालकले यात्रुवाहक सवारी चलाउन नपाउने गरी उमेरहद तोकिएको छ। मालवाहक सार्वजनिक सवारीका हकमा पनि यो नियम लागू हुनेछ।

नियमावलीले ठूला सवारी भनेर बस तथा मिनीबसलाई किटान गरेको छ भने माइक्रो तथा सोही आकारका सवारीलाई मझौला भनेको छ। साना सार्वजनिक सवारीका हकमा पनि चालकको उमेर तोकिएको छ जसअनुसार साना यात्रुवाहक गाडी चलाउने लाइसेन्स लिन २३ वर्ष उमेर पुगेको हुनुपर्नेछ। साना सार्वजनिक सवारीमा ट्याक्सी पर्छ। हालसम्मको व्यवस्थाअनुसार २१ वर्षकै उमेरमा ठूला सार्वजनिक सवारी चलाउन पाइन्थ्यो भने मझौला तथा साना सवारी चलाउने लाइसेन्स लिन १८ वर्ष उमेर भए पुग्थ्यो।

नियमावलीमा पहिलोचोटि निजी तथा सार्वजनिक सवारीनिम्ति लाइसेन्स लिने प्रणालीसमेत फरक–फरक तोकिएको छ। सार्वजनिक सवारीका लागि व्यावसायिक तथा निजीका लागि गैरव्यावसायिक लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। अहिलेसम्म एकै किसिमका लाइसेन्स प्रयोग हुँदै आइरहेको छ। सार्वजनिक सवारीको लाइसेन्स परीक्षा प्रणालीसमेत निजीभन्दा फरक हुने व्यवस्था नियमावलीमा छ।

नियमावलीअनुसार २५ वर्षको उमेरमा लाइसेन्स लिएका चालकले एक वर्षसम्म लामो दुरीको यात्रुवाहक सवारी चलाउन पाउँदैनन्। 'लाइसेन्स लिएको एक वर्षसम्म परीक्षणकाल हुनेछ,' नियमावलीमा भनिएको छ, 'परीक्षणकालमा लामो दुरीका सवारी चलाउन पाइने छैन।' परीक्षणकालमै कसैले सार्वजनिक यातायात चलाएको पाइए उसको लाइसेन्स तत्काल खारेज हुने व्यवस्था गरिएको छ।

यसैगरी उक्त नियमावलीमा सार्वजनिक सवारीचालक बन्न १० कक्षा पास गरेको हुनुपर्ने व्यवस्था छ। हालसम्म सामान्य लेखपढ गरेकाले लाइसेन्स लिन पाउने व्यवस्था थियो। चालकलाई तालिम तथा कम्तीमा ५० घन्टा प्रशिक्षणको व्यवस्थासमेत नियमावलीमा  छ।

नियमावलीले सार्वजनिक सवारीचालकको उमेर र शैक्षिक योग्यताको हद मात्र होइन, लाइसेन्सका लागि दिनुपर्ने ट्रायल परीक्षामा समेत प्रावधान थप गरेको छ। अहिलेजस्तो ट्रायल परीक्षा पास गरेपछि चालकले एकैचोटि सार्वजनिक गाडी चलाउन पाउनेछैनन्। मूल सडकमा गएर कम्तीमा तीन किलोमिटर परीक्षण ड्राइभ गर्नुपर्ने थप व्यवस्था गरिएको छ। साना सार्वजनिक सवारीका हकमा दुई किलोमिटर परीक्षण ड्राइभ गर्नुपर्छ। परीक्षण ड्राइभमा पैदलयात्रु, साइकल र अन्य सवारीको सुरक्षालाई विशेष ध्यान दिनुपर्नेछ।

पुराना चालकलाई केही समयसीमा दिएर फेरि नयाँ व्यवस्थाअनुसार लाइसेन्स लिनुपर्ने व्यवस्थासमेत नियमावलीमा गरिएको छ। निजी सवारीका हकमा भने पुरानै व्यवस्थाअनुसार लाइसेन्स लिन पाइनेछ। पुरानो व्यवस्थाअनुसार मझौला तथा साना सवारीका लागि १८ वर्ष र मोटरसाइकल तथा त्यस्तै अन्य साना दुईपांग्रे सवारीका लागि १६ वर्ष उमेर पुगेको व्यक्तिले चालक अनुमतिपत्र प्राप्त गर्न सक्छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला नियमावली कार्यान्वयनमा आए ५० प्रतिशत दुर्घटना कम हुने बताउँछन्। 'दुर्घटना न्यूनीकरण र सार्वजनिक यातायातको मनपरी रोक्न यो नियमावली धेरै उपयोगी हुनेछ,' उनले भने।

प्रकाशित: ६ भाद्र २०७३ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App