coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘शत्रु गते १५ गते होइन’

कलाकार हरिवंश आचार्यसँगै निर्देशक प्रदिप भट्टराई। तस्विर : नागरिक

काठमाडौं– फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएपछि ट्रेलरको विषयमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी सुनिए । केहीले ट्रेलरलाई मनपराए त केहीले कलाकारको अभिनयमा नाटकीयता ज्यादा भएको  प्रतिक्रिया दिए।

फिल्मको गीत ‘रुपै मोहनी’विवादसँगै चर्चामा आउनु र अर्को गीत ‘पिरतीको बर्को’ले सोचे अनुरुप दर्शक नपाइरहँदा फिल्म युनिट चाहिँ फिल्मको सफलतालाई लिएर ढुक्क छ । फिल्मका मुख्य कलाकार हरिवंश आचार्य त ट्रेलरमा देखिएको ‘नाटकीयता’ नाटकीय नै नभएको दाबी गर्छन्।  

‘नेपालमा पछिल्लो समयमा यथार्थवादी फिल्म बन्न थालेको जगजाहेर नै छ । त्यस्ता फिल्मले दर्शकलाई सन्तुष्ट पार्न नसकेको पनि सबैलाई थाहा छ ,’हरिवंशले भने,‘बढी प्रयोगवादी फिल्म हेर्ने बानीले पनि हाम्रो काम नाटकीय लागेको होला । तर फिल्म हेरेपछि त्यो नाटकीयता  पाउनुहुन्न ।’ मनोरञ्जन र सन्देशलाई सन्तुलित किसिमले देखाइएकाले पनि दर्शकका लागि फिल्म रुचिकर हुने विश्वास हरिवंशको छ।

तराईमा बढ्दो दाईजो प्रथासँगै सामाजिक सद्भावको पाटो पनि समेटिएकाले दर्शकका लागि फिल्म स्वादिलो बन्ने उनको बुझाइ छ ।केही दिन अघिमात्र फिल्मका अरु कलाकारसँगै बसेर फिल्म हेरेका हरिवंश फिल्मले कलाकारलाई सन्तुष्ट बनाएको बताए।

‘फिल्म हेर्दा हामी कतै हाँस्यौं, कतै रोयौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीले आफ्ना फिल्ममा राम्रो चर्चा पाइरहेका थिए । यो फिल्ममा के होला भन्ने डर थियो । तर फिल्म हेरेपछि त्यो डर हराएर गएको छ,’हरिवंशको दाबी छ, ‘फिल्मको ग्रिप राम्रो छ । फिल्म हेर्दा दर्शकलाई चाँडै सकियोस् भन्ने लाग्दैन। ’

झण्डै १७ वर्ष पछि फिल्म निर्माणमा फर्किएको मह सञ्चारले उनीहरूको चर्चित टेलिसिरियल ‘१५ गते’ को झल्को दिने गरी ‘शत्रु गते’ घोषणा गर्दा दुईबीचको अन्तरसम्बन्ध के छ भन्ने चासो दर्शकमाझ थियो । ‘१५ गते र शत्रु गतेबीच समानता छैन । सिरियलको केही दृश्यलाई मात्र फिल्ममा राखेका छौं ।

ती दृश्यले दर्शकलाई १५ गतेको सम्झना दिलाउनेछन् । ’ मदनकृष्ण श्रेष्ठ र हरिवंश यसै फिल्ममार्फत पहिलोपटक डिजिटल फिल्ममा अभिनय गर्दैछन् ।आफ्नै टिमबाट फिल्म बनाएर सफलता बटुलिरहेका दीपक र दीपाको जोडीलाई ‘शत्रु गते’मा समेट्नु व्यावसायिक सफलताको लागि नरहेको पनि हरिवंशले प्रष्टिकरण दिए ।

‘दीपक र दीपाले हालसम्म बनाएको फिल्मभन्दा हाम्रो फिल्मको कथा फरक छ । फिल्मको स्क्रिप्ट अनुसार नै उहाँहरुको आवश्यकता परेकाले हाम्रो प्रस्तावलाई उहाँहरूले स्वीकार्नु भएको हो,’हरिवंशले भने,‘व्यावसायिक सफलता पाउन उहाँहरूलाई लिएको भन्ने बजारीया हल्ला निराधार हो ।’

 मनोरञ्जन र सन्देशलाई सन्तुलित किसिमले देखाइएकाले पनि दर्शकका लागि फिल्म रुचिकर हुने विश्वास हरिवंशको छ । तराईमा बढ्दो दाईजो प्रथासँगै सामाजिक सद्भावको पाटो पनि समेटिएकाले दर्शकका लागि फिल्म स्वादिलो बन्ने उनको बुझाइ छ।

नेपालमा डिजिटल प्रविधि भित्रिएपछि फिल्म निर्माणमा सजिलो भएको हरिवंशको बुझाइ छ । प्रविधि, फेसन, ग्ल्यामरले पनि फिल्ममा भिन्नता आएको उनको अनुभव छ । ‘अहिलेको प्रविधिले गालाको दारीको खाल्डो पनि देखाउन थालेको छ,’उनले हाँस्दै भने,‘पहिले पहिले हलमा जाँदा सिट भत्किएको हुन्थ्यो । सिटमा चुइगम टाँसिएको, काँटी उप्किएको पाइन्थ्यो।

तर अहिले दर्शकको खर्च गर्ने क्षमता अनुसारका हल छन् । यो हाम्रा लागि खुशीको कुरा हो ।’ फिल्म ‘शत्रु गते’ हलमा आइपुग्न लाग्दा झण्डै दुई करोड बजेट सकिएको दाबी गर्दै उनले आफूहरुले पारिश्रमिक नलिई शेयर होल्डरको रुपमा काम गरेको बताए।

फिल्म ‘शत्रु गते’का निर्देशक प्रदिप भट्टराई हुन् । प्रदिप लामो समयदेखि महसञ्चारमा रहेर मुख्य सहायक निर्देशकका रुपमा काम गर्दै आएका थिए । अघिल्लो फिल्म ‘जात्रा’बाट तारिफ पाएका प्रदिपलाई महसञ्चारले आफ्नै फिल्मबाट डेब्यु गराउने सोच भए पनि समय तालिका नमिल्दा प्रदिपले त्यो मौका पाएनन् । तर अहिले आएर मह जोडीसहित नाम चलेका कलाकारलाई एक्सन कट गराउँदा उनी खुशी छन् । ‘मदनदाइ र हरि दाइलाई त मैले टेलिसिरियलमै निर्देशन गराइसकेको थिएँ ।

त्यसकारणले फिल्ममा उहाँहरूलाई निर्देशन गराउनु कुनै समस्या थिएन,’प्रदिपले भने,‘अन्य कलाकारसँग पनि सौहार्दपूर्ण वातावरणमा काम गरियो । अस्ती फिल्म हेर्दा म आफै निकै भावुक पनि भएँ । फिल्म हेरेपछि हरि दाइ र मदनदाइसहित अन्य कलाकारले स्याबासी दिँदा त्यो माहोल मेरा लागि अविस्मरणीय नै रह्यो।’

पछिल्लो समयमा फिल्मको सिक्वेल लहर चलिरहँदा प्रदिपले भने ‘शत्रु गते’को सिक्वेल नबन्ने बताए । ‘आवश्यकताबिनाको सिक्वेलको अर्थ छैन । यो फिल्म पनि सिक्वेलमा आउँछ जस्तो मलाई लाग्दैन । किनकि यसको कथा आफैमा पूर्ण छ ’ उनले भने । आगामी शुक्रबारबाट रिलिज हुने फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेशरञ्जन झालगायतका कलाकारको अभिनय छ।
 

प्रकाशित: ६ चैत्र २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App