७ वैशाख २०८१ शुक्रबार
अर्थ

उपभोक्ताका गलामा 'अवैध' सुन

काठमाडौं- चार महिनायता नियमित बाटो सुन आयात अत्यन्तै न्यून छ। बैंकको सुन बिक्री ठप्प छ। तैपनि बजारमा कुनै अभाव छैन, पसलैपिच्छे भनेजति सुन पाइन्छ। मुलुकभर दैनिक औसतमा २० किलोभन्दा बढी सुन बिक्री भइरहेको व्यवसायी नै हाकाहाकी बताउँछन्।

पहिले आयात अलिकति घट्दा पनि रित्तिने बजार अहिले करोडौं मूल्यबराबरको सुन कहाँबाट भिœयाइरहेछ त?

सहजै भन्न सकिन्छ– अवैध बाटो। पछिल्ला दिन यही सुन उपभोक्ताको गलाको हार बनिरहेको छ।

व्यवसायी भने यसबारे मुख खोल्न चाहँदैनन्। काठमाडौं, मखन टोलमा ढिका सुन कारोबार गर्ने सूर्यलाल गोविन्दलाल एन्ड सन्स प्रालिका प्रोप्राइटरलाई आइतबार सुन आपूर्तिबारे प्रश्न राख्दा उनी मौन बसे। सरकारी अधिकारी पनि यस मामिलामा सकभर पन्छिइरहेछन्।

आइतबारको बजार मूल्यअनुसार एक किलो सुनको करिब ५२ लाख रुपैयाँ पर्छ। यस हिसाबले  देशभर दैनिक औसतमा साढे १० करोड रुपैयाँबराबरको कारोबार छ।

सरकारी उच्च अधिकारीका अनुसार नेपालमा उत्तरी छिमेकी चीनबाट सबैभन्दा धेरै अवैध सुन भित्रिने गरेको छ। पहिले खासा–तातोपानी मार्ग भएर बढी आउने गरेकामा अहिले केरुङ–रसुवा मार्ग सुन तस्करीमा प्रयोग हुन थालेको छ। सत्ताको पहुँच हुनेले काठमाडौं एयरपोर्टबाट सेटिङ मिलाएर पनि ल्याउने गरेको ती अधिकारीको दाबी छ।

चीनबाट आउने सुनको भुक्तानी सोझै नगद रूपमा अमेरिकी डलरमा गरिने भएकाले यहाँ डलर अभाव भएको पनि ती अधिकारीले जनकारी दिए। 'पछिल्लो समय अमेरिकी डलर नगद अभाव हुनुमा सुनको अवैध कारोबार जोडिएको छ,' उनले भने, 'अर्कातिर हुन्डीबाट पनि सुनको भुक्तानी दिने गरिएको छ।'

नेपालमा सुनको अवैध कारोबार यो पहिलो भने होइन। खास गरी नेपालभन्दा भारतमा सुनको मूल्य बढी हुँदा अवैध कारोबार फस्टाउने गरेको छ।

सरकारी अधिकारी उच्च तहमा पहुँच भएका व्यक्ति नै सुनको अवैध कारोबारमा संलग्न रहेको बताउँछन्। उनीहरूका अनुसार सुन कारोबारमा सानो परिमाणलाई पनि ठूलो रकम पर्ने भएकाले पुँजी कम भएका व्यक्ति लाग्दैनन्। राज्यको उपल्लो तहमा पहुँच नपुगेसम्म यो कारोबारमा संलग्न हुनु सबैभन्दा ठूलो जोखिम मोल्नु हो।

'एक किलो सुन प्रहरी वा भन्सारले समाते आधा करोड रुपैयाँ जान्छ,' एक सरकारी उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'यो धेरै जोखिम भएको व्यापार हो। त्यसैले पहुँचवाला नै कारोबारमा लागेका छन्।'

सुन कारोबारमा संलग्न एक व्यवसायी अहिले सुन तस्करीमा ४ लाख रुपैयाँको 'खेल' रहेको बताउँछन्। यहाँका बैंकबाट किन्नुभन्दा भन्सार छलेर ल्याएको सुन प्रतिकिलो ४ लाख रुपैयाँ सस्तो पाइने उनले जानकारी दिए। सरकारले प्रति दस ग्राम सुनको भन्सार अहिले ४ हजार २ सय रुपैयाँ लाग्ने व्यवस्था गरेको छ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना बैंकले ल्याएको सुन लामो समयदेखि बिक्री नभएकोमा आश्चर्य दर्साउँछन्। 'बजारमा सुन पर्याप्त छ, कारोबार पनि घटेको छैन तर आपूर्ति कतैबाट भएको देखिँदैन,' उनले भने, 'भन्सार, राजस्व अनुसन्धान विभागलगायत निकाय मिलेर व्यवसायीको कारोबारमाथि निगरानी बढाएका छौं।'

चार महिनायता बैंकहरूले उल्लेखनीय रूपमा सुन आयात नगरेको ढुंगानाले जानकारी दिए। 'आयात अत्यन्त न्यून छ,' उनले भने, 'बैंकमा अहिले ३ सय ७१ किलो सुन थन्किएको छ।'

यसअघि सुनको अवैध कारोबार नथामिएपछि सरकारले आयातका लागि बैंकहरूलाई मात्र इजाजत दिने व्यवस्था गरेको छ। कुनै पनि व्यापारीले आफूखुसी सुन ल्याउन पाउँदैन।

गत वर्षसम्म विदेशबाट आउने व्यक्तिले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार छुट पाउने व्यवस्था रहेकामा सरकारले चालु आवदेखि यसलाई हटाएको छ। अहिले ५ तोलासम्मका गहनामात्र ल्याउन पाउने व्यवस्था छ।    

अर्कातिर सुन आपूर्तिबारे जिज्ञासा राख्दा सबै व्यवसायी 'रेडिमेड' उत्तर दिन्छन्। पछिल्लो समय गहना बेच्न आउने सर्वसाधारण धेरै भएकाले सुनको अभाव नभएको उनीहरूको दाबी छ।

'गत वर्ष वैशाखमा आएको भूकम्पपछि सुन बेच्ने सर्वसाधारण बढेका छन्,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले नागरिकसँग भने, 'यसैले हाम्रो माग धानेको छ।'

नागरिकले गत शुक्रबार न्युरोडक्षेत्रका १० वटा चल्तीका पसलमा सोधखोज गर्दा १–२ जनाभन्दा बढी व्यक्ति सुन बेच्न आएको देखिएन। मुलुकभर दुई हजारभन्दा बढी सुन पसल छन्।

बैंकको सुन बिक्री नभएको र आयात रोकिएको अवस्थामा पनि बजारमा अभाव नदेखिएपछि भन्सार विभाग र राजस्व अनुसन्धान विभागका अधिकारीले सुन आपूर्तिबारे केही दिनअघि व्यवसायीसँग छलफल गरेका थिए। उक्त छलफलमा पनि व्यवसायीले सुन बेच्न आएका सर्वसाधारणबाटै आपूर्ति धानिएको बताएका थिए। 

अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीले सुनको आपूर्ति शंकास्पद रहेको बताए। सर्वसाधारणले बेचेको सुनले मुलुकको माग धान्न नसक्ने बताउँदै उनले यसमा विभागले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जानकारी दिए।

महानिर्देशक अधिकारीका अनुसार विभागले गत आर्थिक वर्ष अवैध रूपमा भित्रिएको ३६ किलो सुन नियन्त्रणमा लिएको थियो। उनले पहिले तातोपानी नाकाबाट सुन बरामद हुने गरेकामा अहिले रसुवातिर सरेको बताए। गत चैतमा रसुवाबाट १० किलो सुन बरामद भएको थियो। छिटपुट रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि बरामद हुने गरेको छ। व्यापारीका अनुसार प्रहरीले सुन समात्ने पनि 'सेटिङ'मा गडबडी भएर मात्र हो।

प्रकाशित: ६ भाद्र २०७३ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App