४ वैशाख २०८१ मंगलबार
विचार

प्रम ओली निराश नपार


म एउटा बच्चा हुँ जो कहिले ठूलो भइन । म अझै पनि ‘किन’ र ‘कसरी’ भनी ब्रह्माण्ड र मानवजगतका अनेकन् प्रश्नमा उल्झन्छु । कहिलेकाहीँ मात्र मलाई यस्ता प्रश्नको उत्तर प्राप्त हुन्छ। 

–महान् वैज्ञानिक स्टिफन हकिङ

स्टिफन हकिङ ब्रह्माण्डको अध्ययन र अनुसन्धानमा जीवन समर्पित गरी यसै साता व्रह्माण्डमा समाहित भए। ब्रह्माण्डबारे आमनेपालीलाई जिज्ञाशा र चासो छैन, हुनै सक्तैन। आफ्नो र परिवारको जीवन धान्न संघर्ष गर्नुपर्ने आमनेपालीको ब्रहमाण्ड सीमित छ।

यो देश किन गरिब छ र कसरी निरन्तर अस्थिरताको चक्रब्यूहमा फस्छ भनी बालसुलभ कौतहुलताको रहस्य जान्न भने लामो समयदेखि सबै नेपालीमा छटपटी थियो, छ। झन् विदेशीहरूका वाणीबाट नेपाल जस्तो सुन्दर, साधन र स्रोतबाट धनी देश कसरी गरिब र भिखारी भएको होला भनेको सुन्दा सबै नेपाली तीनछक्क पर्छन्। तर उत्तर कहीँ कतैबाट आउँदैन।

बेलाबखत  देशमा अब त केही होला कि? भनी जनताबीच उल्काझैँ केही राजनीतिक नेता आशाका किरण देखाउँछन्। जनताको विश्वास र भरोसा पनि जित्छन्। तर फेरि किन हो राजनीतिज्ञहरू तुरुन्तै जनताको आशा र भरोसामा तुषारापात गर्ने उपाय खोजी निराश पार्छन। यतिखेर नवनिर्वाचित प्रम खड्ग ओली मन्त्री र मन्त्रालय बढाएर त्यस्तै निराश पार्दैछन्। जनतासँग संवाद रोकेर सत्ता निर्माणमा मात्र सीमित हुँदैछन्।

अहिले नेपाली ग्रामीण युवामा देशप्रति बढेको विश्वास र भरोसा प्रम ओलीको पुँजी हो, देशको पुँजी हो, हुनुपर्छ। तिनको भरोसा र विश्वासमाथि कुठाराघात नगर्नुहोस्।

प्रचण्ड बहुमत पाएर सत्ताआरोहण गरेका प्रम खड्ग ओलीले बुझ्न नसकेको कुरा के हो भने भ्यागुतोको धार्नी जस्तो नाप जोखमा नलागी  खुरुखुरु काम गर्न थाल्ने हो भने जनताको समर्थन र प्रभावबाट गणितको खेलमा अल्झिरहनु नै पर्दैनथ्यो। गणित आफँै नतमस्तक भएर उनको शरणमा आउने नै छ। प्रम ओलीले मधेसकेन्द्रित दलहरूलाई सत्तामा ल्याउन खर्चेको समयले एकातिर निर्वाचनपूर्वको कम्युनिस्ट गठबन्धनलाई अविश्वास गरेको ठहर्छ भने अर्कोतिर कांग्रेसलाई लोकतन्त्र नै खतरामा पार्न यो ‘ग्रान्ड डिजाइन’ हुन थाल्यो भनी कराउने अवसर प्राप्त हुन्छ।

मधेसकेन्द्रित दल र नेपाली कांग्रेस विपक्षमा बस्नुपर्ने म्यान्डेट यो पटक जनताको हो।  एमाले र माओवादी केन्द्रलाई सत्तामा बस्ने म्यान्डेट पनि जनताकै हो। यो कुरा न मधेसी नेता बुझ्न चाहन्छन् सत्तास्वार्थले गर्दा नत प्रम ओली माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग मात्र  विश्वस्त भएर सत्ता निर्माणमा ढुक्क हुनसकेको देखिन्छ। प्रम ओली सुस्त हुनुमा यिनै विरोधाभासपूर्ण स्थितिले अहिले काम गरेको सहज अनुमान जनताले लगाउन सक्छन्। 

हकिङको  अपांग शरीरले कैयन् उत्तर खोज्यो ब्रह्माण्डसम्बन्धी। र, मानव जातिलाई प्राकृतिक सिद्धान्तहरू बुझ्ने अवसर प्राप्त भयो। त्यतिमात्र होइन, पृथ्वी र मानव जातिको भविष्यबारे पनि उनले अनेकन् विचार हाम्रा अगाडि ल्याएका छन्। प्रधानमन्त्री ओली पहिलोपल्ट प्रम हुँदा जनताको प्रश्न ‘किन र कसरी’ यो देश समृद्धशाली भएन, किन र कसरी नेपाल निरन्तर अस्थिरताको चंगुलमा फस्छ भन्ने कुरा बुझाउन सकेको भान हुन्थ्यो। नेपाली जनताले प्रम ओलीले नेपालको अस्थिर राजनीतिलाई समाप्त गर्न स्थिरता र समृद्धिका लागि हामीलाई भोट दिनूस् भन्दा त्यसै कारण पत्याएका थिए। ओलीको वाणीमा नेपाली कांग्रेसका सभापति र तत्कालीन प्रम शेरबहादुर देउवाको भन्दा ओज र प्रभावमात्र थिएन, आमनेपालीको विश्वास र भरोसा पनि थियो/छ।

राज्य सञ्चालनका लागि जनताको भरोसा र विश्वासभन्दा ठूलो अरु के नै हुन्छ भनी प्रम ओलीलाई सम्झाइरहनुपर्ने विषय होइन। तर जब प्रम भएको महिना बितिसक्दा पनि प्रम ओली क्याबिनेट विस्तारमा अल्झन्छन्, मन्त्रालयको संख्या वृद्धि गर्न लागिपर्छन्, संविधान नबुझेझैँ गर्छन् रतीन चौथाइ बहुमतका लागि दौडधुप गरेका देखिन्छन्, अनि प्रश्न उठ्छ– किन निरर्थक समय खेर फाल्दैछन् भनी। म प्रम ओलीसँग कैयन् कुरामा विमति राख्छु तर ओलीप्रति आमनेपालीको कत्रो विश्वास र भरोसा छ भन्ने कुरा मैलै भर्खरै दुई साताको भारत भ्रमणमा देखेँ।

शंकारहितरूपमा भन्न सकिन्छ– संसद्मा शेरबहादुर देउवा प्रभावशाली होइन, औसत स्तरको पनि विपक्षी नेता हुन किमार्थ सम्भव छैन। अनि सडकमा विपक्षीले देखाउन सक्ने सामथ्र्य र शक्ति पनि कांग्रेस पार्टीमा रित्तिँदै गएको छ, राजनीतिक कार्यकर्ताको अभावमा।

भारतको गुजरात राज्यको पश्चिम पुछारमा सोमनाथको प्रसिद्ध मन्दिर छ। सोमनाथ मन्दिरको आसपास भक्तजनका लागि खुलेका सबै होटल, रेस्टुरा र पसलमा पश्चिम नेपालका सयकडौँ युवा काम गर्छन्। तिनै युवामध्ये अत्यन्त सरल र मृदुभाषी सुर्खेतका जयबहादुर बुढा भेटिए । तीन दिनको बसाइँमा केही नेपालीसँग मित्रता भयो। जयबहादुर बुढा र थुप्रै नेपाली आफैँ बसको व्यवस्था मिलाएर नेपाल फर्कने तयारीमा भेटिए। किन यसरी ताँती लागेर नेपाल फर्किन लागेको भन्ने मेरो जिज्ञासामा जयबहादुर बुढाले ‘अब त केन्द्र, प्रदेश र गाउँमा हाम्रो सरकार छ, स्थिरता पनि होला र नेपालमै काम र मामको व्यवस्था गराैँला’ भनी जान लागेको बताए।

दिल्लीबाट गुजरातको सोमनाथ मन्दिर अनि फेरि दिल्ली फर्काइको लामो यात्रामा म माउन्टआवु, राजकोट, उदयपुर, अजमेर, पुष्कर, जयपुरलगायत कैयन् ठाउँ पुगेँ। सर्वत्र नेपाली काम गरेका भेटिन्छन् र तीबीच ओली चर्चामा छन्। चर्चा नकारात्मक छैन, सम्भावनायुक्त छ। अब त देशमा केही हुन्छ र हामी सबै आफ्नै परिवारसँग बसी काम र माम पाउँछौँ होला नि भनी हदैसम्मको विश्वास तिनमा छ। यही विश्वासका कारण भारतको पश्चिम पुछार सोमनाथबाट तीन बस नेपाली युवा तीन दिनको बसयात्रा गरी  नेपाल प्रवेश गर्न हिँडेको मैले देखेँ।

भारतमा काम गर्दै आएका असंख्य नेपालीको देश फर्कने ताँती विशाल छ। दिल्ली गुडगाउँको हुडा सिटी सेन्टरको मेट्रोमा झोला बोकी नवलपरासी हिँडेका एक हुल युवा भेटिए। ती सबै वर्षौँदेखि भारतमा रोजगारी गर्दै आएका थिए। त्यस्तै कैयन् युवा आफ्नो रोजगारदातासँग हिसाबकिताब गरी बसेका छन्, कैयन् महिना मरेपछि हिसाव गराँैला र नेपाल फर्कौँला भनी अदम्य उत्साह र उमंगले भरिएका छन् । तर जब म दिल्लीबाट काठमाडौँ विमानस्थल उत्रिएँ र सँगै जयबहादुर बुढालगायतको बस पनि नेपालको सुदूर पश्चिमबाट देशभित्र छि-यो होला। मझैँ ती जयबहादुर बुढा पनि निराश भएको हुनुपर्छ। विमानस्थलदेखि बाहिर आउँदा देश एक इन्ची पनि अगाडि नबढेको प्रष्टै देखिन्थ्यो। बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ प्रम ओलीको संकेत पनि रहरलाग्दो देखिएन।

मलाई थाहा छैन, सोमनाथ मन्दिरबाट बसयात्रामा हिँडेका ती युवाले नेपाल प्रवेश गर्दा भारतीय र नेपाली सुरक्षा निकाय अनि भन्सार हाकिमबाट कति यातना र झन्झट बेहोर्नुप-यो होला? यी निकायबाट नेपाली युवाले पाएका यातनाका कथा र व्यथा थुप्रै नेपालीको मुखबाट मैले आफ्नो भ्रमणकालभर सुनेँ भारतमा। तर योभन्दा पनि ठूलोपीडा नेपाल प्रवेश गर्ने ती युवाले अनुभव गर्नुपर्ला जब आफ्ना विश्वास र भरोसाका प्रम ओली मन्त्रालय फुटाउन र मन्त्रिमण्डल विस्तार गर्नमा आफ्नो समय बर्बाद गरिरहेका पाउनेछन्।

प्रम ओलीसँग वैचारिक र राजनीतिक भिन्नताका वावजुद पनि म अनुरोध के गर्छु भने ती असंख्य युवा जो आफ्नो भविष्य आफ्नै देशमा छ भन्ने सपना बोकी प्रमप्रति अपार आशा र भरोसाका साथ देश फर्किएका छन्, फर्कने क्रममा छन् तिनलाई निराश नपार्नूस्। तिनको भरोसा र विश्वासमाथि कुठाराघात नगर्नुहोस्। अहिले नेपाली ग्रामीण युवामा देशप्रति बढेको विश्वास र भरोसा प्रम ओलीको पुँजी हो, देशको पुँजी हो, हुनुपर्छ। यो देश नेपाली युवाको कहिले भएन, अझ ग्रामीण युवासँग त यो देशलाई आफ्नो भन्नुपर्ने कारण आजसम्म केही नै थिएन/छैन।

परिवारजनसँगको विछोडको पीडा सहेर पनि शताब्दियौँदेखि नेपाली युवा मुग्लान धसिनेक्रम छ। विगतमा पहाडी सांस्कृतिक समूहबाट मात्र मुग्लान भासिने चलनलाई यतिखेर तराईका मधेसी, आदिवासी र दलितले पनि निरन्तरता दिन बाध्य भए। तसर्थ, नयाँ इतिहास निर्माण गर्ने सुनौलो अवसर नेपालको कम्युनिस्ट गठबन्धनको सरकारसामु छ अहिले। नयाँ इतिहास कम्युनिस्टले रच्लान् भनी चिन्ता गर्नुपर्ने कारण र भय राजधानीका सम्भ्रान्त र सुविधाभोगीवर्गलाई हुन सक्छ तर आमनेपालीलाई बिरालो कालो होस् कि सेतो, मुसा मारे पुग्छ भन्ने सोच यतिखेर विकसित भएको प्रष्टै बुझिन्छ।

इतिहासले प्रम ओलीलाई  सुवर्ण अवसर दिएको छ। यो अवसर ती नेपाली युवाप्रति समर्पित गर्नूस् जो यो देशप्रति, तपाईँप्रति र आफ्नो भविष्यप्रति आशावादी छन्। माथि वैज्ञानिक स्टिफन हकिङको स्मरण गर्नुको कारण उनी शारीरिकरूपले अशक्त थिए तर मानसिक शक्ति र अदम्य उत्साहले उनको अपांगता कहीँ अवरोध भएन। प्रम ओलीले आफूलाई स्टिफन हकिङझैँबालक बनाउन सकेमात्र राजनीतिमा सफल हुने हो। तिकडम गर्दा देश र जनताले कसरी सास्ती र हैरानी पाउँछन् भनी बुझ्न विगत तीन दशकको नेपालको राजनीति प्रम ओलीको आँखाबाट पक्कै ओझेल परेको छैन होला।

सात दशकअगाडिसम्म रहस्यले घेरिएको हिमाली देश भनी चिनिन्थ्यो नेपाल। नेपाललाई रहस्यबाट हटाएर प्रकाशमा ल्याउने राजनीतिज्ञ बिपी कोइराला भए। सात दशकअगाडि रहस्यबाट पर्दा उठ्यो र नेपाल अपार सम्भावना भएको देश भनी चिनियो। यहीँ अपार सम्भावना देखेर नै ६ दशकअगाडि बिपी कोइरालाले सबै नेपालीलाई आफ्नो परिवार जस्तै मध्यमवर्गको स्तरमा पु¥याउने सपना देखे। तर राजतन्त्र त्यसमा बाधक भयो र त्यो बाधा हटाउन नेपालीले झण्डै पाँच दशक संघर्ष गर्नुप-यो, शृखलाबद्ध बलिदान र त्याग गर्नुप-यो।

नेपालीको विकास र समृद्धिको पर्खाल राजतन्त्रमात्र थिएन, दक्षिणको छिमेकी भारत पनि नेपालको विकासमा सहयोगी नभएर असहिष्णु भयो। यही कारण नेपालीले दुःख पाए र देश पलायनको नियति नेपालका युवाले भोग्नुप¥यो। आज भारतको संस्थापन, विरोधी पक्ष, आमजनता, बुद्धिजीवीलगायत अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति विश्वास र भरोसा गरेका छन्।  भारत नेपालको ‘कोर्स करेक्सन’ मा गम्भीरपूर्वक लागेको दिल्ली घुम्दा भेटिने ‘दिल्लीयाइट’ भनी चिनिने बौद्धिक वर्गबाट मात्र होइन, सडकमा ट्याक्सी चलाउने गुडगाँव निवासी कुलजित यादव पनि भन्दै थिए। अहिले जस्तो प्रम ओलीलाई नेपाली जनता, छिमेकी देश र अन्तर्राष्ट्रिय जगतबाट अनुकूल अवस्था संभवत् इतिहासमा विरलै कुनै नेपाली नेताले पाएको हुनुपर्छ। 

सबैभन्दा दयनीय अवस्था त विपक्षी पार्टीको हैसियत र क्षमतामा छ। शंकारहितरूपमा भन्न सकिन्छ– संसद्मा शेरबहादुर देउवा प्रभावशाली होइन, औसत स्तरको पनि विपक्षी नेता हुन किमार्थ सम्भव छैन। अनिसडकमा विपक्षीले देखाउन सक्ने सामथ्र्य र शक्ति पनि कांग्रेस पार्टीमा रित्तिँदै गएको छ, राजनीतिक कार्यकर्ताको अभावमा।

वास्तवमा कांंग्रेस पार्टीसंँग सडक संंघर्षमा उत्रनसक्ने निष्ठावान राजनीतिक कार्यकर्ताको खडेरी नै छ। यस्तो ‘वाकओभर’ राजनीतिक अवस्थामा पनि प्रम ओली भ्यागुताको धार्नीझैँ अनेकन् गुटसँग समय बर्बाद गरी बस्छन् र आफ्नो समय खेर फाल्न उद्यत रहन्छन् भने भन्नेपर्ने हुन्छ– किन? कसरी? र को? आएर यो देशले गति लिनेहो?

अन्तमा, प्रम ओली नेपालको नोकरशाही, स्थायी सत्ता, राजधानीका सम्भ्रान्त, बिचौलिया, कमिसन एजेन्ट र आफ्नै पार्टीका गुण्डाहरूबाट मुक्त भएर सोमनाथ मन्दिरबाट हिँडेका जयवहादुर बुढाजस्ता युवाको विश्वास र भरोसामा खरो भए नेपालमा सात दशकमा नभएको चमत्कार ओली नेतृत्वमा हुनसक्छ। प्रम ओलीलाई शुभकामना र महान् वैज्ञानिक स्टिफन हकिङप्रति श्रद्धा सुमन!

प्रकाशित: ६ चैत्र २०७४ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App