७ वैशाख २०८१ शुक्रबार
राजनीति

पुतली बगैंचामा नयाँ संसद् भवन

काठमाडौं – १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको संसद् अब सिंहदरबार हाताभित्रै ल्याउनेगरी पुतली बगैंचालाई नयाँ संघीय संसद् भवन निर्माणस्थल निर्धारण गरिएको छ।

पुरानो संसद् भवनको अघिल्तिर उक्त नयाँ भवन बनाउनेवारेमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराबीच सहमति भइसकेको छ । प्रधानमन्त्री ओली र सभामुख महराबीच भएको सल्लाहअनुसार पुतली बगैंचामा संसद् भवन बनाउने सहमति भइसकेको जानकारी संसद् सचिवालयमा आइसकेको प्रवक्ता डा. भरतराज गौतमले बताए।

‘सिंहदरबार हाताभित्रै संसद् भवन बनाउने भन्नेबारेमा सम्माननीय प्रधानमन्त्रीज्यू र सभामुखज्यूबीच सहमति भइसकेको जानकारी पाएका छौं,’ डा. गौतमले नागरिकसँग भने, ‘सिंहदरबार हाताको पुतली बगैंचामा नयाँ भवन बनाइने जानकारी आइसकेकाले संसद् सचिवालयले पनि आन्तरिक छलफल सुरु गरिसकेको अवस्था छ ।’ उनका अनुसार सरकार र सभामुखबाट महासचिव मनोहरप्रसाद भट्टराईलाई त्यसबारे जानकारी दिइसकेकाले संसद् भवन निर्माणबारे परामर्श सुरु भएको छ।

प्रधानमन्त्री ओलीले पदबहाली गरेको दिनमा नै लिइएका केही निर्णयमध्ये दुई वर्षभित्रै संसद् भवन बनाउने भन्ने पनि थियो  । उक्त निर्णय कार्यान्वयन तहमा लैजान प्रधानमन्त्रीले सभामुख महरासँग छलफल गरेका थिए । पुतली बगैंचामा नयाँ संसद् भवन दुई वर्षभित्रै बनाउने निर्णयमा प्रधानमन्त्री र सभामुख पुगेका छन् । नयाँ भवनमा कुनकुन कार्यालय रहने भन्नेबारेमा जानकारी दिन महासचिव भट्टराईलाई निर्देशन जारी भइसकेको स्रोतले बतायो।

प्रतिनिधिसभा बैठक, राष्ट्रियसभा बैठक, सभामुख र अध्यक्षको कार्यकक्ष रहनेगरी बहुउपयोगी भवन बनाउने योजना छ । त्यसका लागि संसद्ले केही हप्तामा नै संसद् भवनको डिजाइन माग गर्न सक्ने सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक, राष्ट्रियसभा बैठक, सभामुख र अध्यक्षको कार्यकक्ष रहनेगरी बहुउपयोगी भवन बनाउने योजना छ । त्यसका लागि संसद्ले केही हप्तामा नै संसद् भवनको डिजाइन माग गर्न सक्ने सचिवालयले जनाएको छ । नेपाली मौलिक वास्तुशिल्प झल्किने खालको ‘डिजाइन’ मा भवन निर्माण गर्न प्रधानमन्त्री ओली र सभामुख महरा सहमत भएका छन्।

हाल सरकारले संसद् चलाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १ करोड ५८ लाख भाडा तिर्दै आएको छ । त्यसमा हरेक वर्ष १० प्रतिशत बढ्ने प्रावधान छ । ‘नयाँ भवन निर्माण भएपछि भाडाबाट मुक्त त हुने नै छौं, सचिवालय र संसद् भवन अलगअलग हुँदा व्यावहारिक रुपमा कठिनाइ हुँदै आएको छ । नयाँ भवन बनेपछि ती दुवै कठिनाइबाट मुक्त हुनेछौं’, डा. गौतमले भने । नयाँ संसद् भवन निर्माण गर्ने पटकपटक निर्णय भए पनि यसपटक कार्यान्वयनमा जानेमा संसद् सचिवालयका कर्मचारी आशावादी छन्।

उता नयाँ भवन निर्माण हुने भएपछि सिंहदरबारस्थित पुरानो संसद् भवनसभा भवनलाई ‘रेट्रो फिटिङ’ गरेर संसद् संग्रहालय बनाइने भएको छ । भूकम्पले क्षतिग्रस्त उक्त भवन ऐतिहासिक महत्वको भएकाले नभत्काउने निर्णयमा संसद् सचिवालय र सरकार पुगेका छन् । संविधानसभा गठनअघिसम्म उक्त भवनमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सञ्चालन हुँदै आएका थिए । संविधानसभामा सदस्य संख्या बढी भएपछि स्थान अभावले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिइएको थियो ।

 

प्रकाशित: ६ चैत्र २०७४ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App