उदयपुर – उदयपुरको कटारीमा ३ वर्षदेखि सञ्चालन हुँदै आएको कटारी गोल्डकपको चौथो संस्करण आउँदो चैत्र १० गतेदेखि हुने भएको छ। मूल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी टाईसिट सार्वजनिक गर्दै ‘चौथो कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता २०७४’ १० देखि १७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।
यो वर्ष पुरस्कार राशि तेब्बरले बढाइएको छ। प्रतियोगितामा राष्ट्रियस्तर (ए डिभिजन) का ३ सहित ८ वटा समूहले प्रतिस्पर्धा गर्ने मूल आयोजक समिति अध्यक्ष बिनोद कटुवालले बताए। ए डिभिजनका झापा ११, संकटा क्लव काठमाडौं र सरस्वती क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेल सहारा क्लब पोखरा र बनेपा ब्वाईज क्लब काभ्रेबीच हुँनेछ।
दोस्रो दिन घरेलु कटारी ११ ले गोर्खा ब्वाईजले रुपन्देहीसँग खेल्नेछ। १२ गतेको खेलमा ए डिभिजनका झापा ११ र सरस्वती क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। १३ गते चर्च ब्वाईज युनाइटेडले अर्को ए डिभिजन टोली संकटासँग प्रतिस्पर्धा गर्नेछ। उद्घाटन खेल र १२ गतेका विजेतासँगको खेल १४ गते हुने छ भने १५ गते ११ र १३ गतेका विजेतासँग प्रतिस्पर्धा हुने मूल आयोजक समितिले जनाएको छ।
पुरस्कार राशिमा भारी वृद्धि गरिएकाले यो वर्ष विजेता टिमले ५ लाख नगद, ट्रफी र प्रमाणपत्र पाउनेछ। उपविजेता हुने समूहले २ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्रको हकदार हुने छ। खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी, सर्वाधिक गाेलकर्ता र उत्कष्ट गोलरक्षकले विभिन्न ब्राण्डका मोवाईल र अन्य सामग्री उपहार पाउने आयोजकले जनाएको छ।
२०७१ मा पहिलो पटक आयोजना गरिएको गोल्डकपमा विजेताले १ लाख नगद र ट्रफी तथा दोस्रो वर्ष १ लाख ५० हजार र ट्रफी पुरस्कार रहेको थियो। उपविजेतालाई क्रमशः ५० हजार र ७५ हजार पहिलो र दोस्रो वर्ष दिइएको थियो। २०७३ मा सम्पन्न तेसो गोल्डकपमा परिस्थिति अनुकूल नभएका कारण प्रथम पुरस्कार ५० हजारमा खुम्चिएको थियो।
कटारी खेलमैदानमा हुने गोल्डकपलाई सफल पार्न अहिले बिभिन्न उपसमिति गठन गरी तयारी तिब्र पारिएको छ। मैदान आसपास १ हजार २ सयजना दर्शक अट्ने गरी बाँसको प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ। मैदानको उत्तर, दक्षिण र पूर्वतर्फ बनाइएको बाँसको प्याराफिटमा १ सय, ७५ र ५० रुपैंया तिरेर दर्शकले क्वाटरफाईनलसम्म खेलको रमिता हेर्न पाउनेछन्। फाइनलका दिन भने टिकट दर २ सय कायम गरिएको छ। उभिएर हेर्ने दर्शकलाई १ सय तिरे पुग्नेछ।
३२ लाख लागत लाग्ने प्रतियोगिताका लागि कटारी नगरपालिकाले १० लाख रुपैयाँ अनुदान सहयोग दिएको छ । स्थानीय खेलकुदको विकास हुने र युवाहरुलाई खेलको माध्यमबाट अनुशासन र विकासमा लगाउन सकिने भन्दै सो सहयोग गरेको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । साथी समूह कटारी र नगरपालिकाको संयोजनमा हुने प्रतियोगिताको मूल नारा ‘स्वास्थ, अनुशासन, राष्ट्रिय एकता र सद्भाव’ कायम गरिएको छ।
पहिलो वर्षको उपाधि झापा ११,दोस्रो वर्षको उपाधि म्याइभ्याली फुटबल क्लब ईलाम र तेस्रो वर्षको उपाधि उदयपुरको बेल्टार क्लबले जितेको थियो।
प्रकाशित: ६ चैत्र २०७४ ०६:३२ मंगलबार