१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेनाले बनायो भूकम्पले भत्किएको संरचना

लमजुङ- ३५ महिना अघिको विनाशकारी भूकम्पले क्षति पुर्याएको ऐतिहासिक तथा पर्यटकीयस्थल राईनासकोटका संरचनाहरु नेपाली सेनाले मर्मतसम्हार गरेको छ।

पूर्वीभेगको राईनास नगरपालिकाको राईनासकोटमा रहेका क्षतिग्रस्त संरचना जिल्लास्थित सेनाको श्रीजङ्ग गणले मर्मतसम्हार गरेको हो।

कोटमा रहेका पुरातात्विक सम्पदा बाहेकका अन्य संरचनाहरु सेनाले मर्मत गरेको हो। क्षतिग्रस्त अवस्थामा रहेको गढी वरीपरीको पर्खाल पुनःलगाउनुको साथै गढी वरपर सरसफाई गरेको गणका सेनानी कुशल कार्कीले बताए। गणबाट खटिएका ५० जनाको समुहले पर्खाल मर्मतसम्हार गरेको र प्राविधिक जनशक्ति सँगै आवश्यक सामाग्री पनि श्रीजङ्ग गणले नै उपलव्ध गराएको सेनानी कार्कीले जानकारी दिए। प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अघिल्लो महिना सो गढीको स्थलगत अवलोकन गरेका थिए । अवलोकनकै क्रममा गढीका संरचना भत्किएको देखेपछि जिल्लामा सेवारत् गणलाई मर्मत् सम्हार गर्न निर्देशन दिए लगत्तै त्यहाँ मर्मत्सम्हार कार्य भएको सहसेनानी उज्जवल कार्की बताउँछन् । नगरपालिकासँग समन्वय गरी त्यहाँ मर्मत् सम्हारको काम भएको राईनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । भूकम्पले क्षति पुर्याएका संरचना मर्मत् तथा पुनर्निमाणमा सेनाले चासो देखाउनु सकरात्मक कार्य भएको थापाको भनाई छ।     

इतिहासमा उल्लेख भएअनुसार राईनासकोट गढीमा गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहले राजकाज गरेका थिए। बाईसे–चौबिसे राज्यकालको शासकीय स्थान भएकाले सो गढीको ऐतिहासिक महत्व रहेको छ भने गढीमा शिवालय मन्दिर भएकाले सो क्षेत्र धार्मिक आस्थाका दृष्टिले पनि महत्वपूर्ण रहेको स्थानीय खड्गबहादुर गुरुङ बताउँछन् । शिवरात्रीमा त्यहाँ सो क्षेत्रका भक्तजनहरुको निकै घुईंचो लाग्ने गरेको पनि उनले बताए।

गढीबाट लमजुङ, तनहुँ, गोरखा, कास्की, धादिङ क्षेत्रका हिमश्रृंखला सहित उच्च पहाडी भुभागको अवलोकन गर्न सकिने भएकाले पर्यटकहरुको रोजाईमा पर्दै आएको तार्कुघाटका स्थानीय कृष्णराज ओलिया बताउँछन् । मौसम सफा भएका वखत सो स्थानबाट गनेरै दर्जन बढी जिल्लाको भुभाग देख्न सकिने पनि उनले बताए । भूकम्पले क्षति पुर्‍याएका घरहरु पुनर्निमाण गरिए सँगै राईनासकोटमा होमस्टे सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको राईनासकोटमा होमस्टे सञ्चालन पछि आन्तरिक तथा वाह्य पर्यटकको आगमन निकै बढेको बताईएको छ।

प्रकाशित: ६ चैत्र २०७४ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App