६ वैशाख २०८१ बिहीबार
खेल

उपाधि जितेपनि अर्काे वर्ष फिर्ता गर्नुपर्ने कप !

चार लाख रुपैंयाको लागतमा बनाइएको राजर्षी जनक कप । तस्बिर : नागरिक

सर्लाही– सर्लाहीको बागमतीमा आगामी विहीबारबाट सुरु हुने राजर्षी जनक कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ। 

प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत उपाधि विजेतालाई दिइने राजर्षी जनक कप धार्मिक विधि अनुसार शुद्धिकरण गरेर सोमबार साँझ ल्याइएको आयोजक वागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। ‘धार्मिक विधि अनुसार जनकपुरस्थित जानकी मन्दिरका मठाधिस रामतपेश्वर दासज्यूबाट कपको शुद्धिकरण गरेर ल्याईएको हो’, मैनालीले भने, ‘अब हरेक वर्ष उपाधि विजेताले यही कप पाउनेछन्।’ लगातार ३ वर्ष उपाधी चुम्ने टिमले भने उक्त कप सधैका लागि राख्न पाउने तथा एक पल्ट मात्र विजयी हुने टिमले भने एक वर्षपछि फिर्ता गर्नुपर्ने आयोजकले जनाएका छन्। सुन र चाँदीको समेत प्रयोग भएको कप ४ लाख रुपैंयाको लागतमा निर्माण गरिएको अध्यक्ष मैनालीले दावी गरेका छन्।

प्रतियोगितामा विदेशी दुईसहित १० टिमले प्रतिष्पर्धा गर्दैछन्। नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी क्लव, ब्वाईज यूनियन काठमाडौं, सुदूर पश्चिम ११, जावला खेल ११ ललितपुर, सरस्वती युवा क्लव काठमाडौं, सर्लाही ११, भुटानको ड्रग स्टार र भारतको स्काई क्रेस्ट ब्वाईज गरी १० वटा टिमले सहभागिता सुनिश्चित गरेको आयोजकले जनाएको छ। आयोजकले प्रकाशित गरेको टाई सिट अनुसार आगामी विहीबार हुने उद्घाटन खेल नेपाल सशस्त्र प्रहरी क्लव र भारतको मुम्बईस्थित स्काई क्रेस्ट ब्वाईज क्लबबीच हुँदैछ। 

५० लाख रुपैंया लागत अनुमान गरिएको प्रतियोगिताको उपाधि विजेतालाई नगद ५ लाख रुपैंया तथा प्रथम शिल्ड प्रदान गरिने छ भने दोस्रोलाई ३ लाख रुपैयाँ नगद प्रदान गरिने छ। त्यस्तै प्रतियोगितामा हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैंया तथा हरेक दिनको म्याद अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैंया प्रदान गरिने बताइएको छ। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बागमती राईजीङ अफ दि ईयर प्लेयर्स घोषणासहित मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएका छन्।

प्रतियोगिता हेर्न आउने १ हजार ५०० दर्शकका लागि भने बाँसको अस्थायी प्याराफिट समेत निर्माण गरिएको अध्यक्ष मैनालीले जानकारी दिए। अस्थायी प्याराफिट, पहिलेकै पक्की संरचना तथा भुँईमा बसेर सहित दैनिक ५ हजार दर्शकले प्रतियोगिता हेर्ने अनुमान गरिएको आयोजकले बताएका छन्। राजर्षी जनक कप प्रतियोगिता अन्तर्गत गतवर्ष भएको पहिलो संस्करणको उपाधि नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मर्स्याङ्दीले चुमेको थियो।

प्रकाशित: ६ चैत्र २०७४ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App