१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

प्रगतिका लागि दबाब

अन्तर्राष्ट्रिय नारी दिवस २०१८ सकिएको केही दिनभित्रै एउटा कफी गफमा साथीहरुसँग भेट भयो । त्यसमा एक जना साथीको गुनासो थियो, आफ्नी पत्नी व्यस्त भएकाले उनको बेहाल भयो । हुन पनि अलिकति सामाजिक काममा सक्रिय र ‘जान्ने–सुन्ने’ महिलाहरुलाई त्यस अवधिमा साताभरि नै व्यस्त हुनुपर्ने अवस्था थियो । 

साताअघिदेखि नै दिवसको अवसरमा भाषण दिने, नारा लगाउने, पार्टी गर्ने आदि विभिन्न गतिविधि हुने नै भए र ती अवसरमा केही सक्रिय महिलाहरु अति व्यस्त भए । यस्तो व्यस्ततामा ती पुरुष साथीको गुनासो थियो– ‘हिजोआज त मेरो बेहाल भएको छ । मेरी म्याडम एकदमै व्यस्त हुन थाल्नु भएको छ । उहाँ पार्टी, गोष्ठी, सेमिनार भनेर महिला दिवसका विविध कार्यक्रममा यति व्यस्त हुनुभयो कि मेरो त बिजोग नै भयो । छोरा–छोरीले आमा खोज्छन्, घरकाले पनि म्याडम नै खोज्छन्, घरपरिवारका नातेदारले पनि उहाँलाई नै खोज्छन् । मलाई त सारै अप्ठ्यारो प¥यो ।’

यस गुनासोलाई साथ दिने अन्य पुरुषहरु पनि देखिए । उनीहरुले होमा हो मिलाएर थपे, ‘उहाँहरुको एक साताको व्यस्तताले हामी पुरुषलाई बडो मर्का पा¥यो । भनेपछि उहाँहरुले घर–परिवार र अन्य कुरालाई कति मजाले व्यस्थापन गर्नुभएको रहेछ ! त्यो सम्हाल्नै हामीलाई हम्मे प¥यो । हुन पनि म्याडमहरुले त ऐय्या पनि नभनी कस्तो मज्जाले घर व्यवस्थित गर्नु भएको रहेछ ! उहाँहरुमा भएको सहनसिलता, व्यवस्थापन कला, व्यवहारिकता, दूरदर्शिताजस्ता अमूल्य शक्ति र खुबी रहेछ !’

अर्का एक जनाले थप्नुभयो, ‘घर समाल्न र घरबाहिर पनि व्यापार, अफिस आदिमा पनि निकै नै पारङ्गत देखिनु भएको छ तर एकै चोटि घरेलु धेरै कार्यमा हात हाल्दा पनि घरायसी काम र बाहिरी कामलाई सन्तुलन मिलाउँदै गए हुन्थ्यो ।’
म यी सब मैले सुनिरहेकी थिएँ । यी सबै कुरामा पुरुष वर्गले नारीशक्तिको वर्णन गरिरहेको मैले पाएँ । यस्तो अवस्थामा मलाई आफू महिला भएकोमा गर्व महसुस भयो । महिलाहरुले कुनै पनि कार्य राम्रोसँग व्यवस्थित तरिकाले गरिरहेको पाउँदा र पुरुषहरुले यसरी खुला हृदयले महिलाको क्षमताको प्रशंसा गरेकोमा खुसी लाग्यो । 

जुन मर्का पुरुषहरूले महसुस गरे, त्यो पनि स्वाभाविक नै हो । हजारौँ वर्षदेखि महिलाले नै घर चलाउने, व्यवस्थित गर्ने आदि गर्दैआइरहेका छन् । अहिले आएर एक्कासि अधिकार, स्वतन्त्रताजस्ताको पछाडि दौडदा र घरेलु कामलाई चटक्क छाड्दा पुरुषहरूलाई गाह्रो त हुने नै भयो । 

हामी नारीले पनि घर तथा बाहिरका कामलाई राम्रोसँग व्यवस्थापन गर्न सके आलोचनाको स्तर घट्ने थियो । जस्तो भनौँ न, बाहिरी कामको रनाहामा हामीले हाम्रा सन्तानलाई समय दिन सकेनौँ भने र त्यो समयको सट्टा हामीले पुरुषबाट पूरा गराउन खोज्यौँ भने सन्तानले चाहेजस्तो ‘क्वालिटी’ समय पाउन सक्तैनन् । गर्भमा नौ महिनासम्म हामीले राखेका सन्तानको स्याहार–सुसार हामीले जति राम्ररी गर्न सक्छौं त्यति संसारमा अरु कसैले गर्न सक्दैन । 

उता सन्तानले पनि हरेक कुरामा आमालाई प्राथमिकता दिएको हुन्छ । सन्तानका लागि आमा र आमाको लागि सन्तान भन्दा अरु ठूलो केही र कोही हुँदैन । त्यस्तै घर परिवारका लागि नारी पर्यायवाची नै हो । यस्तो अवस्थामा एक्कासि हामी महिला बाहिर मात्र दौडिएर हुँदैन । राम्रोसँग समय व्यवस्थापन गरेर घरपरिवारलाई प्राथमिकतामा राख्दै बाहिरी काम पनि सुरु गरौँ । हरेक कुरामा सकारात्मक बनौँ । सकारात्मक सोच्दै परिवार व्यवस्थित गर्दै गयौँ भने अहिले हामीले प्राप्त गरेको सफलतालाई दिगो बनाउन सक्छौँ । 

अहिले नेपालमा नारीका लागि स्वर्ण दिन आउन लागेको छ । हो, यसका लागि हामीले धेरै काम गर्न बाँकी छ, धेरै उपलब्धि हासिल गर्न पनि बाँकी छ तर नेपालका गाउँगाउँमा नारी जागृतिको वातावरण सुरु भएका छन् । यस किसिमको अवस्थालाई हामीले दिगो बनाउँदै, अघि बढ्दै जानुपर्छ । सुरुवातमै हामीले पाएको यस सफलतालाई सन्तुलित पार्दै परिवार र बाहिरका कामलाई सन्तुलित बनाउनु नै हाम्रालागि हितकारी हुन्छ । सुरुवाती दिनमा हामीलाई यो सन्तुलन मिलाउन अलिकता गाह्रो हुन्छ, हुनसक्छ तर पछि परिणाम राम्रो हुन्छ । हामी उदाहरणीय बन्न सक्ने सम्भावना प्रवल छ ।

परिवार व्यवस्थित गर्दै बाहिरी काममा लाग्दा आफ्नो कामलाई निरन्तरता दिँदै काम अगाडि बढाऔँ, यसपालिको अन्तर्राष्ट्रिय महिला दिवसको नाराजस्तै– प्रेस फर प्रोग्रेस ।

 

प्रकाशित: ६ चैत्र २०७४ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App