७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा मजदुरमाथि गोली प्रहार

रौतहट– रौतहटमा एकजना मजदुरमाथि गोली प्रहार भएको छ। रौतहटको कटहरिया नगरपालिका ८ मा संचालित नेम इँटा उद्योगमा कार्यरत मजदुरमाथि सोमवार राति गोली प्रहार भएको हो। 

रौतहटको गरुडा नगरपालिका ५ का ५० वर्षीय राम अशीस राय यादव राति सुतिरहेको समयमा अज्ञात व्यक्तिले गोेली प्रहार गरेको हो। यादवमाथि कसले गोली प्रहार गरेको भन्ने खुल्न आएको छैन। मंगलवार साँझसम्म घटनाको जिम्मेवारी कसैले नलिएको पारिवारिक स्रोतले जनाएको छ।

यादवमाथि गोली प्रहार हुनासाथ उद्योगमा खैलाबैला मच्चिएको थियो। डाढमा गोली लागेका यादव गम्भीर घाइते भएका छन्। यादवको प्राथमिक उपचार गरुडामा गरिएपछि थप उपचारको लागि वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

अबेरसम्म काम गरेका यादव खाना खाएर उद्योगमै सुतेका थिए। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजना कामदारलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ। घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी रामकुमार दानीले जानकारी दिए।

अज्ञात समूहद्वारा सरकारी एक्जाभेटरमा आगजनी

यस्तै, अज्ञात समूहले रौतहटमा एउटा सरकारी एकजाभेटरमा आगजनी गरेको छ। डिभिजन सडक कार्यालय रौतहट चन्द्रनिगाहपुरको एकजाभेटरमा सोमवार राति गरुडामा अज्ञात समूहले आगजनी गरेको हो।

गरुडा नगरपालिका ५ मा गरुडालाई कटहरियासित जोड्ने छोटो राजमार्ग निर्माणको लागि सडक पुर्ने काम गरिरहेको एकजाभेटरलाई सोमवार राति आगजनी गर्दा लाखौँको क्षति भएको छ। राति करिब साढे दश बजेतिर आगो लगाइएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको खबर पाउने बित्तिकै प्रहरी, स्थानीयबासी र बारुणयन्त्रको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो। आगोले एकजाभेटरको महत्वपूर्ण भाग जलेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।  

प्रकाशित: ६ चैत्र २०७४ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App