१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

क्यानमा कार्यसम्पादन समिति

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्देशनअनुसार विशेष साधारणसभा बोलाउने प्रक्रियाका लागि मंगलबार सात सदस्यीय कार्यसम्पादन समिति बनाएको छ।

निर्वाचित क्यानको बोर्ड बैठकले आइतबार अध्यक्ष चतुरबहादुर चन्दलाई पाँच देखि सात सदस्यीय कार्यसम्पादन समिति बनाउने अख्तियारी दिएको थियो। त्यही अनुसार अध्यक्ष चन्दले मंगलबार आफूसहित उपाध्यक्षद्वय दिवाकर घले र ठाकुरप्रताप थापा, महासचिव अशोकनाथ प्याकु¥याल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ र केन्द्रीय सदस्यद्वय रोशन सिंह र प्रशान्तविक्रम मल्ललाई समेटेर कार्यसम्पादन समिति बनाएको बताएका छन्।

अध्यक्ष चन्दले एक साताभित्र कार्यसम्पादन समितिको बैठक राखेर साधारणसभाको मिति र स्थान तोक्ने बताए। दुई दिनअघि बसेको बोर्ड बैठकले कार्यसम्पादन समितिलाई साधारणसभाको मिति र स्थान तय गरेर सार्वजनिक सूचना प्रकाशित गर्ने अधिकार दिएको थियो।

आन्तरिक विवाद, राजनीतिक हस्तक्षेप, अपारदर्शिता र सुशासनको अभावजस्ता कारण गएको वैशाखमा आइसिसीले क्यानको सदस्यता निलम्बनमा राखेको थियो। जसका कारण नेपाली क्रिकेको सर्वोच्च निकाय निकम्मा बनिरहँदा आइसिसीले नै नेपालको क्रिकेट गतिविधि प्रत्यक्ष रूपमा सञ्चालन गरिरहेको छ।

आइसिसीले निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्न क्यानको संशोधित विधान अक्षरस पास गर्न भन्दै निर्वाचित समितिलाई मार्च महिनामा विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो। आइसिसीले नेपालको विवाद मिलाउन विधान संशोधनका लागि बनाएको सल्लाहकार समितिमा समेत प्रतिनिधित्व गर्ने चन्दले आफूहरू नेपाली क्रिकट विवादमा निकास निकाल्न आतुर रहेको बताए।

आइसिसीले मार्च २० भित्र साधारणसभा गर्न दिएको निर्देशन पालना नभएको विषयमा उनले भने, ‘आइसिसीसँग हामी निरन्तर सम्पर्कमा छौं। आइसिसीले पनि हतार नगर्नु, एक÷दुई महिना ढिलो हुनु भन्दा पनि दीर्घकालीन निकास निकाल्नु मुख्य कुरा हो भन्ने आशयका साथ कुरा गरेको छ। मार्च २० को समयसीमा दिएको होइन । सकिन्छ भने यसको आसपासमा गर्नु भनेको हो। हामी वैशाखको पहिलो साता साधारणसभा गर्ने मनस्थितिमा छौं।’

यसअघि २०७४ भदौ ६ गते भएको निर्वाचित क्यानको विशेष साधारण सभाले आइसिसीद्वारा गठित सल्लाहकार समितिबाट पारित नयाँ विधानका केही बुँदामा संशोधन गरेपछि मिल्न लागेको क्यान विवाद पुनः लम्बिएको थियो। त्यसपछि माघ १४ र १५ गते एसोसिएटतर्फका कार्यवाहक अध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा काठमाडौं आएको आइसिसी टोलीले राखेप सदस्यसचिव केशवकुमार विष्ट, सल्लाहकार समूहका संयोजक विनयराज पाण्डे, निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलसहित सरोकारवालासँग चरणबद्ध छलफल गरेर फर्किएको थियो।

प्रकाशित: ७ चैत्र २०७४ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App