१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धुलाम्मे हुलाकी सडकले दुर्घटना

गुलरिया र मधुवन नगरपालिकाको सीमामा रहेको कल्भर्टमा जाममा परेका सवारी साधन । धुलाम्मे हुलाकी सडक । तस्बिर : निर्मल घिमिरे/नागरिक

बर्दिया - गत बिहीबार हुलाकी सडकअन्तर्गत ढोढरी–गुलरिया सडक खण्डमा पर्ने मधुवन चोकको कल्भर्ट नजिकै ना४ख १५०४ नम्बरको बस दुर्घटना भयो । दुर्घटनामा तीन जना घाइते भए।

मधुवन चोकमा ड्युटीमा खटिएका एक प्रहरीका अनुसार धुलाम्मे सडकका कारण दुर्घटना भएको थियो ।
यो त प्रतिनिधि घटना मात्रै हो । धुलाम्मे सडककै कारण अहिलेसम्म दर्जन बढी दुर्घटना भएको प्रहरी तथ्यांकले देखाउँछ।

‘मोटरसाइकलवाला दिनहुँ पल्टिन्छन्,’ ती प्रहरी भन्छन्, ‘गाडी क्रस हुँदा सडक पूरै धुलोले ढाक्छ, मोटरसाइकलवाला अनियन्त्रित भएर पल्टिन्छ ।’सडकमा जथाभावी निकालिएको माटो, यत्रतत्र फालिएका ढुंगा र अव्यवस्थित कल्भर्टले दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । सडक निर्माणमा ठेकेदारले लापरवाही देखाएको र यसतर्फ नियमनकारी निकायले चासो नदिएको उनीहरूको आरोप छ।

‘सडकको अवस्था हेर्दा जोसुकेले पनि निर्माणमा लापरवाही भएको भन्न सक्छ,’ सडक छेउमा भेटिएका रामबहादुर चौधरीले भने, ‘तर नियमनकारी निकाय मौन देख्दा अचम्म लागिरहेको छ ।’ सडकको अवस्था बिग्रिए पनि जोखिम मोलेर यात्रा गर्नुपरेको स्थानीय गुनासो गर्छन्।

‘सडकको अवस्था हेर्दा जोसुकेले पनि निर्माणमा लापरवाही भएको भन्न सक्छ, तर नियमनकारी निकाय मौन देख्दा अचम्म लागिरहेको छ ।’
 

हुलाकी सडक धुलाम्मे हुँदा यात्रुले समस्या भोग्नुपरेकोस्थानीय कृष्ण शाह सुनाउँछन् । ‘सडक छेउमा माटो र ढुंगा जथाभावी राखिएका छन्, अरु गतिविधि देखिन्न,’ उनी प्रश्न गर्छन्, ‘अब कहिले बन्छ यो सडक ?’
धुलाम्मे सडककै कारण दुर्घटना बढेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने स्थानीयको माग छ ।हुलाकी सडक सवारी साधन चलाउन योग्य नभए पनि बाध्य भएर सेवा दिनुपरेको कृष्णसार यातायात व्यवसायी संघ अध्यक्ष शम्भू रिजालले बताए । हुलाकी सडकमा सवारी सञ्चालन गर्दा मर्मतमा बढी खर्च आउने गरेको र यसले व्यवसायी पलायन हुने अवस्था आएको उनको गुनासो छ।

सडकको धुलोले व्यवसायमा पनि असर परेको मधुवन नगरपालिकाका व्यवसायी कृष्ण सिग्देल बताउँछन्।गुलरियादेखि ढोढरीसम्म सडक निर्माणको जिम्मा पाएको पप्पु कम्पनीका पेटी ठेकेदार सूर्य गुरुङ कल्भर्ट र पुल निर्माण भइरहेकाले सडक निर्माणमा ढिलाइ भइरहेको प्रष्ट्याउँछन् । ‘कल्भर्ट र पुल निर्माणपछि सडक निर्माणले तीव्रता पाउँछ,’ उनले भने, ‘व्यवस्थित सडक निर्माणको काम अब थाल्छाै।’

सडक निर्माण तीन खन्डमा थालिएको छ । राजापुर–ढोढरी, गुलरिया–ढोढरी र ढोढरी–भूरीगाउँको दूरी करिब ५७ किलोमिटर छ ।सडक निर्माणको जिम्मा शर्मा, पप्पु र आशिष कन्सट्रक्सनले पाएका छन् ।
भारतीय सीमासम्म जोडिएको यो सडक निर्माण सम्पन्न भए जिल्लालाई आर्थिक र व्यापारिक केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयको बुझाइ छ ।

प्रकाशित: ७ चैत्र २०७४ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App