८ वैशाख २०८१ शनिबार
अर्थ

किसानलाई मलको प्रयोग सिकाउँदै साल्ट ट्रेडिङ

बनेपा – साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी अनुदान नरहेका रासायनिक मलको आयात र बिक्री वितरणका साथै यसको प्रयोगबारे किसानलाई प्रशिक्षणसमेत दिन थालेको छ ।कर्पोरेसनले बहुतत्वयुक्त सिंगल सुपर फस्फेट–साधा, जिंक र बोरोन तथा एमोनियम सल्फेट रासायनिक मलको प्रयोग र यसबाट हुने फाइदाबारे काभ्रेका सहकारीकर्मी र किसानलाई प्रशिक्षण दिएको हो । यी मलमा सरकारी अनुदान छैन।

‘दुई दशकअघिसम्म बहुतत्वयुक्त रासायनिक मल बढी प्रचलनमा थियो । पछिलला वर्षहरुमा सरकारी अनुदान प्रदान गर्ने क्रममा एकल तत्वयुक्त रासायनिक मलमा जोड दिइँदा युरियाजस्ता मलको प्रयोगमा व्यापकता आएको हो । सही प्रयोग नजान्दा युरियामा रहेको नाइट्रोजन हावामै उडेर गइरहेको छ,’ रासायनिक मल विज्ञ भगवानप्रसाद खतिवडाले भने।

बिरुवालाई आवश्यक पर्ने खाद्य तत्वयुक्त रासायनिक मलबारे किसान तहसम्म पर्याप्त जानकारी नपुग्दा अनुदानका युरिया, डिएपी र पोटास मलबाहेक अन्य मल नै नपाइने र पाइहालेमा पनि काम नलाग्ने भ्रम किसानमा हुन थालेको उनको भनाइ छ।

‘बाली बिरुवाका लागि आवश्यक मुख्य खाद्य तत्व नाइट्रोजन, फस्फोरस र पोटाससहित सहायक तत्वहरु सल्फर, क्याल्सियमका साथै सूक्ष्म तत्वहरु जिंक, बोरोन, कपर, आइरन, म्यांगनिज, क्लोरिन, मोलिब्डेनम र म्याग्नेसियमको आवश्यकता हुन्छ । तर, किसानले यी सबै खाद्य तत्व भएको मलको प्रयोग नै गरेका छैनन्,’ खतिवडाले थपे।

बिरुवाका खाद्य तत्वका स्रोतहरुमा प्राकृतिक आधारबाट तयार हुने प्रांगारिक मलअन्तर्गत गोठे मल, कम्पोस्ट मल, राइजोबियमयुक्त र एजेटोब्याक्टरयुक्त जीवाणु मल र ट्राइकोडर्मा रहेको उनको भनाइ छ । ‘बिरुवालाई आवश्यक पर्ने खाद्य तत्व तयारी अवस्थामा हुने तथा छिट्टै घुल्ने भएकाले प्रांगारिकको दाँजोमा रासायनिक मलको प्रभाव छिटो देखिन्छ । यसैले पनि बहुतत्वयुक्त मलको प्रयोगमा जोड दिइएको हो,’ खतिवडाले थपे।

बहुतत्वयुक्त सिंगल सुपर फस्फेट–साधा, जिंक र बोरोन तथा एमोनियम सल्फेट रासायनिक मलको प्रयोग र यसबाट हुने फाइदाबारे काभ्रेका सहकारीकर्मी र किसानलाई प्रशिक्षण दिइँदै

सरकारले २०५६ चैतदेखि संस्थागत रुपमा कृषि सामग्री कम्पनीले मात्रै रासायनिक मलको आयात र अनुदानमा बिक्री गर्न पाउने गरी एकाधिकार दिएको हो ।त्यसको १४ वर्षपछिमात्रै साल्ट ट्रेडिङ कर्पोरेसनलाई समेत अनुदानको मल आयात र अनुदानमा बिक्री गर्न पाउने व्यवस्था भएको हो । मुलुकमा वार्षिक रूपमा पाँच लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भएपनि सरकारले तीन लाख मेट्रिक टन मात्रै अनुदानमा उपलब्ध गराउँदै आएको छ।

यसरी अनुदानमा दिइने रासायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनी र बाँकी कर्पोरेसनले कारोबार गर्दै आएको छ । ‘अनुदान र एकल तत्वयुक्त रासायनिक मलमा निर्भरता बढ्दै जान थालेपछि यसको विकल्पका रुपमा र अनुदान नहुँदाको अवस्थामा समेत आवश्यक मलको आपूर्तिका लागि बहुतत्वयुक्त रासायनिक मल आयात र बिक्रीको नीति लिइएको हो,’ कर्पोरेसनको बनेपा शाखा प्रबन्धक जीवन खनालले भने।

यतिखेर कर्पोरेसनले सिंगल सुपर फस्फेटमा साधा, जिंक र बोरोनयुक्त तथा एमोनिया सल्फेट दुई प्रकारको रासायनिक मल आयात गरी बिक्री गर्दै आएको उनले जानकारी दिए । ‘मुलुकरभरका २८ वटा बिक्री केन्द्रबाट सहकारी र किसानलाई सहज रूपमा मल बिक्री गर्दै आएका छौं । बनेपा शाखाबाट मात्रै २५ सय बोरा बिक्री गरिसक्यौं । प्रयोग गरेका किसानले औधी रुचाएकाले पुनः माग आइरहेको छ,’ उनले थपे । यससँगै सरकारी अनुदानको युरिया, डाइ एमोनिया फस्फेट र म्युरेट अफ पोटास पनि सहकारीहरुमार्फ किसानसम्म पुगिरहेको उनको भनाइ छ।

कर्पोरेसनले सिंगल सुपर फस्फेट प्रतिकिलो साढे २६ र एमोनियम सल्फेट प्रतिकेजी १८ रुपैयाँमा बिक्री गर्दै आएको छ । ५० केजीको बोरामा उपलब्ध सिंगल सुपर फस्फेटको मूल्य एक हजार तीन सय २५ र एमोनिया फस्फेटको मूल्य नौ सय रुपैयाँ निर्धारण गरिएको छ।

‘सिंगल सुपर फस्फेटमा फस्फोरस १६ प्रतिशत, क्याल्सियम २१ प्रतिशत र सल्फर १२ प्रतिशत रहेको छ । एमोनियम सल्फेटमा नाइट्रोजन २१ प्रतिशत र सल्फर २४ प्रतिशत रहेको छ । यी मलहरु अनुदानित मल नपाएको अवस्था र अनुदानको शर्तभन्दा बढी जमीनमा व्यावसायिक खेती गर्ने किसानलाई उपयुक्त हुन्छ,’ खतिवडाले भने।

सहकारीमा पहुँच नभएका किसान र तराईमा चार बिघा र पहाडमा १५ रोपनीभन्दा बढी जमीन हुने किसानले अनुदानित मल नपाउने सरकारी नीति रहेको छ । यस्तै, थोरै परिमाणमा पाइने रासायनिक मलबाट धेरै जमीनमा व्यावसायिक खेती गर्न नपुग्ने अवस्था रहँदै आएको छ।

बहुतत्वयुक्त मल भएकाले दुवै खालको मलले बिरुवाका लागि अति आवश्यक पर्ने सहायक तथा सूक्ष्म खाद्य तत्व सहजै र तत्काल आपूर्ति गर्न क्षमताको रहेको उनको भनाइ छ । ‘यीनै गैर अनुदानित मलको प्रयोगबारे १८ जिल्लाका किसान तथा सहकारी प्रतिनिधिलाई प्रशिक्षण दिइसकेका छौं । काभ्रेको प्रशिक्षण १९औं हो । अब पूर्वी पहाडका संखुवासभा, सोलुखुम्बु हुँदै ताप्लेजुङसम्म प्रशिक्षणका लागि दौडाहामा छौं,’ खतिवडाले भने । काभ्रेमा सहकारी प्रतिनिधि र किसान गरी ९० जनालाई प्रशिक्षण दिइएको छ।

यसैबीच, कर्पोरेसनले बहुतत्वयुक्त रासायनिक मल उत्पादक कम्पनी साई फर्टिलाइजर कम्पनी कोलाकताको अवलोकन र त्यहाँका कृषकले प्रयोग गरिरहेको फिल्डको अवस्थाको अध्ययन र अन्तरक्रियाका लागि कृषक, सहकारी तथा कर्पोरेसनका कर्मचारी गरी १९ जनालाई चैतको अन्तिम साता भ्रमणमा लैजान लागिएको खनालले जानकारी दिए।

प्रकाशित: ७ चैत्र २०७४ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App